२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

त्रासदी रात

कथा

राजु क्षत्री अपुरो 

 

वार्षिक रुपमा गरिने  स्वास्थ्य जाँचमा म लगायत अरु दुईजना साथीहरू फेल असफल भएछौं । गाइँगुईँ  हल्ला सुनियो तीनैजनाको रगतमा एच आइ भि पोजिटिभ देखा पर्यो रे अनि योपनि सुनियो अब हामीलाई छिट्टै स्वदेश फर्काइदैछ रे !

यो खबरले म छाँगाबाट खसेझैं  हुन्छु । ओठ, तालु र मुख एकैचोटि सुक्न थाल्छन् ।हातखुट्टा लत्रालुत्रुक्क गल्न थाल्छन् । आँखा वरिपरि बादल मण्डारिन थाल्छ। भविष्यका लागि कोरिएका सबै सपना चकनाचुर भएको आभास हुन्छ।

एक कान ,दुई  कान मैदानु  हुँदै  यो खबर म आफू  काम गर्ने कम्पनीभरि हल्ला फैलिन्छ । हेर्दाहेर्दै आसपासका फ्याक्ट्रीहरूमा काम गर्ने कामदारहरूको आवास क्षेत्रहरूमा पनि चर्चा गर्न थालिन्छ ।

लामो समयदेखि एउटै समूहमा खाना खाँदै आइरहेका मेरा निकट मित्रहरू  एकाएक अलग्गिन थाल्छन्  । कोठामा बस्ने अन्य सहकर्मीहरू पनि  छिटै गइदिए आनन्द हुन्थ्यो जस्तो गर्न थाल्छन्  । अझ अरूको भन्दा चर्चा त मेरै पो बढी छ । यता गयो मेरै चर्चा , उता गयो मेरै चर्चा । मसँग जल्नेहरू , मेरो प्रगतिका बाधकहरू, विरोध गरेर नथाक्नेहरूका त कुरै के भए र ! मेरा निकट मानिएकाहरू समेत कुरा काट्न थालेको पाउँछु।  कोही भन्छन्   आफूलाई खुब जनचेतक मान्थ्यो, आफै प्राणघातक रोगको सिकार हुन पुगेछ । अर्काथरी ताना कस्छन्  पत्रपत्रिकामा खुबै लेख्थ्यो तर लेखेजस्तो र बोलेजस्तो व्यवहारमा ल्याउन कहाँ सकिन्छ र ! हिजै मात्र मसँग फूटबल खेल्ने साथीहरू एक आपसमा खुसुरपुसर गर्दै थिए – अब बल्ल पो बुझियो , एड्स लागेको रहेछ पो पहिलाजस्तो खेल्न कुद्न नसकेको रहेछ 

– हो त नि यार,  मलाई   धेरै पहिलादेखि  नै शङ्का  लाग्याथ्यो, भन्न नसकेर पो त । अर्कोले आफ्नो आशङ्कालाई प्रमाणित गर्न खोज्यो । अब गयो बाह्रको भाउमा, खुबै  जान्नेसुन्ने पल्टेर कोच बनेर सिकाउँथ्यो ।  हमेशा विपक्षी भएर खेल्ने गरेको आफ्नै साथीले मौका छेड हान्यो।

उफ् हिजोअस्तिसम्म मेरो गुणगान गाएर नथाक्नेहरू, मेरा मिठामिठा रसिला अनुभवी गफ सुनेर आनन्द मान्नेहरू, मकहाँ आउन मरिहत्ते गर्नेहरू  आज फुर्सदमा समय कटाउने माध्यम भइदिएको छु ।

म विगत र वर्तमानको अन्योलतामा गुज्रिएको मेरो भविष्य बारे थप चिन्तित हुँदै सम्भावित कल्पनामा हराउन पुग्छु ।

म आफ्नै मुलुकमै रोजगार गरेर बसेको मान्छे । कति आनन्द थिए मेरा ती दिनहरू  ।  सानो परिवार  सुखी परिवार ।  आफ्नै सानो दुनियाँमा रमाइरहेको थिएँ  । सानोतिनो व्यापारले परिवारको गुजारा जसोतसो चलेकै थियो। एकाएक मुलुकमा द्वन्द्वले उग्र रूप लिन थाल्यो। यसको असर चारैतिर पर्‍यो। बेरोजगारीबाट आत्तिएका  युवाहरू पासपोर्ट बनाउँदै खाडी मुलुक , मलेसिया र अन्य देशतिर पलायन हुन थाले । हामी साना व्यापारीहरू प्रत्यक्ष  मारमा पर्न थाल्यौं ।  खस्किएको व्यापार त छँदै थियो,   दैनिक रूपमा आउने सेना प्रहरीका  जवानहरूको नजर ममाथि  पर्न गयो । उनीहरू ुजनयुद्ध गर्नेलाई चन्दा दिएर सहयोग गरेको भन्दै मलाई  बेलाबेलामा केरकार गरिरहन्थे ।  पटकपटक चन्दा मागेर वाक्कदिक्क बनाइसकेका  जनयुद्ध लड्न लागेकाहरूको क्षति हुने गरी  एउटा  नमीठो घटना घटेपछि  मलाई सेना प्रहरीहरूको जासुस सम्झिन थालिएको  थियो।    मेरा प्रगतिमा जल्नेहरू , ससाना कुरामा रिसराग लिएर बसेकामध्ये   कुनै एकजनाले जासुस गरेर मेरो नाम  पोलिदिएको थियो। म दुवैतर्फको निशानामा पर्न गएको  थिएँ । स्थापित भइसकेको व्यापार र व्यवसायबाट तिलान्जलि दिई म विदेशिन बाध्य भएको थिएँ ।  

विदेशमा आएपछि एउटा फ्याक्ट्री मजदूर भएर काम गर्नुपरेको थियो। त्यो बेला व्यापारी बनेरै जीवन निर्वाह चलेकै छ, अब किन अन्ततिर ध्यान बाड्न पर्‍यो र भन्ने सोच्ने गर्थें।  कुनै पनि  सीप तालिम नलिएकोमा खूब पछुताएको थिएँ म । मानिसको जिन्दगीको पासा कुन बेला पल्टिंदो रहेछ कुनै पत्तो नहुदोँ रहेछ ।

विदेश आएको पनि तीन वर्ष बितेछ। यो बीच साथीहरूको लहलहैमा लागेर म  आफ्नो यौन प्यास मेटाउन युवतीहरूको खोजीमा भड्केको थिएँ । साथीहरू भन्थे – अहिले नगरेको मोज कहिले पो गर्ने ! मानिसलाई  गाँस, बास र कपासले मात्र नहुँदो रहेछ। सहवासबिनाको जीवन अधुरो। यही क्रममा  बाख्राको हुलमा छाडा छाडेको बोको जस्तै हुन पुगेछु म पनि । होस्टेलहोस्टेल चाहार्दै हिड्ने  युवतीसँगको  असुरक्षित यौन सम्बन्धको शिकार हुन पुगेछु ।  म अझै दिमागमा जोर लगाउँदै छु । होइन साँच्चै कुनचाहिँ थिई  त्यो युवती त्यो विदेशी थिई कि यसै मुलुककी थिई ।  अब जोसुकै होस् , रोग सारेरै गई त हाली । होइन, गल्ती त मेरै हो। सस्तो भाउमा पाएँ भन्दैमा के के पो गर्न पुगिएन । हमेशा बिनाकण्डमकै यौन प्यास मेटाउन खोज्ने म , अब  पछुताउनुको अलावा अर्को विकल्प नै छैन । आफ्नो क्षणिक आनन्दलाई रोक्न नसक्दा आफ्नो खुट्टामा बन्चरो आफै हान्न पुगेँ । जिन्दगीमा योभन्दा ठूलो भुल अरु के नै हुन सक्थ्यो र ! 

कम्पनीका मालिक र म्यानेजरको प्रिय बनेर काम गर्दै आइरहेको  मलाई अब घृणा गर्दै  केही दिनमै छिट्टै मुलुकतिर  लखेट्नेछन् । त्यस दिन मेरा निकट मानिएका सहकर्मीहरू हात मिलाएर बिदाई गर्नु त परै जाओस्, कतादेखि पो हाल्छ कि  भनेर लुक्न जानेछन् अनि म गएपछि मात्र होस्टेलमा बिस्तारै  देखा पर्नेछन् ।

गाउँमा पुगेपछि फलानो त  मेडिकल फेल भएर आएको रे नि त भनेर एउटा छुस्स कुरा निकाल्नेछ अनि हिँउदको खरबारीमा लागेको आगो सल्किएझै गरी सल्किनेछ। अब टोलटोलमा  मेरै चर्चापरिचर्चा पुन दोहिरिनेछ ।  मेरा साथीभाइ , समकक्षीहरूको नजरमा म तल खसिसकेको हुनेछु ।   अब म कसैसँग विवाद गर्न सक्दिन । कसैसँग प्रतिवाद गर्न सक्दिन । मिटिङ भेलामा गएर शिर ठाडो गर्दै आफ्नो कुरा राख्न सक्दिन । सबै परपर तर्किनेछन् ।  सार्वजनिक स्थलहरूमा पनि खुलेआम राम्ररी घुम्न सक्दिन । एचआइभि सङ्क्रमित भएको चाल पाएर अब मलाई खोज्दै एकहुल आउनेछन् । खोक्रो सहानुभूति जनाएझैं  गरी मलाई आफ्नो दलमा सहभागी गराउने छन् ।  बेलाबेलामा भइरहने  एचआइभी  र एड्स सम्बन्धिका जनचेतनाको कार्यक्रममा हास्य पात्र बनाएर मन्चबाट उभ्याइनेछ अनि माइकबाट दबिएको आवाजमा आफुले गरेका गल्ती अरुले नगर्न अनुरोध गर्न लगाइनेछ । पीडितहरूलाई अझ खुला रूपमा नङ्ग्याएर डलर खान पल्केका एनजिओ रआइएन जिओ चलाउनेहरू आफूलाई मसिहा सम्झिनेछन्  ।

थुइक्क म, जनचेतना फैलाउँदै हिंडेको मान्छे । अब यो हल्लाले म काम गर्ने मुलुक मात्र होइन स्वदेशदेखि विदेशसम्म  केही दिन चर्चाको विषय बन्न पुग्नेछ। अनि कुनै दिन  यिनै  मिडियाकर्मीहरूले लेख्नेछन्  – फलानो  समाजसेवी , साहित्यकार, खेलाडी  एड्सको सिकार । स्मरण रहोस्  – उनी कुनै बेला फलानो फलानो पत्रिकामा समेत  आबद्ध थिए । झन् अहिले सामाजिक सञ्जालमा अनलाइन पत्राकारहरूको बिगबिगी छ। उनीहरूलाई उल्टो पाल्टो हेडलाइन बनाएर आफ्नो गोरखधन्दा गर्न सिपालु छन् । उनीहरूलाई सहानुभूति कुन चराको नाम हो के थाहा !  के मतलब भयो र ! आफ्नो अनलाइन पत्रिकालाई जसरी हुन्छ ,उचाइमा लैजान पाए भयो। नाम कसरी कमाउने , दाम कसरी कमाउने । त्यत्ति पाए भैगो। राम्ररी पोस्ट हुन  पाएको छैन,  सेयर गरेर भाइरल बनाउनेहरूको ताँतो नै लाग्ने होला।  

प्रतिक्रिया लेख्नेहरूको चाङ देखिने होलान्  

आफ्ना प्रतिक्रियामा आएका थुप्रै लाइक र प्रतिक्रियाहरूले उनीहरू आफूलाई ठूलो टिप्पणीकार मान्दै अठ्ठाइसको छाती तीस इन्च  बनाउँदै तन्काउने होलान् । नारीहरूबाट आएका लाइक र कमेन्ट देखेर मक्ख पर्दै साथी बन्ने निम्तो दिने होलान् । 

– अहो, मैले यो के गरेँ ! अब मेरो परिवारको के हविगत हुने होला ! श्रीमती यो खबरले पक्कैपनि विक्षिप्त हुनेछिन् । समाजको तानावाना सहन गर्न नसकेर आत्महत्या गर्ने कोसिस पो गर्ने हुन् कि  ! होइनहोइन, उनी त्यो हर्कत गर्न  पक्कै पनि सक्दिनन्  । अपमानित भएरै भए पनि छोराछोरीको मुख हेरेर बाँच्ने कोसिस गर्लिन। उफ, साना नानीहरूको बिचल्ली हुने भयो । अब जिन्दगीभरि  टाउको उठाएर हिंड्न नपाउने भए । कति अपमानित भएर बाँच्नुपर्ने हो ! कुनै सीमा नै छैन। यिनीहरूको बाउ त एड्स रोगी हो नि भन्दा  उनीहरूको मन कस्तो भएर आउँदो हो ! सोच्दै कहालीलाग्दो भएर आउँछ ।  अझ बाबाआमाको के हाल हुने हो कल्पनै गर्न सक्दिन म । डाँडाँमाथिका घामजस्तै उनीहरू आफ्नो काल छिट्टै आइदिए हुन्थ्यो भनेर कामना गर्नेछन् ।  इष्टमित्रहरू पनि दुईचार दिन सान्त्वना दिन आउलान् र त्यसपछि मुख फेर्नेछन् ।उनिहरू पनि  खाइन्जेल र लगाइन्जेल मात्र हुन्।   त्यसपछि त्यो घर फर्केर कहिल्यै जानु नपरोस्  भन्ने कामना गरेर फर्किनेछन्  । यस्तो  बेलामा त आफ्नै छाँयाले साथ दिन छाड्छ भने  वैरीका त के कुरा भएर अब१ मेलापातमा महिलाहरूको आठ घण्टे काम सजिलै बित्ने भो ! खाएको पचाउने सजिलो हुने भो कतिपयलाई। केही दिनसम्म चियापसलेहरूका चिया मजाले  बिक्री हुने भो अब ।

म अलि पुरानो कुरा स्मरण गर्न पुग्छु । पोहोरतिरकै कुरा त हो नि , एउटा एचआइभी एड्ससम्बन्धी जनचेतना फैलाउने  एउटा विदेशी संस्थाले नेपाली संस्थाहरूसँग  सहकार्य गर्दै एउटा कार्यक्रम गरेको थियो। सो कार्यक्रममा अतिथिको आसनबाट  मलाई पनि बोल्ने मौका दिइएको थियो । आफ्नो मन्तव्यमा मैले मुम्बईदेखि फर्केका मेरा छिमेको गाउँका केही तोरी  लाहुरेहरूले नासोको रूपमा लगेको  एड्स सारेर  आफ्ना श्रीमतीहरूलाई समेत मृत्युको मुखमा पुर्याएको घटनाको उदाहरण दिँदै  माइकबाट कुर्लिदै भनेथेँ – यदि उनीहरूले आफ्नो मेडिकल जाँच गरेको भए आफू मरे पनि श्रीमतीहरू मृत्युको मुखमा पुग्नबाट जोगिन  सक्थे ।   उनीहरूलाई बेलैमा सचेत गराइएको भए आज उनीहरूका नानीबाबुहरू टुहुरा हुने थिएनन् । मैले त्यसोभन्दा मन्चासिन र श्रोता र दर्शकहरूको मुखबाट तारिफ गरिंदै तालीको फोहोरा नै छुटेको थियो । आफ्नो दर्बिलो भाषणले सबैको मन जित्न पाएकोमा नाक आधा इन्च फुलाएको थिएँ । मुठ्ठी उठाउँदै जोसिलो भाषण गर्न सकेकोमा आफूलाई कुनै क्रान्तिकारी नेताभन्दा कम सम्झेको थिइन्  ।

आखिर म पनि अरूजस्तै प्रवासमा भौतारिएको युवा त हुँ  नि ! मुखले जति बोले पनि हातका कलम जति तिखारिँदै गए पनि  यौन चाहाना कसको पो हुदैन र ’ तरुनीको आगमनको आभास पाएपछि  आँखा चिम्लेर बसेको बूढो सन्यासीको त ध्यान भङ्ग हुन्छ भने म त बल्ल तीन दशक नाघेको एक लक्का जवान पो त !

मलाई घरीघरी म काम गर्ने मुलुकका महिलाहरू देखेर रिस उठ्ने गर्दछ। रत्नपार्कका खुल्ला साँढझै होस्टेलहोस्टेल चाहार्दै हिड्ने ,काम नगरी थोरै समयमा धेरै पैसा कमाउन खोज्ने ती दुधालु गाईहरूको हाउ भाउ, कटाक्षले मै हुँ  भन्ने सन्त पुरुष त भुत्तुक्कै हुन्छन्  भने आखिर म पनि त कुन खेतमा मुला पो थिएँ र !  म पनि अछुतो रहने कुरै आएन  तर मैले नबुझेको एउटा कुरा, गरिबीको मारमा परेर आफ्नो र आफ्नो परिवारको पापी पेटको खातिर  अन्तिम हतियार प्रयोग गर्नेहरूका छुट्टै कथाव्यथा होलान्  । तर धनी मुलुकका धनी नागरिकहरू, जहाँ उनीहरूलाई रोजगारको कुनै कमी छैन। उनीहरूलाई के नपुग्दो थियो होला र  यस्तो घृणित पेशा किन अपनाएका होलान् ! आफैलाई प्रतिप्रश्न गर्छु अनि टोलाउँदै सोच्छु – अब मलाई केही दिन र महिनापछि हनहन्ती ज्वरो आउने होला। रुघाखोकी लाग्ने होला। वाकवाकी बान्ता आउने होला। खाना नरुच्ने होला ।रिंगटा लाग्ने होला ।निद्रा नलाग्ने होला । शरीर लत्रालुत्रुक्कै गल्ने होला। आँखा भित्र पस्ने होलान् । चिन्तै चिन्ताले अनि भाइरसको प्रकोपले यो चाउरिएको शरीर संसारबाट सदाका बिदा लिई खरानीमा परिणत हुने होला । न कुनै श्रद्धाञ्जली न कुनै समवेदनाका अक्षरहरू ।  एड्सको रोगीलाई जिउँदोमा माया दया नगर्नेहरूले मरेपछि के को माया केको दया !

– अल्लाह हुँ, अकबर, अल्लाह, बिहानीपख माइकबाट गुन्जिने यो आवाज उज्यालो हुन लागेको सङ्केत हो। सदा दिनझैँ आउने  यो  आवाज सिधै आएर मेरो कानमा ठोक्किन्छ । म काम गर्ने मुलुक मुसलमानको देश अनि मुसलमानको घना बस्ती भएको भेकपनि ।  दैनिक रूपमा गुन्जिने यी आवाजहरू आज अरू दिनकोभन्दा अलि फरक पाउँछु ।  यो आवाजसँगै  गाडिका ट्याँट्याँ र टुँटुँ का अरू थप आवाजहरू मेरा कानमा ठोक्किन थाल्छन् । झल्याँस्स ब्युँझेर दायाँबायाँ हेर्छु , उज्यालो हुन लागिसकेको रहेछ । पसिनै पसिनाले शरीर निर्थुक्क भिजेको पाउँछु आफूलाई । जीउ  थरथरी काँपिरहेको महसुस गर्छु म । दिसापिसावले उकुसमुकुस भएको चाल पाएपछि  हत्तपत्त शौचालयमा पुग्छु। अलिकति मात्र ढिलाई भयो भने पंक्तिमा बस्नुपर्ने अवस्था आउँछ । त्यो बेलाको पीडा पनि  कुनै रोगभन्दा कम हुन्न मेरा लागि ।  आधुनिक तवरले सजाइएको शौचालयमा  थचक्क बस्दै केहीबेर अघिको घटनामा केन्द्रित हुँदै दिमागमा जोर लगाउँछु होइन , मेरो त मेडिकल नगरेकै दुई साल भइसकेको छ त । यो पाला त मेडिकल परिक्षण  नै भएको छैन । तीन वर्ष नाघेकाहरूको  सरकारले चाह्यो भने मेडिकल परिक्षण गर्न पनि सक्छ, नगर्न पनि। कम्पनीमा यही हल्ला मात्र सुनिएको हो।  फेरि यो मेरो रगतमा एचआइभि पोजिटिभ  देखिएको कुरा । ओहो यो त भयानक सपना पो रहेछ ! आएकै यत्रा वर्ष हुँदा पनि कुनै पनि  युवतीसँग  शारीरिक सम्पर्क गरेको कुरा त परै छाडौँ । ती बस्ने ठाउँ समेत  देखेको छैन। दिमागमा यिनै कुराहरू खेलाउँदै आफू ढुक्क हुने प्रयास गर्दै थिएँ । बाहिरबाट आवाज आयो – लहै पोख्रेली सोल्टा ,के पारा हो यस्तो ! साथीहरूलाई पनि शौचालय जानुपर्छ भन्ने हेक्का राखौँ  न, काममा जान ढिला हुन्छ । अलि छिटो गरौँ त । दिसापिसावले च्यापेर खस्ला जस्तो भइसक्यो । होइन १५ मिनेट भसक्यो कुरेको , भित्रै निदाएछ कि के हो हाउ ! पुर्वेली साथी आफ्नै अन्दाजमा  कराउँदै लगातार ढोका पिट्दै थियो ।

यो भयावह रातको त्रासपुर्ण सपनाले दिव्यज्ञान प्राप्त भएकोमा अघिसम्मको मेरो रुञ्चे अनुहार एकाएक मुस्कानमा परिणत भयो। खाएको बिष पो लाग्छ, नखाएको विष कहाँ  पो लाग्छ र  भन्ने सोच्दै आफू पूर्ण रूपमा  विश्वस्त हुन खोज्दै बाहिर निस्कदै गर्दा दिसापिसाबले च्यापेर उकुसमुकुस भएको क्रोधित साथी मलाई धकेल्दै भित्र पस्दै थियो।

प्रकाशित: २६ कार्तिक २०७७ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App