२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

परिवर्तन

लघुकथा

किशन पौडेल  

 

धुलौटे बाटोमा भाग्दाभाग्दै उसको हवाई चप्पलको फित्ता चुँडियो । चुँडिएको  चप्पललाई हातको पन्जामा उनेर ऊ फेरि दौडिरह्यो ।

तानाशाह र सामन्ती सत्ताको विरुद्धमा आन्दोलनले उग्र रूप लिँदै  थियो ।  

अन्ततः वर्गसंघर्ष , गरिबी र उत्पीडनविरुद्धको क्रान्तिकारी आन्दोलन सफल भयो ।

सामन्ती सत्तालाई पाखा लगाएर जनवादी गणतन्त्र व्यवस्थाको उदय भयो । सत्ताको महत्त्वपूर्ण कुर्सीमा ऊ पुग्न सफल भयो । ऊसँगै अग्रपङ्तिमा आन्दोलनमा भाग लिनेहरू धेरै सहिद भए। कोही सत्ता साझेदारमा भाग लिने अवसर पाए ।

गाउँका विपन्न र गरीब जनताहरूले ठूला सपनाहरू देख्न थाले । रातारात अब कायापलट भएर आफ्ना सारा दुखकष्टहरु निवारण हुने अपेक्षा र आशामा दिनहरू गन्न थाले ।

बर्सौ बित्यो गाउँबाट क्रान्तिको अगुवा गर्ने ऊ फर्केर आएन । गाउँमा न कुनै खुसी आयो न सम्पन्नता ।

सत्ताको स्वादमा उसले आफ्नो गाउँ बिर्सियो आफ्नो औकात बिर्सियो । गरीबनिमुखा जनताहरू बिर्सियो । ऊ आफै सम्पन्न भयो र बिस्तारै निरंकुश र तानाशाह बन्दै गयो ।

अन्ततः व्यवस्था र सत्ताको विरुद्धमा गाउँमा फेरि व्यापक आन्दोलन चर्कियो । नाराबाजी र जुलुसहरू हुन थाले सामन्ती सरकार मुर्दावादका नाराहहरू घन्किए । व्यापक प्रहरी दमनहरू हुन थाले । जुलुसहरूको नेतृत्व गर्दै त्यहीँ धुलौटे बाटोमा फाटेको जुत्तामा अग्रपंक्तिमा दौडिरहेको थियो ऊजस्तै अर्को एउटा क्रान्तिकारी अगुवा ।

प्रकाशित: २६ कार्तिक २०७७ ०५:४२ बुधबार

अक्षर