पूर्णिमा जी शाह
हिजोआज म जहाँ पनि
कविता मात्र देख्छु ।
पट्यार लागेर हिँडिरहँदा,
मैले लगाएका जुताहरूलाई देखेर पनि
मस्तिष्कमा कविता घुमिरहन्छ ।
हरेक कामको भारी बिसाउँदा
उसले नै बोलाउन आउँछ घरिघरि
म भने कहिले उजाड मरूभूमिमा पुग्छु
जहाँ तेजिला रापका कणहरूले
मेरो भित्रभित्र पगाली
तपतप रगत मिसिएको
तेलको धारा बगाउँछ ।
मेरो सर्वाङ्ग निथु्रक्क भिजाउँछ
अनि म सम्झन्छु त्यतिबेला
मेरो एभरेस्टलाई ।
हो म सम्झन्छु एभरेस्टलाई ।
जहाँ त म कहिल्यै पुगेकी छैन
मेरो देशमा छ रे एभरेस्ट,
जसलाई हेर्न अनि अनुभव गर्न
हुलका हुल विदेशी पाहुना आउँछन् रे
तर
पाहुनालाई सत्कार गर्न
पाहुनालाई बाटो देखाउन
मेरै पाइला पुगेको छैन ।
एभरेस्ट पुग्न त्यति सजिलो पनि छैन
जस्तो देखिन्छ टाढाबाट क्षितिज
अनि खिचिएको फोटो जस्तो ।
फेरि म,
कहिले सागरको किनारमा पुग्छु
छालहरूसँंग खेल्छु ।
अनि बगरमा आएर
पिठ फर्काएर घाममा सेकाउँछु
एकाग्रताले बाँधेको मनमा
कविता आएर पोखिन खोज्छ
मेरो मस्तिष्कभरि ।
त्यतिबेला म
मेरै देशको नदीलाई सम्झन्छु
पहाडको खोल्साबाट निस्कने
खहरेलाई सम्झन्छु ।
त्रिशूलीमा मिसिएर
कोशी बन्दै विशाल भएर
सीमापारि ऊ काशी बनि बग्दै गरेको देख्दैछु।
प्रत्येक हप्ता
शरीरमा फुर्ती ल्याउन
हरियो वन हुँदै उकाली चढ्छु
भिरपहरा हुँदै
लामो पदयात्रा गर्छु ।
जहाँ अफ्ठ्यारा मार्ग पनि सजिलै लाग्छ मलाई
चराचुरीङ्गीहरूसँग मितेरी लाउँछु
जङ्गली वन्यजन्तु देख्छु
आफ्नो बाटो लाग्छु
सुगन्धित जडीबुटीलाई हातमा लिन्छु
त्यसको सुगन्ध लिएर
अगाडि बढ्छु ।
रमाएर अफ्ठ्यारो नमानी
म विदेशको प्रशंसा गर्छु
जहाँ म कर्म गर्छु ।
श्वास प्रश्वास तीव्र हुँदै
स्वाँस्वाँ गर्दै
माथिमाथि पुग्छु ।
प्रकृतिसँग घुलमिल भएर
आफूलाई स्वास्थ्य ठान्दछु ।
ऊ आएर कराउन थाल्छ
कानै वरिपरि
भन्न थाल्छ, हेर।
पर्वत कसरी पार गर्यौ तिमीले ?
क्षणभरमै,
उत्तर छ तिमीसँग
उल्टै प्रश्न गरिरहन्छ एकोहोरो
अनि मलाई वाक्क बनाउँछ ।
म भन्छु–
कवितामै उसलाई
पथहरू सरल छन्
कविताजस्तै ।
मार्ग जस्ता भएपनि
आखिर मान्छेले नै निर्माण गरेको हो ।
अफ्ठ्यारा मार्ग पनि सरल छन्
त्यसैले त पूर्व, पश्चिम, उत्तर, दक्षिण
जताततै एकैक्षणमा यात्रा गर्छु
कविता भन्ने गर्छ मलाई
बाहिर निकाल
म मस्तिष्कभित्र छु ।
जबसम्म निकाल्दैनौ तिमी
तबसम्म भमराझैँ
भुनभुन गर्दै तिमीलाई नै
सङ्गीत छोड्दै जान्छु ।
वाचा गर तिमी मलाई
म भन्ने गर्छु,
हुन्छ कविता म गर्छु वाचा
तिमीलाई निकालेर मात्र म मर्छु
तिमीभित्र म, एभरेस्टलाई राख्छु
त्रिशूली अनि चारकोसे झाडी
सबैलाई अटाएर एउटा सिमाना कोर्छु ।
जहाँ म, एभरेस्टजस्तै हाँसेर सधैं
मुस्कानले होली खेलाउँछु ।
प्रकाशित: २३ भाद्र २०७७ ०७:१९ मंगलबार