अप्सरा भट्टराई
नातिनिले मलाई सधैँ सोध्ने गर्थीन् , ‘हम्मा हजुरको बर्थ डे कहिले !’
मैले जिस्कदैँ भनेकी थिएँ, ‘ दर खाने दिन नानु !’
उनले भनिन्, ‘प्लिज म पनि खाने नि दर । ’
मेरो जन्मदिनमा खुवाउाछु हैँ त भनेर फकाएकी थिएँ ।
घरमा सधैं हामी नातिनी बजू मात्रै हुन्थ्यौं । उनी कहिले भित्र र बाहिर दौडन्थिन् भने कहिले कोठामा गएर खत्र्याकखुत्रुक्क गर्दै खेल्ने गर्थिँन् । उनी खेलेको बेलामा म पनि मौकामा चौका छोपिहाल्थें र लेख्न बस्थें । मलाई व्यस्त देखिन भने उनी पनि चूपचाप मेरो छेउमा आएर प्रायः चित्र कोरेर बस्थिन् ।
घरका अरू सबै जना आआफ्नो काममा जान्थे ।
यसरी नै हाम्रो समय बितिरहेको थियोे । घुम्दैफिर्दै फेरि एक वर्षमा तिज आयो।
घरमा दर खाने दिन थियोे ।म विभिन्न परिकार पकाउन थालेँ । मेरी पाँच वष्र्रकी नातिनी आफ्नै धुनमा चित्रमा रंग भरिरहेकी थिइन् । चित्र बनाइसकेर मलाई देखाउदै सोधेकी थिइन्, ‘कस्तो छ हम्मा !’
म हतारमा थिएँ । खासै ध्यानै नदिई भनिदिएँ, ‘आहाँ कति राम्रो !’
हामी दुवै आआफ्नो काममा व्यस्त भयौं। साझँपख ढोकामा टकटक आवाज सुनेर हत्त न पत्त नानीले ढोका खोलिन् । मामुको हातको प्याकेट लिइन् र सबैको कानमा कानेखुसी गर्दै थिइन् ।
म किचनमा पसें । खाजा लिएर आउँदा बर्थडे लेखिएको केक र केही मिठाईहरू टेबलमा सजाइएको देखेर म टवाल्ल परें । सबैले लय मिलाएर प्रमोद खरेलको गित गाउँदै थिए मतिर हेरेर, आज तिम्रो जन्मदिन ! जन्मदिनको शुभकामना, आमा !
नातिनीको अनुरोधमा खुशी हुँदै केक काटें । नानीले एउटा खाम दिइन रंगले लत्पतिएको चित्र थियोे । त्यो देखेर सबैले जिस्काए ।
उनले मलिन अनुहार पार्दै मलाई एकनि है भनिन् र दौडेर आफ्नो कोठामा गइन् । आउँदा एक हातमा खुत्रुके , अर्को हातमा चित्र थियोे। मेरो अगाडि आएर खुत्रुके प्वाट्ट फोडिन्।
हामी सबैले किन फुटाएको भनेर गाली गर्यौं । यो मेरो हो भन्दै सबै पैसा प्लेटमा खन्याइन् र मायालाग्दो गरी भनिन्, ‘ मैले रंग नसुकी चित्र पटयाएकी थिएँ । त्यसैले रंग पोतिएर कोरोनाजस्तो देखियो । मैले जानेर बनाएको हैन हम्मा !’
म सानी छु मावल जान पनि सक्दिनँ । राम्रो नाना किनेर लगाउनुस् है भनेर खुद्रा पैसाले भरिएको प्लेट र चित्र मेरो हातमा राखिदिँदै ह्यापी बर्थडे हम्मा भन्दै मलाई अँगालो मारिन् र म्वाई खाइन् ।
मेरा आँखा भरिए निशब्द हुँदै कागज खोलेँ – बज्यैको काखमा नातिनी हाँसेर सुतेको सुन्दर चित्र उपहार थियो ।
प्रकाशित: २७ कार्तिक २०७७ ०७:२५ बिहीबार