२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

कोरोनाकालका पाँच लघुकथा

डा.पुष्करराज भट्ट

 

(१)आफ्नै माटो प्यारो

 

‘अब त बूढो पनि भइयो । पहिलेजस्तो बल पनि रहेन । भएको खेत पनि बाँझै रहने भयो ।’ बूढा गुञ्जमान आँगनमा बसेर आफ्नो पीडा पोख्दै थिए ।

‘गाउँका सब जवान मान्छे घर आइरहेका छन् । कहिल्यै घर नआउने पनि घर आइरहेका छन् । हिजो कमल भेटिएको थियो, हाम्रा छोराबुहारी पनि आउँदै छन् रे ।’ उनकी श्रीमती सुनमायाले खुशी हुँदै भनिन् ।

‘त्यसो भए नातिनातिना पनि आउने होलान् । ल राम्रै भयो । वर्षौंपछि सारा परिवार एकसाथ हुने भइयो ।’ गुञ्जमान पनि खुशी देखिए ।

दुई दिनपछि  सुनिल श्रीमती र आफ्ना लालाबालासहित टुप्लुक्क आइपुग्यो ।

‘लौलौ घर आएछौ, राम्रै भयो । रोगले जतातता मानिस मरिरहेका छन् । आफ्नै घरआँगनमा पुग्यौ, ठीकै भयो ।’ उनीहरूलाई गुन्जमानले स्वागत गरे ।

उनीहरू केही दिन क्वारेन्टिनमा बसेपछि घर फर्किए । 

मानिस जता गए पनि आखिर चाहिने त आफ्नै घर रहेछ । यतिका वर्ष अर्काका देश बस्दा घरको कुनै मतलबै थिएन । पैसा आएकै थियो । श्रीमती र बालबच्चा पालिएकै थियो । अहिले त तिमीहरूलाई पाल्न सक्दैनौं भन्यो । काम पनि ठप्प भयो अनि हामी त घर आयौं ।’ छोराले आफ्नो पीडा सुनायो ।

‘त्यतिखेर तिम्रो बुवाले यतै बस्ने भन्नुभएकै हो । अब हामी पनि बूढा भयौं । भएको जग्गाजमीन पनि हेर्ने मानिस पाइँदैन । गाउँमा भएका जवान मानिस देश छोडेर गएपछि कसले गर्छ काम ।’ आमाले छोरासँग भनिन् ।

‘हो आमा , उतिबेला पैसाका लोभले उता लागियो । अर्काको देशमा जति हड्डी घोटे पनि तिनले कहिल्यै राम्रो बोल्ने हैनन् । उमेर छँदा काममा लगाउँछ । कुनै अप्ठ्यारो परयो भने बेइज्जत गरेर निकाल्छन् ।  आखिरमा आफ्नै माटो प्यारो हुन्छ ।’ छोराको कुरा सुनेर गुञ्जमान र सुनमायाका आँखामा आँसु आयो ।

यी आँसु कति मूल्यवान् छन्, ती दुवैलाई बल्ल राम्ररी थाहा थियो ।

 

 

 

(२) तिजको रहर

 

तिजआउनुभन्दा एक महिनादेखि त्यसको तयारीमा रहन्थिन् शर्मिला । यसपालि पनि उनमा कुनै उत्साह देखिँदैनथ्यो ।

“हैन, तिमीलाई आजभोलि के भएको छ ?” एकदिन उनका श्रीमान किरणले सोधिहाले ।

“मलाई के भएको छ र ? ठिकै त छु ।” शर्मिलाले सहज हिसाबले उत्तर दिइन् ।  

“पहिले पहिले त एक महिना अघिदेखि तिजको तयारीमा हुन्थ्यौ तर यसपालि ।” श्रीमानले जिज्ञासा राखे ।

“पहिले सामान्य अवस्था थियो अहिले असमान्य । मानिसले परिस्थिति हेरेर चल्छुपर्छ ।” शर्मिला गम्भीर बनिन् ।

उनीहरू बिचको सम्वाद यतिमै सीमित भयो । तिजको एकदुई दिनअघि शर्मिलाका साथीहरुको फोन आउनथाल्यो । उनले यसपालि आफू तिजमा सहभागी नहुने कुरा गरिन् ।

“आ, जोसुकैले जे गरोस्, म त तिजमा भाग लिने ।”– एक नारी स्वर ।

“म पनि ।”–अर्को नारी स्वर ।    

“म पनि ।”–झन् अर्को नारी स्वर ।

रहर ठूलो बन्यो, परिस्थिति गौण बन्यो ।

तिजमा ठूलै चहलपहल थियो, नाचगान, पार्टी अनि धुमधडाका थियो ।

“त्यो शर्मिला हेर न ।  कति ठूली भएकी, तिजमा नआउने ।”

“त्यही त भनेको । बिचरीसँग देखाउनलायक कपडा अनि गहना नहोलान्  । त्यसको बूढो पनि निन्याउरो भएर हिँडछ, व्यापारमा टाट पल्टियो, के हो ?”

“हाहाहा । कस्ती कन्जुस, मक्खीचुस रैछे ।” कुरा काट्ने क्रम जारी थियो ।

एकदिन शर्मिला सामाजिक सञ्जालमा थिइन् । एउटा खबरले उनलाई तान्यो । त्यसमा लेखिएको थियो, “अहिलेको महामारीबाट म पनि बच्न सकिनँ । मसँग सम्पर्कमा रहेका साथीहरूले कोरोना जाँच गराउनु होला ।” यो सन्देश उनकै एक तिजप्रेमी साथीको थियो ।  

त्यतिबेला उनले प्रष्ट सुनिन्, पल्लो कोठामा उनकी छोरी गीत गुनगुनाइरहेकीथिइन्, “रहर मात्र होइन जीवन।”

 

 

(३) हाम्रो मान्छे

 

केही मानिस थुनिएका थिए । कोरोनाका कारण बिरामीको मृत्युपछि केही मानिसले अस्पतालमा गएर स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । मानिस थुनिएको केही समय भएको थिएन, प्रहरी चौकीमा विभिन्न पार्टीका नेता एवं सामाजिक संगठनका मानिस जम्मा भए  

“फलानो त हाम्रो पार्टीको मानिस हो । त्यसलाई छोडिदिनुपरयो।” एक बोल्यो ।

“फलानो हाम्रो पार्टीको मानिस हो हजुर । त्यसलाई छोडिदिनुपरयो ।” दोस्रो बोल्यो ।

“फलानो त हाम्रो जातीय संगठनको मानिस हो हजुर ? यो राज्यले हामीमाथि त्यसै पनि दमन गर्दछ । त्यसलाई छोडिदिनुपरयो नत्र हामी यो सरकारविरुद्ध आगो बाल्छौं ।” तेस्रो  बोल्यो ।

“हाम्रो मान्छेचाहिँ सोझै हो । हुलुमुलमा परेछ ।” चौथो बोल्यो ।

हुलमुलका कुरा सुनेपछि प्रहरी इन्चार्जको दिमाग तात्यो । उसले त्यहाँ भएका सबलाई तोडफोडको भिडियो देखाउँदै भन्यो, “यी हुर्नुहोस् तपाईँहरूका सोझा मानिसहरू ।”

सो दृश्यमा कोही डाक्टरलाई पिटिरहेको, कोही नर्सको कपडा लुछन लागेका अनि कोही अस्पतालमा भएका सामान तोडफोड गरिरहेका थिए ।  

“यो देशको कानुन बनाउने नेताजीहरू , के कानुन तपाईँका मानिसका लागि एक र अर्काका लागि अर्को हुन्छ ?” इन्चार्जले सोध्यो ।

“हुन त हुँदैन, तर डाक्टरको लापरवाहीले हाम्रो मानिसको ज्यान गएको छ ।” एक जनाले  भन्यो ।  

“डाक्टरको लापरवाही हो भने कारवाही गर्ने निकाय पनि होला त । अस्पतालमा तोडफोड गर्नै पर्ने किन ?” चौकी इन्चार्ज कस्सिए ।

“तोडफोड राम्रो कुरा हैन तर हाम्रा मानिस ।” एउटाले मुख खोल्यो ।

“तपाईँहरू यहाँबाट जानुहुन्छ कि थुनिदिउँ ? ” यो आवाजसँगै त्यहाँ भएका सब मानिस अलप भए ।

केही दिनपछि स्थानीय अखबारमा प्रहरी ईन्चार्जलाई कार्यसम्पादनमा लापरवाहीको आरोप सहित जिल्ला प्रहरी कार्यालयमा झिकाएको समाचार छापिएको थियो ।  

 

 

      (४) कृतज्ञता

 

बिहानपख घरमा बसेर पुस्तक पढिरहेको थिएँ । ढोकाबाहिरबाट कसैले कराएको सुनियो  “साहेब, ओ साहेब ।”

म ढोकामा आएर हेर्छु त सुरुमा घर बनाउने मिस्त्री पो रहेछ । मलाई देख्नेबित्तिकै उसले अभिवादन गरयो ।

“के खबर छ मेवाराम , आजभोलि के काम चल्दैछ ?” मैले उसको हालखबर सोधेँ ।

“के खबर हुनु हजुर ? सब काम ठप्प भइहाल्यो । काम गरेको ठाउँमा पनि पैसा दिँदैन । कोरोनापछि मात्र दिने भन्छ । खानका लागि पनि पैसा छैन । घर जान्थेँ हजुर । घर जाने पैसा पनि  छैन ।”

“घर जान कति पैसा लाग्छ ?” मैले सोधेँ ।

“एक हजार भारु लाग्छ ।” उसले भन्यो ।

मैले उसलाई दुई हजार नेपाली दिएर भनेँ, “लौ यो लेऊ । यतिले तिमीलाई पुग्छ होला ।”

“हजुरको जय होस् ।” यति भन्दै ऊ रुपियाँ लिएर गयो ।

केही दिनपछि मलाई फोन आयो । फोन गर्ने मेवाराम थियो ।  

“हजुर म घर पुगिसकेँ । हजुरको आशीर्वादले मलाई आफ्नो घरपरिवारसँग भेट गरायो ।”

एकैछिनमा उसले आफ्नी आमासँग मेरो कुरा गरायो । उसकी आमाले रुँदै मेरो छोरालाई विपत्तिबाट पार गराएर परिवारसँग मेल गराइदिनुभयो । एउटी बूढी आमाको आशिक लागोस् भनिन् ।

मलाई लाग्यो, संसारमा कृतघ्न मानिस मात्र छैनन् ।

 

(५) समाचार

 

दुई जना ठूला पत्रकार सम्पादन कक्षमा बसेर समाचार हेर्दै थिए । उनीहरू विभिन्न जिल्लाबाट आएका समाचारलाई हेरिरहेका थिए ।  “पहिला विभिन्न किसिमका समाचार आउँथे, अहिले त कोरोनाबाहेक समाचार नै आउँदैन् ।”  

“त्यही त भनेको, अब संसारमा कोरोनाबाहेक अरू केही छैन के हो ?”

उनीहरू बिचमा सम्वाद चलिरहेको थियो ।  उनीहरू समाचार हेर्दै कुरा पनि गरिरहेका थिए, केही समाचार यस्ता थिए –

“आफ्नो कार्य क्षेत्रमा रहेका प्रहरीमा कोरोना, ५० जना संक्रमित ।”

“कोरोनाले स्वास्थ्यकर्मीलाई पनि छोडेन । एकै अस्पतालका चार जना स्वास्थ्यकर्मी संक्रमित ।”

“समाचार बनाउन हिँडेका पत्रकार कोरोनाको फेलामा ।”

“राहत बाँड्न हिँडेको टोलीका पाँच जना संक्रमित ।”

“ओहो, अब त कोही पनि बाँकी नरहने भए । यसरी महामारीको चपेटामा सबै जना पर्न थालेपछि हामी पनि के हो, के हो ?”  

“अब मानिस महामारीमा पर्नु अनि संसार छोडनु एक समाचारभन्दा बढी केही रहेन । मृत्यु सस्तो भइसक्यो । मानिस अब समाचार पढेर एकछिन ‘ए’ भन्नेछन् । अब मानिसको सम्वेदना हरायो । आँसु सुकिसक्यो । मानिस आफ्ना आफन्त गुमाउँदा चिच्याउनेछन्, अरूका समाचार पढेर एकछिन ‘ए’ भन्नेछन् । एक पत्रकारले भन्यो ।

“हो, यो त्रासद समयको अन्त्य कहिले हुने हो, थाहा छैन । जतिसुकै पीडादायक समाचार भए पनि हामीले त छाप्नै पर्छ । थाहा छैन, यो त्रासद समयमा आफू पनि एक समाचार बनिने हो की ” अर्का पत्रकारको चिन्तासँगै त्यहाँ शुन्यताको समय प्रारम्भ भयो ।  

प्रकाशित: ३१ भाद्र २०७७ १०:५२ बुधबार

अक्षर