नुहाङ राई
एकदिन उनीहरू आए
ढोका ढकढकाएर
भने
यसरी सुतेर हुँदैन
देश बनाउन पर्छ भनेर
एउटा किताब थमाइराखे
यो बूढो किताब भित्रको वयस्क तन्नेरी
अक्षरहरूले मलाई सुत्न दिएन्र
त्यसपछि
हिँडे म
तिनीहरूसित आगो खेलाउन
आगो खेलाउँदा –खेलाउँदै
धेरै साथी आगोमैं बिलाए
कतिको जिन्दगी पानीजस्तो घस्रिने भयो
कतिको टाउको हराए कतिले हातखुट्टा हराए
कतिलाई कोचारे यातनागृहमा
मलाई किताबले
मानसिक र बौद्धिक रूपले बौलाहा बनाएपछि
मैले राज्यलाई सरापे
व्यवस्थालाई कराए अनि
पुलिसलाई ढुंगा हाने
मेरो अराजक पाइतलामा ठोक्यो
पुलिसले कठ्ठा बाँसको सुम्लो
तर,
किताबमा पढेका थिएँ
यातना भनेको मुर्दाबाट जिउँदोमा अनुवाद हुनु हो
क्रान्ति भनेको स्वर्गको सिँढी चढ्नु हो
त्यसैकारण म यातना र कारावासमा रमाए
धेरै समयपछि म निस्के
आगोहरू चिसो खरानी भइसकेको थिए
मलाई जागजाग भन्नेहरू
फूलमाथि सुतिरहेका थिए ।
मिरिक दार्जिलिङ
प्रकाशित: २५ कार्तिक २०७७ १०:१७ मंगलबार