२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

समवेदनाको खेती

कथा

 दिप निरीह

 

आजको नेपाली समाजलाई महत्वकांक्षा र देखासिकीले आक्रान्त पारेको छ, त्यहाँ न त मायाको कदर छ, न त भावनाको महत्व छ ।

सुन्नु न, छोरो सारै बिग्रेला जस्तो छ, पढाइमा पटक्कै ध्यान दिदैन, जतिखेर पनि खेल्न मात्रै , चकचक पनि उस्तै, के पो गर्नु होला ? यसलाई होस्टेल लगाइदिनुपर्ला । कि शुसिलाले आफ्नो पतिलाइ सुनाइन । भनन छोराले गर्दा टिभी सिरियल र फेसबुकका लागि समय भएन । तपाई त खाली उल्टै सोच्नुहुन्छ । तपाईं अफिसमा एकलगको काम गर्नुहुन्छ, तपाईं यहाँ घरको काम गर्नु न अनि थाहा हुन्छ, तपाईं ८ घण्टा काम गर्नुहुन्छ , हामी यहाँ १६ घण्टा काम गर्नुपर्छ, तपाइको सुसार, छोराको सुसार, सासू ससुराको सुसार, घर्को काम, के हामीचाहिँ मान्छे होइन ? त्योभन्दा पनि छोरो बिग्रेला भनेर नि ।  मेरो साथीको छोरा पनि त्यस्तै भएर होटल लगाइदिएको रे । ऐले त निकै सुध्रेको छ रे । ए कुरा  त्यसो  हो । तिमेर आइमाईहरू अरूले जे गर्‍यो देखाशेखी त्यस्तै गरिहाल्नुपर्ने ।

आइमाईको जिद्धीसँग कुनचाहिँ  लोग्नेमान्छेले जितेको थियो र शुसिलाको पतिदेव रमेशले पनि अन्तत हात उठायो ।  आज छोरालाई होस्टल लाने दिन।  छोरो रोएर तमास थियो ।  मामु, म होस्टल नजाने ।  यहीं घरमा बाबामामुसँगै बस्ने ।  बाबा अबदेखि म भिडियो गेम पनि खेल्दिन, घरमा सधै पढ्छु ।  हजुर आमासँगै । म होस्टेल नजाने ।  त्यहाँ  सरहरूले कुट्छन । हेर छोरा, नानीहरूलाई  घरदेखि टाढा राख्नु हुन्न, आफ्नै साथमा , आफ्नै काखमा राख्नुपर्छ, पछि घर परिवारको माया हुँदैन , बिरानो भएर जान्छन्  नानीहरू घरबाट टाढा बसेर पढेका केटाकेटीहरू ले किताबको ज्ञान त राम्रो पाउलान्  तर घरमा सिक्ने संस्कारहरू ,सामाजिक नियम र आफ्नो संस्कृतिहरूबाट अनजान हुन्छ । आफन्तको महत्व बुझ्दैन ।  नातिलाई आफ्नै आँखैअघि आफ्नै रेखदेखमा राख बाबू । बाजेले नातिको पक्ष लिदै छोरालाई सम्झाउन खोजे ।

बुवा त्यस्तो हैन ।  जमना बदलिएको छ ।  यिनी अरूले ऐले देखि नै आत्मनिर्भर भएर उभिन सिक्नुपर्छ , सधै हाम्रो काख्मा बस्यो भने यसले ऐलेको संसारलाई चिन्नु सक्दैन। संसारलाई बुझ्न हाम्रो चौघेराबाट निस्किनै पर्छ यसले ।  छोराको विलाप र बाजेको अर्तिको कुनै अर्थ भएन, अन्तत नातिलाई होस्टेल लगियो ।   उसले नजान निकै बलजफ्ती गर्‍यो तर एउटा बालक्को मर्म बुझ्ने कोही भएन । ऊ गयो । आँखाभरि आमाबाबुको , बाजेबजूको माया आँसुमा पिरोलेर घरको याद साथीहरूको , सम्झनालाई छातीभरि सम्हालेर। साथीहरू बिदाई गर्न आएका थिए, आफूहरूलाई नबिर्सने बाचाबन्धनहरू साटासाट गरेर बिदा दिए आफ्ना बालसखालाई ।

जानेबेलामा ऊ बाजेलाई निकैबेर अंगालो मारेर रोइरह्यो , निशब्द । बाजे पनि निशब्द थिए, उसलाई अर्ति र  ढाडस दिन चाहन्थे तर ओठहरूले साथ दिरहेका थिएनन् । अन्तत  नातिको कपाल सुम्सुम्याइरहे, । बजू उता कोठामा गम्छाले मुख छोपेर रोइरहेकी थिइन, नातिलाई बिदा गर्ने उनमा हिम्मत थिएन साएद ।  राजु ल हिँड ट्याक्सी आयो । बाउले भन्नेबित्तिकै यसपालि ऊ खुरुक्क हिड्यो, कुनै प्रतिरोध गरेन तर उसको आखाँमा एउटा दृढ्ता थियो, शून्यता थियो ।

केही पर पुगेर उसले बाजेलाई फर्केर हेर्यो , अनि बाइ गर्यो ।  बाजेको मुटु कटक्क काटेर आयो, उसको बुढेसकालको साथी आज ऊबाट टाढा जाँदै थियो ।  अनायसै बाजेका आँसुहरूले परेलीसँग बगावत गरे र अघिदेखि थुनिएर राखेको आँसुको भेल आँखाबाट बाहिर निस्केर तँछाडमछाड गरेर बग्न थाले । आँसुले विक्षिप्त नयनले नाति गएको हेरिरहे, हेरिरहे  ।निकै परसम्म ।

शुसिला मक्ख  थिइन्, छोरालाई बोडर्स राख्न सकेकोमा ।  उसको मनमा यो खुशी आँटिरहेको थिएन । अत उसले उसको साथीहरूलाई सुनाउन थाली । बुझ्यौ अनिता, मैले पनि छोरालाई बोडर्स गराए नि ?  तिमी आफ्नो छोरालाई बोडर्स राख्दिनौ ।

ए हो र । म त न राख्ने , एउटा भाको छोरालाई पनि के टाढा पठाउनु, म त आफैसग राखेर पढाउने । ऐले त नानीहरूलाई  बोडर्स राख्नुपर्छ नि  अनि पो सोसाइटीमा आफ्नो इज्जत हुन्छ ।

आआफ्नो सोचाइ हो तर मलाई त सोसाइटिको इज्जतभन्दा आफ्नो छोरो प्यारो छ ।

लल तिमीसँग त कुरा गर्नै बेकार छ । अनितासग कुरा नमिलेपछि शुसिला अर्को साथीलाई फोन गर्न थाली ।

आज छोरो बिदामा  घर आएको छ होस्टलबाट , आमा दङ्ग छे । सुन्नुभयो – छोरो त कति ज्ञानी भएछ । बाहिर खेल्न पनि गाको छैन । साथीहरूसँग मात्र फोनमा कुरा गरिराख्छ, चिया पनि आफै बनाएर खायो । शुसिलाले लोग्नेलाई मक्ख परेर सुनाउन थाली । हो तर ऊ एकाङ्की भए जस्तो लाग्यो मलाई । कही हामीले छोरालाई   हामीदेखि टाढा राखेर गल्ती त गरेनौं ।

यस्तो केही होइन । नयाँ ठाउँमा भएर हो ?  

– कठै मेरो नाति, ११ बजे भने नातिमा आएको परिवर्तनले चिन्तित देखिन्थे ।

पृथ्वीले सूर्यको निकै चक्कर लगाइसकेको थियो । रुखहरूले धेरै पटक पाउलाहरू  फेरिसक्यो । छोरो डाक्टर भयो , सँगै पढेको साथी डक्टरसँग लव म्यारिज गर्‍यो ।  छोराबुहारी नै डाक्टर आमाबाबु मक्ख थिए छोराको सफलतामा तर आमाको मन कताकता शून्य लाग्न थालेको थियो , खालीखाली जस्तो भान हुन लागेको थियो । शुसिला सधैं छोराको बाटो हेर्थिन , उसको एक झलक पाउनका लागि तर छोरा काममा व्यस्त थियो । बेलुका ढिलो आउथ्यो, बिहान सबेरै जान्थ्यो । घरमा बूढाबूढी मात्र ।

एक दिन बाटामा शुसिलाले, अनितालाई भेटिन, दुवै सखी एकछिन बाटामै गफिए । अन्तत शुसिला हिडन ,मेरो घर बसेर गफ गरौ, यी यही त हो मेरो घर, अनिताले छेवैको सानो तर चिटिक्कको घर्तिर इसारा गरिन् । दुवै गए अनिताको घरमा ।

घर छिर्नेबित्तिकै एउटा सानो भकुल्टे नानी ,हजुरआमा भन्दै अनितासँग  लुटपुटिन आइपुग्यो । यो मेरो नाति संयोग हजुरामालाई ढोग गर शुसिलालाई देखाउँदै हजुरआमा ढोग गरें ।  लल ठूलो हुनू आमा ढोग गरें ।  यिनी मेरी बुहारी । छोरा अफिस गाको छ, सानोतिनो व्यापार गर्छ । यस्तै छ, मेरो सानो घर मन्दिर, अनि तिम्रो सुनाउन, तिम्रोत छोराले ठूलो बङ्गला बनाको छ रे भन्ने सुनेको थिए, तिमी त सारै भाग्यमानी ।  शुसिलाको मन कटक्क खायो, भाग्यमानी शब्दले । उसलाई भने अनिता कति भाग्यमानी लागिरहेको थियो, कहाँ उसको यो हराभरा घर अनि कहाँ उसको त्यो सुनसान बङ्गला, उसलाई असह्य भयो अनि ढिलो भएको बहाना बनाएर ऊ त्यहाँबाट निस्की ।

समय घस्रिन्दै गयो । यसरी नै आफ्नो चक्रमा अनि साथ साथै शुसिला र रमेशलाई पनि वृद्धावस्थाले निकै गलाइसकेको थियो  अनि एकदिन मौका मिलेको बेला उसले छोरालाई भनिन्, ‘ बाबू ,अब त हामी निकै असक्त भैसक्यौ ।  येसो हेरविचार गर्ने । तातोचिसो दिने पनि कोही छैन । बुहारीलाई त काम मा नपठाए हुन्थ्यो ।  आमा, मैले बुझेको छु, हजुरहरूलाई सकस भैरहेको छ, म कर्तव्यविमुख भएको छुइन, म केही गर्छु। देख्नुभयो हाम्रो छोरो कति ज्ञानी छ ।

अनि एकदिन  आमा ,बाबा, आजदेखि हजुरहरू यहाँ बस्ने है ।  ऐलेको अति आधुनिक र सुविधा सम्पन्न वृद्धाश्रम यहाँ घरमा भन्दा धेरै राम्रो हेरचाह हुन्छ। वृद्धाश्रम देखाउँदै उसले भन्यो। हामी समय मिलाएर भेट्न आइराख्छौ नि । आमा स्तब्ध अनि मौन  नुनिलो आँखाले हेरिरहिन छोराबुहारी निस्किएको वृद्धाश्रमको  ढोकालाई  रमेश फिस्स हास्यो ।  फुस्रो हाँसो, भावहीन  मानसपटलमा घुमिरह्यो विगतको त्यो पल । छोरो रुदै थियो । विलौना गर्दै थियो । बाबा म होस्टल नजाने ।म हजुरहरूसँगै बस्ने ।

प्रकाशित: २ आश्विन २०७७ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App