अजित शाहका कुराहरू भर्खरै एउटा टिभी अन्तर्वार्तामा सुनेँ, अनि नेपाली लोककला यसै विषयमा उठेका अनेक सन्दर्भ मेरो मनमा खेल्न थाल्यो । मूलतः अजित मिथिला कलामा स्थापित, जमेका चित्रकार हुन् । कार्य–कुशलता, शिल्पी–दक्षता र सिर्जना–क्षमता अनि बिक्री–वितरणमा समेत उनी अब्बल मानिन्छन् । मिथिला कलाको उनको आफ्नै व्यवसाय फर्म पनि छ । अनि, उनी अन्तर्राष्ट्रिय रूपमै यथेष्ट मात्रामा प्रदर्शन र आफ्ना मिथिला कलालाई बिक्री गर्ने गर्छन् ।
लोककलामा आधारभूत रङहरूलाई प्राथमिकतामा राखिन्छ । कलामा औपचारिक शिक्षा केही नलिएका र आफूभन्दा अग्रजबाट देखासिकीमा गरिँदै आउने लोककलामा शिल्प–दक्षताभन्दा भावनाको प्रबल दबाब रहन्छ । मैथिल समुदायमा चाडपर्व, संस्कारको एक अंग बनेको यो कला विशेषतः महिलाले स्वस्फूर्त रूपमा निर्माण गर्छन् । उपयोगी वस्तुमा पनि यो कला यथेष्ट मात्रामा प्रयोग हुने गर्छ । नेपालमा पश्चिमी शैली र प्रवृत्तिबाट निर्देशित कलाका औपचारिक स्कुल खुल्न थालेपछि कलाकारहरू यस्ता ज्ञान र सीप लिन बढी उद्वेलित भए । फलस्वरूप यसको प्रभाव नेपाली परम्परागत कला, लोककलामा पनि पर्दा विषय, संयोजन विशेष गरेर रङ र रेखामा बढी प¥यो । यसो हँुदा परम्परागत र लोककला पनि नयाँ ढंगको देखिन थाल्यो । कोमल रङ र सशक्त रेखांकन गुणस्तर कलाको मानक बन्न पुग्यो । कलाकारहरू आफ्ना कलामा सशक्त रेखा र रङको सन्तुलनमा बढी ध्यान केन्द्रित गर्दै जाँदा बिस्तारै भावना र भाव कम दृष्टिगोचर हुन थाल्यो । परम्परागत मान्यताबाट उछिट्टिएर समसामयिक प्रवृत्तिका लोककला देखिन थालेको अहिलेको अवस्था हो । यसर्थ अहिले मिथिला कलामा लोककला र समसामयिक कलाबीच विशेषतागत अन्तर छुट्ट्याउन गाह्रो परेको छ । लोककलाको मुख्य विशेषतामा रहेको उज्यालो र आँखा खाने रङ र अस्वाभाविक रेखांकनभन्दा पृथक् रङ र सूक्ष्म र सशक्त रेखालाई ताल मिलाएर खेलाउन मन पराउने अजित भने समसामयिक कलाका ‘कलर एप्लिकेसन’सँग नजिक बसेर काम गर्न रुचाउँछन् ।
मलाई यो उनको अन्तर्वार्ताले दुई कुरामा सोच्न बाध्य गरायो । गत वर्ष भारतीय प्रधानमन्त्री नेपाल आउँदा पहिला काठमाडौं सीधै नआएर जनकपुर भ्रमण गर्ने सोच राखे । गौरवकै कुरा हो, प्रदेश २ का लागि । सम्भवतः यसर्थ पनि प्रदेश २ ले आफ्नो मिथिला लोककलालाई मान–सम्मानका साथ सडक वारि र पारिका भित्तामा चित्रण गर्ने निर्णय ग¥यो । तर, स्थानीय अति राम्रा कलाकारलाई छाडेर बाहिरबाट चित्रकार ल्याई स्तरहीन चित्रहरूको निर्माण गर्दा चारैतिरबाट घीनलाग्दो गाली खप्नुपरेको सन्दर्भ अजितलाई एउटा उठाउनैपर्ने कुरा भयो । अहिले अलि पछिल्लो कालमा आएर जनकपुरको रेलवे स्टेसन सिँगार्ने क्रममा मिथिला कलालाई चित्रण गर्ने राम्रो सोच देखियो । तर, मिथिला लोक–चित्रकलालाई चित्रण गर्ने सन्दर्भमा भारतीय मधुवनी चित्रलाई प्रदर्शित गर्दा अजितको मन पोलेको थियो । सम्भवतः यसबाट राष्ट्रले नेपाली कलालाई हेर्ने दृष्टिकोण र कलामा ज्ञान कत्तिको रहेछ भन्ने कुरा छर्लंग हुन्छ । नेपाली मिथिला कलाको मौलिकता के हो ? यसका विशेषता र लक्षण मधुवनी चित्रकलाभन्दा केमा फरक छ ? यस्ता तथ्य भएको अनुसन्धानात्मक पुस्तक हामीसँग छैन । कलामा रहनुपर्ने गुणस्तर र यसमा राखिनुपर्ने चासो नेपालमा देखापर्न सकेको छैन । हुन त मिथिला संस्कृतिबारे नेपालका धेरै विद्वान्ले पुस्तक निकालेका छन्, यसैमा साह्रै सानो अंश कलाबारे पनि हुने गर्छ । लोक–संस्कृतिलाई संवद्र्धन र विकासको सन्दर्भमा पहिला र आज पनि नेपाल प्रज्ञा प्रतिष्ठानले केही मात्रामा पहल गर्छ । तथापि उसले संस्कृतिदेखि, लोकगाथा, लोकनाच, लोककथा, लोक–साहित्य आदि अनेक उपविधालाई समाते पनि लोककलालाई हेरेको भने आजसम्म देखिएको छैन । मिथिला संस्कृतिमा कलाको अब्बल स्थान छ । तथापि मिथिला संस्कृतिको कला पक्षलाई बाहिर राख्नु अलि नसुहाउने काम हँुदै आउँदै छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको भागमा लोककला परेकाले राष्ट्रिय कला प्रदर्शनीमा मिथिला कलाको प्रदर्शनसम्म हुने गरेको छ । आजसम्म पनि हस्तकला, उपयोगी कला र लोककला वा परम्परागत कलाको छ्यासमिसमा देखापर्ने गरेको मिथिला कलालाई अलग्गै पहिचानका साथ अभिलेखीकरण गर्न चासो भएको देखिँदैन । समग्रमा जति पनि मिथिला संस्कृतिबारे पुस्तक प्रकाशनमा आएका छन्, मिथिला अञ्चलको समग्र क्षेत्र (नेपाल–भारत दुवैतिरका) मिथिला कलाको एकमुष्ठ विश्लेषण गर्ने प्रचलन छ । सम्भवतः यसर्थ पनि स्थानीय वा प्रदेश सरकारलाई नेपाली मिथिला चित्रकलाको सही पहिचान कसरी गर्ने दुविधा रहेकामा अन्यथा मान्नुपर्दैन । तथापि गहनसँग नेपाली लोककलाको अनुसन्धान गरेर मौलिकताबारे स्पष्ट अभिलेखन हुनैपर्छ भन्ने सोच कहिले आउने होला, यो सोचनीय विषय भएकै हो ।
मिथिला कला नेपालको तराई भू–भाग विशेषतः अहिले जनकपुर, सिराहा र वरिपरिका जिल्लामा गर्ने गरिन्छ भने उता भारतको दरभंगा जिल्लाको मधुवनी लगायत वरिपरिको क्षेत्रमा गरिन्छ । सन् १९३४ मा भारतको विहारमा ठूलो भूकम्प गयो, भूकम्पमा परेकालाई उद्धार गर्ने क्रममा मधुवनीका घरका भित्तामा यस्ता चित्र देखापरे । एक बेलायती नागरिक विलियम जी आर्चरले यो चित्रकलालाई सन् १९३५ मा भारतीय अन्य लोककलाभन्दा नितान्त अलग्गै विशेषता रहेछ भनेर पहिचान ग¥यो । विश्वप्रसिद्ध कलाकार पिकासो एवं मिरोको कलाका विशेषता हल्का रूपमा यो कलामा छनक देखिएकाले उनले यसलाई चर्चामा ल्याउने निधो गरे । उनले यसैबारे एक गहन लेख ‘मार्ग’ भन्ने कला पत्रिकामा लेखे । मधुवनीमा पाइएकाले यसलाई मधुवनी कलाको नामकरण गरियो । अब यो कला मधुवनी कलाको नामले विश्वमा चर्चित छ । यो कलाको मूलथलो नेपालमा भने यसको अलग्ग नाम राखिएन र विस्तारमा अनुसन्धान पनि गरिएको छैन । नेपालमा संघीय गणतन्त्रको स्थापनापछि थोरबहुत कलामा चासो राखिएको छ । स्थानीय सरकार, प्रदेश वा सम्पूर्ण राष्ट्रबाटै नेपाली मिथिला कलाको सामान्य अध्ययन भने हुन नसकेको सर्वथा सत्य हो ।
मिथिला लोककला नेपालको सन्दर्भमा नेवारी लोक–चित्रकलापछि चर्चामा आएको हो । धेरै वर्षदेखि काठमाडौं उपत्यकाभित्र पल्लवित र विकसित भएको नेवारी लोककला नै स्वदेश र विदेशमा समेत नेपाली कलाको रूपमा परिचित हुँदै आएको थियो । अहिले अवस्था फरक छ । ९० को दशकमा आयमूलक कार्यक्रमको रूपमा, ग्रामीण महिलालाई आयआर्जन गर्ने माध्यमका रूपमा ‘जनकपुर नारी विकास केन्द्र’ खुल्यो । यही केन्द्रले मैथिली समाजमा सदियौँदेखि संस्कृति र संस्कारमा गहिरोसँग आबद्ध भई निरन्तर रूपमा सिर्जना भइरहेको मिथिला कलालाई व्यावसायिक रूपमा लैजाने पहल सम्भवतः यहाँबाट सुरु भयो । चर्चामा नआइरहेको यो मिथिला लोकचित्रकला अति द्रूत गतिमा अहिले नेपालमा मात्र होइन, विदेशमा समेत छ्यापछ्याप्ती पुगेको अवस्था छ ।
कलामय गाउँ–सहर
सहर र गाउँहरू एकमुष्ट रूपमा कलामय बन्न थालिसकेको विश्वको सन्दर्भ छ । कलालाई संवद्र्धन र विकासका कुरामा मात्र सीमित क्षेत्रमा राख्नु सम्भवतः अब पुरानो भइसक्यो । कला स्वयंलाई व्यावसायिक बनाउने र कलालाई स्रोतको रूपमा प्रयोग गरेर पनि राष्ट्रको आर्थिक अवस्था बलियो पार्ने अहिले हरेक राष्ट्रको योजना रहेको हुन्छ । यसर्थ सहर, गाउँलगायत हरेक कुरामा कलालाई कसरी समायोजन गर्न सकिन्छ भन्ने सोच विकसित देशमा हुने गर्छ । पुराना कलालाई ठुल्ठूला म्युजियममा सजाएर पर्यटकको मुख्य आकर्षकको केन्द्र बनाई ठूलो धनराशि बटुल्न विश्वभरिका राष्ट्र तँछाडमछाड कुदिरहेका हुन्छन् । विश्वका ठुल्ठूला सहरका भवन कलात्मक मूर्तिजस्ता भएर ठडिएका हुन्छन् । भवन मात्र होइन, सडक र सडकका चारैतिर उभिएका बत्तीका पोल पनि कलात्मक देखिन्छन्, फूल र रूखपातले भरिएको वरिपरिका क्षेत्र कलात्मक रूपमा व्यवस्थित गरिएका हुन्छन् । घरका रङ, सडक वरिपरिका हरेक वस्तुका रङ र रूप पनि संगतिमा स्थापित गरिएका हुन्छन् । यसर्थ समग्रमै जताततै कला समाहित भएको हुन्छ । जतिसुकै प्रजातन्त्र भए पनि यस्ता विकसित देशमा आफूलाई मन परेका घरको रङ र घरअगाडि आफूलाई जस्तो मन लाग्यो, त्यस्तै संरचना ठड्याउन पाइँदैन । जहाँ पायो, त्यहाँ घर बनाउन पनि पाइँदैन । यसरी सिंगो सहर, गाउँ कलामय देखिन्छ । हामी यसलाई व्यवस्थित, विकसित र चेतनशील भएको भन्छौँ, तर यो मूलतः कलामय बन्दाखेरी यसले हामीलाई विकसित भएको अनुभूति दिन्छ । मेरो सानो अनुभवमा पनि तीन सय वर्षदेखि वास्तुकलाका कुनै पनि विशेषता र स्वरूपलाई जस्ताकै तस्तै नीतिगत रूपमा मात्र संरक्षण गरिराख्दा आज रसियाको पिटर्सबर्ग कलाको सिंगो म्युजियम लाग्छ । तीन सय वर्ष अगाडिको वास्तुकलाको शैली, रङ र मिहीनताका साथ कुँदिएका लोभलाग्दा बुट्टा, एकनासे स–सानो उचाइ भएको महल र दरबारजस्ता देखिने घर अहिले विश्वभरिका पर्यटकका लागि आकर्षकको केन्द्र बनेको छ । बंगलादेशजस्तो विकासोन्मुख राष्ट्रमा समेत सहरका ठुल्ठूला महल र घर बनाउँदा ठूला अजंगका मूर्ति भित्र वा बाहिर कहाँ राखिने हो सुरुमै योजना बनाइन्छ । कुरा कलालाई दिइने प्रोत्साहन होइन, घर एउटा कलामा परिणत हुँदा राष्ट्रको सामाजिक र आर्थिक, धेरै हदसम्म धार्मिक आस्था र इतिहासलाई जोगाइराखेको प्रमाण बन्छ हरेक क्षेत्रमा कलालाई समायोजित गर्ने यो सोचले गर्दा बंगलादेशका कला विश्वमै गुणस्तरको रूपमा हिजोआज बढी चर्चामा आउन थालेको छ ।
सामुदायिक कला
सामुदायिक कला अहिले विश्वभरि चलेको र प्रचलनमा रहेको भिजुअल आर्टको नयाँ स्वरूप हो । सामान्य अभिव्यञ्जनाबाट कलाकारहरू माथि उक्लँदा नयाँ कलाको स्वरूपमा सामुदायिक कला देखापरेको हो । सम्भवतः सामुदायिक कलामा इन्स्टलेसन वा पर्फमेन्सको वा मानवको सामान्य गतिविधि समावेश हुन सक्ने विशेषता छ । सामुदायिक कला आफूलाई लागेको कुरा व्यक्त गर्ने एउटा गतिलो कलात्मक माध्यम हो । यसर्थ सदियौँदेखि चलिरहेको कुनै पनि सामाजिक मुद्दा वा राजनीतिक सवाललाई यसले केन्द्रमा राख्यो । आफ्ना व्यक्तिगत अभिव्यञ्जनाभन्दा माथि उठेर समुदायको आवाज मुखरित गर्ने सम्भवतः यसको लक्ष्य पनि रह्यो । नेपालका कलाका केही समूहबाट अहिले यो कलाको स्वरूपलाई अँगाली नौलो ढंगबाट अगाडि बढ्ने क्रम बढेर गएको छ । आर्टुडियो नामक एक कलाको समूहले अहिले बालबालिका र समुदायसँग हातेमालो गर्दै कोल्याबोरेटिभ कलाको रूपमा सामुदायिक कलाको कार्यक्रम गरेको छ ।
दशकौँदेखि सामान्य बालबालिकालाई कलाका सामग्री लगिदिने, कला बनाउन प्रोत्साहन गरिदिने आदि अति सामान्य कलाको गतिविधिबाट बढेर आजको दिनमा कलाको एक अलग्गै फर्मको विकास भएको छ । यस प्रकार दोलखाको गौरिमुदी गाउँमा बाल–बालिका र समुदाय नै कलामा जागरुक भएको कैलाश बताउँछन् । फलस्वरूप अहिले पछिल्लो कालमा आएर यही गाउँमा दोलखा–एल्बम नाम राखेर सामुदायिक कलाको विधिवत विजारोपण भयो । काठमाडौंबाट विभिन्न विधाका कलाकार (सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र महर्जन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित)लाई गाउँमै लगी यो कार्यक्रमको सुरुआत भएको थियो । रेसिडेन्सियल स्वरूपमा भएको यो कार्यक्रममा गाउँभरिका आम समुदायसँग छलफल र बहस अनवरत रूपमा गर्ने यो कार्यक्रमको मूल विशेषता थियो । यसैबीच कलाका नयाँ प्रविधि र स्वरूपलाई पनि आम समुदायमा सञ्चारित गरिदिने काम पनि हुँदा विकास र कलालाई कसरी समायोजन गर्न सकिँदो रहेछ भन्ने आम समुदायले पनि महसुस गरे ।
आ–आफ्नै ढंगले छलफल गर्दा परोक्ष रूपमा कुनै न कुनै गाउँको सामाजिक, राजनीतिक सवाल र मुद्दाहरूमा पनि कुराकानी हुने भएकाले प्रक्रियामा रहेको यो छलफल आफैँमा पनि सार्थक रह्यो । मूलतः यो कलाको प्रकृतिले ‘प्रडक्ट’भन्दा ‘प्रोसेस’मा बढी विश्वास गर्छ । अन्तमा काठमाडौंबाट आएका कलाकारबाट घतलाग्दा कलाको निर्माण र प्रदर्शन पनि भयो । कसैले स्थानीय स्तरमा उपलब्ध कलाका सामग्रीबाट ‘सोसाइटी स्ट्रक्चर जंक आर्ट’को रूपमा बनाए । कसैले गाउँकै समुदायको भिडियो खिचेर भिडियो आर्ट बनाए । धामी, झाँक्रीको संगीत कला बन्न गयो कतै । बाँस प्रयोग गरेर गाउँका महिलाको प्रोट्रेट बनाए कसैले । कलाका अचम्म अचम्मका रूप बने । रमाइलो मेला जस्तो भएको कार्यक्रममा बग्रेल्ती समुदायको उपस्थिति भएको थियो । सम्पूर्ण गाउँवासीको संलग्नतामा भएको यो कार्यक्रममा गाउँवासीले पनि अपनत्व बोध गरेको महसुस, कलाकारलाई छ । सम्भवतः सामुदायिक कलाको मूल उद्देश्य पनि योभन्दा पर छैन । यो आफैँमा, नौलो, घतलाग्दो र समसामयिकताभन्दा पर गएको देखिएको थिएन ।
समुदायले कलालाई रामरी बुझ्दानबुझ्दै पनि गाउँभरिका आममान्छे संलग्न हुनु, अचम्म लाग्ने इन्स्टलेसनका काम हेर्नु, आफैँ पनि यसैमा संलग्न हुनु सर्वसाधारणलाई अचम्म लागे पनि बालबालिका योे कार्यक्रममा झुम्मिनुलाई आम समुदायले यसलाई सहजै ग्रहण गरेको देखिन्छ । कलाकार कैलाश श्रेष्ठ ‘आर्टुडियो’का अगुवा हुन् । यो समूहमा अन्य कलाकारमा कृषा ताम्राकार, पवन जोशी, कर्म छिरिङ आदि छन् । कैलाश अति राम्रो यथार्थवादी व्यक्ति चित्रमा माहिर छन् । क्यानभासभरि सूक्ष्मरेखा र रङ खेलाउँदै व्यक्तिचित्रलाई गतिलो र समसामयिक मुद्दालाई चोटिलो प्रहार गर्न उनी खप्पिस मानिन्छन् । फोटोग्राफीमा पनि उनको दख्खल दरिलो छ । नेपालको उत्तरआधुनिक कलाको यो नयाँ प्रवृत्तिमा उनी सचेत र जागरुक छन् । सामुदायिक कला पनि यही उत्तरआधुनिक कलाको नयाँ स्वरूप हो ।
विश्वमै सामुदायिक कलाको उदय ईश्वी संवत १९६० को दशकको अन्ततिर भयो । यसको केन्द्रबिन्दु अमेरिका र युरोपमा रह्यो । यो कलालाई डायलजिकल कला र कन्टेम्पोररी आर्ट प्रोजेक्टका रूपमा पनि हेरिन्छ । मूलतः सामुदायिक विकासको नौलो अवधारणासँग नजिक रहेको यो कला समुदायमै गएर, उनीहरूलाई नै संलग्न गराएर उनीहरूकै चाहना, सवाल र मुद्दालाई केन्द्रमा राखेर यस्ता कलाको निर्माण गरिन्छन् । सामुदायिक विकासमा जसरी पिपल बेस्ड डेभलप्मेन्ट, बटम एप्रोच, सोसियल अडिटिङ, इन्डिजनस एप्रोच, सहभागितामूलक प्रक्रिया आदि अवधारण आयो । यी कुरालाई नै मूलतः समुदायिक कलाले अवलम्बन गरेको देखिन्छ । विकासको यो नयाँ अवधारणा र टुल–टेक्निकले जसलाई विकास चाहिएको हो, उनैलाई केन्द्रमा राखेर सामुदायिक विकासका अवधारणा बढेपछि कलामा पनि यो प्रकारको प्रयोग भएको हो । विकासे कार्यकर्ताजस्तै कति ठाउँमा कलाकार पनि मात्र एक सहजकर्ताको रूपमा देखिन्छन् । कलाको अभ्यासमा नलागेका, कलाका एबिसी नजानेका आम समुदाय आफ्नै कुरा अभिव्यक्त गर्न विज्ञ कलाकारसँग मिलेर कोल्याबोरेटिभ रूपमा काम गरिरहेका हुन्छन् । यसलाई ग्रासरुट एप्रोचको रूपमा पनि हेरिन्छ । मूलतः आर्थिक रूपमा अति पिछडिएका, हेपिएका, समाजबाट बहिष्कृत भएका आम समुदाय नै यसका मूल पात्र हुने गर्छन् । यो समुदायसँग अन्तक्र्रिया र वादविवाद गर्दै अगाडि बढ्ने हुँदा यसलाई इन्ट¥याक्टिभ आर्ट पनि भन्ने चलन छ ।
परम्परागत चित्रमाथि नवआधुनिक कला
नेपालमा कलाकारका विभिन्न साना–ठूला समूह बनेका छन् । मिलेर आफ्ना कला प्रदर्शन गर्ने यस्तो परम्परा सम्भवतः सन् १९७१ मा स्किबको जन्म भएपछि गतिलो रूपमा अगाडि बढ्यो । आजका जल्दाबल्दा समसामयिक कलाकार शशिविक्रम शाह, कृष्ण मानन्धर, वत्सगोपाल वैद्य र इन्द्र प्रधान नै मुख्य पात्र हुन् । यसपछि अनेक आरोह–अवरोहबीच किसिम–किसिमका यस्ता समूह बने पनि यता पछिल्लोकालमा आएर ‘पेगोडा समूह’ नामक यस्तै प्रकारको कलाकार समूह बनेको छ । जसको लक्ष्य, उद्देश्य र गर्ने गरेको क्रियाकलाप पृथक् छ । नेपालको परम्परागत मौलिक चित्रकला पौभाका मूल विशेषता, संस्कृति र संस्कारलाई अवलम्बन गर्नेदेखि यसले नेपाली कलाका मूल विशेषतालाई दोस्रो तहमा पु¥याई यसैलाई समसामयिक कलाको मूल मोटिभका रूपमा प्रयोग गर्ने प्रयासको थालनी यो समूहले गरेको छ । यस समूहमा आबद्ध, रोशन प्रधान, मंगल सूत्र, प्रद्युम्न श्रेष्ठ, रुद्रबहादुर पुन, माला श्रेष्ठ आदि कलाकार अति सूक्ष्म तरिकाले नेपाली परम्परागत चित्र बनाउँछन् र आजको सामाजिक मुद्दालाई विषय बनाएर आफ्ना अवधारणालाई पस्कन्छन् । यो एउटा नेपाली परम्परागत कला र विश्वमा चलिरहेको ‘कन्सेप्चुअल’ कलालाई फ्युजन गराई कला बनाउने यो समूहको कार्यक्रम यसर्थ पनि अलग्गै देखिन्छन् । मूलतः यी सबै कलाकार समसामयिक कलाकार नै हुन् । हुन त यस्तै एप्रोच लिएर शंकर श्रेष्ठ, मुकेश श्रेष्ठ, आङ छिरिङ शेर्पाले पनि यस्तै काम गरिरहेका छन् । यो समूहको अर्को विशेषता भनेको नवयुवा पुस्तालाई पनि यसरी नै सिकाउने काम गर्छन् र रियालिस्टिक वा सुपर रियालिस्टिक काम गर्न पारंगत बनाउँछन् । शिल्प दक्षतामा कुशल बनेपछि नेपाली परम्परागत कलालाई आजको कलासँग कसरी जोडेर कलाको सिर्जना गर्ने भन्नेतर्फ उन्मुख गराउँछन् ।
दृश्यचित्रको पुनर्आगमन
नेपालको चित्रकलामा सम्भवतः १७औँ, १८औँ शताब्दीतिरबाट दृश्यचित्रको अवधारणाले प्रवेश ग¥यो । नेपाली परम्परागत चित्रकलामा पहिलेदेखि नै पृष्ठभूमिमा कलाकारलाई बुट्टा बनाउने र आफ्नै ढंगले अन्य वस्तु, बादल, रूखपात आदि बनाउन छुट थियो । केही हदसम्म रङको छनोट गर्न पनि छुट थियो । तथापि स्पष्ट रूपमा नेपाली कलामा मुगल र राजस्थानी कलाको प्रभाव औधि बढेर आएपछि ती कलामा प्रयोग हुने विशेष गरेर संयोजनमा नेपाली कलाको परिवर्तित रूप देखिन्छ । यस बेलाको नेपाली परम्परागत चित्रमा क्लासिकल दृश्यचित्रले भरिएको देखिन्थे । तथापि यसमा प्रशस्त रूपमा कल्पनाले भरिएको दुरत्वको खासै ख्याल नगरिएका चित्र हुने गर्थे ।
नेपालमा प्रभाववादी जलरंगी दृश्यचित्रको विधिवत थालनी भएको सन् १९६४ पछि देखिन्छ । जब कलाकार रामानन्द जोशी भारतको जेजे स्कुल अफ आर्टमा विधिवत पढेर फर्केपछि उनले नेपालका गाउँघर डुली जलरंगी प्रभाववादी दृश्यचित्र प्रशस्त मात्रममा बनाएको देखिन्छ । पछि उनले पार्क ग्यालरी खोले । धेरै कलाकारलाई यसै विषयमा तालिम पनि दिए । यस विषयमा प्रतियोगिता पनि गराए । यसले नेपाली समसामयिक कलाको इतिहासमा एक अलग्गै माहोल खडा गर्यो । आज हजारौँ नेपाली कलाकारले यस्ता कला बनाउँछन् । अहिले आएर कुनै पनि जस्तोसुकै शैली र प्रवृत्ति अपनाएका कलाकारले पनि एकपल्ट त यस्ता प्रभाववादी दृश्यचित्र अवश्य बनाएका हुन्छन् । कसैले यसलाई व्यावसायिक रूपमा पनि लगे भने कुनै कलाकार यो शैलीलाई छाडेर अन्यन्त्र पनि लागे । अहिले धेरै वर्षपछि पुनः यो नयाँ ढंगबाट नयाँ–नयाँ कार्यक्रमका साथ देखापर्न थालेको छ । जलरंगको पुनर्थालनी पुनव्र्याख्या र आम भावकसँग जोडिने उपक्रम गरिरहेका ‘अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी सय घन्टे कला डेमोन्ट्रेसन अहिले हुने क्रममा छ । यसका अगुवा एनबी गुरुङ हुन् । सम्भवतः सबै कलाकारले घरमै बसीबसी जलरंगमा प्रभाववादी दृश्यचित्र नै बनाउँछन् । आम भावकले पनि यसलाई घरमै यस्ता कलाको बसीबसी रसास्वादन गरिरहेको हुन्छ । भर्चुअल कला प्रदर्शनी, भर्चुअल कलाका बहस र कुराकानी अहिले नियमितजस्तै भइसकेको छ । भर्चुअल कला कार्यशाला पनि हुन थालेको पुरानै भइसक्यो ।
(लेखक कलाकार र कला समीक्षक हुन् ।)
प्रकाशित: २२ कार्तिक २०७७ ०४:५६ शनिबार