२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

मेरो नागरिकता

संस्मरण

 विनोद नेपाल

 

नेपालमा नागरिकता प्रमाणपत्र लिने दिने कानुनको सुरुवात नेपाल नगारिकता ऐन, २००९ र नेपाल नागरिकता नियमावली, २०१५बाट भएको मानिन्छ । यद्यपि अनिवार्य थिएन, तर सम्भवतः २०२० पछि लोकसेवा आयोगले उम्मेदवारको दर्खास्त फारमका साथमा नागरिकता राख्ने व्यवस्था गरेपछि जागिरका लागि आवेदन गर्नेहरुले नागरिकता प्रमाणपत्र प्राप्त गर्न थालेको जानकारहरूको भनाइ छ । 

नागरिकताको व्यहोराका हकमा नेपाल नागरिकता ऐन २००९, नेपाल नागरिकता नियमावली, २०१५ र नेपाल नगारिकता ऐन, २०२० आइसकेपछि पनि बडाहाकिम र अञ्चलाधीशले नागरिकता प्रमाणित दिंदा एउटै व्यहोराको शब्दावली प्रयोग समेत गदैनथे भन्ने त्यतिखेरका प्रमाणपत्रबाट बुझिन्छ । तर २०२४ सालदेखि प्रमुख जिल्ला अधिकारीले निर्धारित ढाँचामा नागरिकता प्रमाणपत्र दिन सुरु गरेका जानकारहरू बताउँछन् । 

नेपाल सरकारले नागरिकसँग नेपाली नागरिकता प्रमाणपत्र हुनुपर्ने आवश्यकता ठानेर २०३२ सालदेखि टोली खटाइ नागरिकता वितरण गर्न थालेको हो । त्यससँगै वंशज, जन्मसिद्ध र अगीकृत गरी तीन किसिमका नागरिकता प्रचलनमा आएका हुन् । यसरी २०३२ साल अघि जागिर खान मात्रै नागरिकता लिनु आवश्यक ठानिंदैनथ्यो भन्ने बुझ्न सकिन्छ । 

पुराना नागरिकता हेर्दा थाहा हुन्छ पहिले ‘नेपाली’ अर्थात् ‘पहाडिया’ कागजमा हातले लेखेर नागरिकताको प्रमाणपत्र दिइन्थ्यो । पछि टाइप गरेर दिन थालिएछ, आकारचाहिँ लगभग उस्तै । शायद नागरिकताको जहाँतहाँ आवश्यकता नपर्ने भएकाले जस्तोसुकै आकार र कागजमा भए पनि फरक पर्दैनथ्यो । पछि भने सरकारले १६ वर्ष पुगेका सबैले नेपाली नागरिक हुनुको प्रमाणको रूपमा हरेक नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिनु अनिवार्य ग¥यो । यसपछि प्रमाणपत्रको स्वरूप पनि फेरियो । नेपाली कागजकै तर पट्याएर खल्तीमा राख्न मिल्ने सानो आकारको ‘बुक’ वाला नागरिकता प्रचलनमा आयो । यसको अर्को विशेषता थियो प्लास्टिकको खोल, जसले यसलाई सुरक्षित बनाउँथ्यो । समयक्रममा नागरिकता सानो परिचयपत्र आकारमा आयो र हालसम्म यही नै प्रचलनमा छ । अब हामी राष्ट्रिय परिचयपत्रको प्रतीक्षामा छौं ।

नागरिकता प्रमाणपत्र लिनैपर्ने भएपछि हजुरबाले त लिइसक्नुभएको थियो क्यार, २०३७ साल श्रावण महिनाको कुरा हो, बा, आमा नागरिकता लिन तानसेन जाने हुनुभयो । एसएलसी परीक्षा दिन १६ वर्ष हुनुपर्ने प्रावधान रहेको कारण फर्म भर्ने समयमा मेरो उमेर दुई वर्ष बढाइएको थियो । त्यस हिसाबले त्यसबेला म पनि वास्तविक उमेरभन्दा छिटै तर कागजी उमेर अनुसार नागरिकता प्रमाणपत्र लिने हकदार भइसकेको थिएँ । तानसेन जाने निर्धारित दिन नजिकिंदै जाँदा हजुरबाले भन्नुभयो ‘यसको पनि त लिए भो नि’ ।  बाले सहमति जनाउनुभयो । सँगै नागरिकता लिन जाने भइयो ।  

फोटो खिचाउन नजिकको ठाउँ आरेभन्ज्याङ (अचेल आर्यभञ्ज्याङ भनिन्छ ) । आआफ्नो अनुकूलमा फोटो खिचाउन गइयो । त्यसताका नागरिकता बनाउन दुवै कान देखिने पासपोर्ट साइजको फोटो अनिवार्य थियो । रंगीन फोटोको चलन नै थिएन । पुरुषको हकमा टोपी लगाएको हुनुपथ्र्यो । त्यस्तो नियम किन बनाइएको होला ? अहिले पनि मेसो पाउँदिन, त्यतिबेला चाहिन्थ्यो, यसैले आवश्यकताअनुसार फोटो खिचाइयो ।

टोपी नेपालीको पहिचान भएकाले त्यसो गरिएको हुँदो हो शायद । अब भने त्यसको कुरा गर्नु नै व्यर्थ छ किनकि अचेल दौरा सुरुवाल, जुन वास्तवमै हाम्रो पोशाक थियो जातीय पहिरन वा सम्भ्रान्तताको प्रतीकको रूपमा व्याख्या गर्दै त्यसलाई त्यागिएको तथा आयातीत टाईसुटले विस्थापित गरिसकिएको छ र हामी स्वदेशीभन्दा विदेशी पहिरनमा रमाउन थालिसकेका छौं भने त्यो बबुरो टोपीको टालोको के कुरा गर्नु ?

झण्डै एक हप्तापछि सबै जनाको फोटो तयार भयो । लिएर आइयो । पूर्व निर्धारित दिनमा बिहान चाँडै नै खानपिन गरी तानसेनतिर लागियो । जिल्ला प्रशासन कार्यालय पुगियो । ‘प्रमुख जिल्ला आधिकारीको कार्यालय’ भनिन्थ्यो क्यारे त्यस समय त्यो कार्यालयलाई ।  

आफ्नै ढंगमा बनेको तानसेनको शोभा, पाल्पाकै पहिचान कलात्मक थियो त्यो विशाल ऐतिहासिक दरबार । एकदुईपटक नघुमेसम्म अलमलिइने, भित्रै हराइने, मेसै नपाइने । त्यसभित्र जिल्लाका अधिकांश कार्यालय अटाएका थिए त्यसताका । त्यहीँभित्र थियो ‘सिडिओ कार्यालय’ । हामीलाई जानकारी नै छ, जनताको शासन स्थापित गर्ने  नाममा झण्डै एक दसक हिंस्रक र विध्वंसात्मक गतिविधि मच्चााएको माओवादीले द्वन्द्वकालको अन्त्यतिर त्यस दरबारमाथि जाइलागी ध्वस्त पारेको थियो । जसले पाल्पाको एउटा सम्पदालाई सदाका लागि इतिहासमा विलीन गराइदिएको थियो । हाल सोही स्थानमा सोही आकारको दरबार खडा त भएको छ तर पुरानो दरबारको ठाउँ त्यसले लिने सम्भावना कत्ति छैन । कहाँको राजा राम कहाँको कुन्नि के भनेजस्तो !

प्रमुख जिल्ला अधिकारीको कार्यालयमा त्यसताका एकदुई जना परिचित कर्मचारी  थिए । बुझ्दा थाहा भयो नागरिकता फाँटमै रहेछन् ती । सबैजना फाँटमै गइयो ।  तिनकै सहयोगमा निवेदन दिने, कागजपत्र भर्ने, फोटो टाँस्ने आदि सबै काम सहजै भयो । आवश्यक प्रक्रिया पूरा भई समयमै सबैजनाको नागरिकता तयार भयो । अधिकृत दस्तखतका लागि ढड्डासहित नागरिकता प्रमाणपत्र पुग्यो प्रशासकीय अधिकृतकहाँ ।

प्रमाणपत्र हेर्दै अगाडि उभिएका सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्दै दस्तखत गर्दे गए ती जवान र टाठा अधिकृतले । गर्दागर्दै पालो आयो मेरो । म उनका सामु उभिएँ । उनले नागरिकताको प्रमणपत्र हेर्दै मलाई हेर्दै गर्न थाले । म त्यसबेला निकै सानो थिएँ । वास्तविक उमेर १४ वर्ष अनि शरीर पातलो । अलिबेर नागरिकता प्रमाणपत्र हेरेपछि ‘उमेर नै नपुगेको मान्छेको पनि नागरिकता बनाइदिने ?’ उनी अगाडि उभिएका सम्बन्धित कर्मचारीसँग कड्किए ।  

ती कर्मचारी औँला भाँचेर हिसाब गर्न थाले, ‘अँ हो त, गल्ती भएछ सर ।’  

उनले गल्ती स्वीकार गरे । 

‘यिनलाई चार दिनपछि बोलाउनुस् । सोह्र वर्ष पुग्छन् । त्यसपछि मात्र नागरिकता दिऊँला’  अधिकृतले भने ।  

मैले जिकिर गरेंं ‘हैन सर चार दिनपछि आउँदा त म सत्र वर्ष पुगिसकेको हुन्छु नि हिसाव गर्नुस् त’

उनले मानेनन्, भने ‘पुग्दैनौ, सोह्र पुग्छौ, अहिले सोह्र वर्षमा चल्दैछौ, हामीले हिसाब गरिसक्यौं, चार दिन पछि आउनु है, पाइहालिन्छ ।’ 

ती कर्मचारी दस्तखत भएका  र नभएको मेरो नागरिकता प्रमणपत्रसमेत सँगै लिई फाँटतिर लागे । हामी उनकै पछि लाग्यौँ ।  

मैले फाँटमा पुगेपछि पनि भनें, ‘म त चार दिनपछि सत्र वर्ष पो पुग्छु, के हिसाब गर्नुभो तपाईहरूले’ । तर उनीहरूले टेरेनन् । मेरासामु कुनै उपाय थिएन । बुवाआमाको नागरिकता तयार भयो । प्रमाणपत्र बुझ्ने काम भयो । सबैजना बिदा भएर निस्कियौं । मचाहिँ चारदिनपछि फेरि आउनै पर्ने भयो ।

आफ्नो मन मानेको थिएन तर ठूलाबडाले भनेपछि मानिदिनै प¥यो, बुबाहरूले पनि ती अधिकृत एकोहोरिएको भन्दै आश्चर्य मान्नुभयो ।

चारदिनपछि बिहानै तानसेनतिर लागेंं । सिडिओ कार्यालय पुगें । फाँटमा गएँ । ‘ए, आउनुभो’ भन्दै फाँटवालाले भने ‘ल आज काम हुन्छ है भाइको’ । 

म ढुक्क भएँ तर उमेर पो के होला ? सोचाइमा थिएँ ।  

उनी भन्न थाले आज त ‘सिडिआ ेसाहेवको सही गराउनुपर्छ । अस्तिको सर हुनुहुन्न ।’

अरू फाइलसँगै मेरो नागरिकता पनि दस्तखतका लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेस हुने भयो । म पनि फाइलसँगै पछिपछि लागेंं । ढोकाबाहिर उभिएँ । मेरो पालो आएपछि भित्र पसें र सिडिओ साहेवको अगाडि उभिएँ ।

सिडिओ साहेवले यसो अनुहार हेर्नुभयो र प्रमाणपत्रमा दस्तखत गर्नुभयो ।

दस्तखत गरिसकेपछि सर्सती नागरिकतामा भरिएका व्यहोरा पढ्न थाल्नुभयोे । पढ्दै गर्दा एकाएक रोकिएर भन्नुभयो ‘यो बाबु आज त १७ वर्ष पुग्छन् नि । १६ वर्ष लेखेर दिन मिल्दैन, के हिसाव गर्नुभो ?’ सम्बन्धित कर्मचारीलाई, ‘मिति संच्याउनुस्, अस्तिको मिति राख्नुस्’ भन्दै उहाँले आफ्नो दस्तखतमुनि राखेको मिति संच्याउनुभयो ।  

‘मैले त अस्ति नै म सोह्र वर्ष पुगें, चारदिनपछि आउँदा त सत्र वर्ष पुग्छु भनेको थिएँ नि उहाँहरूले सुन्दै सुन्नुभएन’– मैले भनें ।

मैले त्यसो भनिरहँदा ती कर्मचारीचाहिँ चूपचाप मिति संच्याउँदै थिए ।

अन्ततः मैले मिति संच्याएको नागरिकता पाएँ । त्यसको प्रमाण उल्लिखित दुई ठाउँमा मिति सँच्याइएको नागरिकता अझै पनि मसँग सुरक्षित छ ।

केही वर्षअघि त्यो बुक छाडेर नयाँ कार्डवाला नागरिकता लिऊँ भन्ने लहड चल्यो र पाल्पा जाँदा जिल्ला प्रशासन कार्यालयमा पुगें । सिडिओ साहेबसमक्ष प्रस्ताव राखें । अत्यन्त समझदार सिडिओ साहेब हुनुहुँदोरहेछ । मेरो कुरा सुनेपछि भन्नुभयो ‘दरबार ध्वस्त हुँदा सबै प्रमाण नष्ट भएकाले प्रतिलिपिका लागि सम्बन्धित गाउँ विकास समितिको सिफारिस माग्ने गरिएको छ, अब यहाँलाई जागिर खान निवेदन गर्नु छैन तर लिन्छु नै भन्नुहुन्छ भने म कार्डवाला प्रतिलिपि बनाईदिन्छु लैजानुस् नत्र  सक्कल हुँदाहुँदै प्रतिलिपि किन लिनुहुन्छ र ?’ 

उहाँको कुरा सुनेपछि मैले भने, ‘भयो हजुर, यही ठीक छ’, उहाँलाई धन्यवाद दिंदै बिदा भएँ । त्यसपछि मैले प्रतिलिपि लिने अर्को कोसिस गरिनँ ।

आफूभन्दा माथिकाले जे भन्यो त्यही गर्ने तथा ठीक कुरालाई ठीक भन्न र आफ्नो स्पष्ट कुरा राख्न नसक्ने तत्कालीन प्रशासनिक अवस्थाको यो एउटा गतिलो उदाहरण हो भन्ने लाग्छ । त्यसबेलाको के कुरा गर्नु, अहिले पनि हाम्रा सरकारी अड्डा र प्रशासनिक संयन्त्रको कामको शैली र पारा उस्तै छ । औपचारिकता धेरै, परिणाममुखी होइन प्रक्रियामुखी छन् हाम्रा अड्डाहरू र कर्मचारीचाहिँ हाकिमका आदेशपालक ।  

प्रकाशित: २६ कार्तिक २०७७ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App