९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

कलाकार पदम घलेका १० चित्र

उदाहरणीय युवा

कलाकार पदम घलेले बनाएको ‘गोठाला’ शीर्षक चित्र।

एक समय पोखरालाई ‘पानी रंगको पाठशाला’ भनिन्थ्यो। अचेल पोखरामा पानी रंगका साथै एक्रेलिक र तैल रंगमा चित्र बनाउने कलाकारको ठूलो जमात छ। पोखराले राष्ट्रियस्तरमै लोकप्रिय कलाकारहरू जन्माइसकेको छ। त्यस्तै एकजना कलाकार हुन्–पदम घले।  

अर्धमूर्त चित्र बनाउन रुचाउने घलेको सृजनामा मौलिकता भेटिन्छ। उनी आफ्नो खुसीका लागि कलाकर्म गर्छन्। जब मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।  

उनी बेलाबेलामा कार्टुन पनि बनाउँछन्। पोखरा र काठमाडौंका पत्रिकामा उनका कार्टुन छापिन्छन्। उनले विसं २०५५ सालबाट कार्टुन बनाउन थालेका। उनको समूहले मर्दी न्यूज डटकम पनि चलाउँछ।  

कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।

कलाकार पदम घले। 

विगतमा उनले पोखराका केही विद्यालयमा ८ वर्ष कला सिकाए। कलाकर्मबाटै बाँचेका छन्। विशेषतः ल्याण्डस्केप र पोटे«टको डिमाण्ड बढी हुने उनले बताए।  

पुख्र्यौली थलो स्याङ्जाको चिलाउनेबास भएका पदम पोखराकै तेर्सापट्टि टोलमा ४९ वर्षअघि जन्मेका थिए। उनका बुबा बेलायती सेनाका रिटायर्ड लाहुरे थिए। उनका बुबा कृष्णबहादुर र आमा अग्निमाया अहिले हुनु हुन्न।  

अचेल उनी पोखराकै अर्चलबोटमा बस्छन्। त्यहीँ बसेर जल रंग र एक्रेलिक रंगबाट सुन्दर चित्र बनाउँछन्।  

नविन प्राविमा पढ्दैदेखि उनी चित्र बनाउँथे। पछि २०४५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारमा आबद्ध भएसँगै उनको कला यात्राले व्यापकता लियो। पोखरामा हुने कला प्रदर्शनी, कार्यशाला, स्वअध्ययन र पुस्तक अध्ययनबाट खारिँदै गए उनी। र, समयक्रममा अब्बल कलाकार बने।  

उनी बेलाबेलामा गाउँघर डुल्छन्। त्यहाँ बसेर चित्र बनाउँछन्। उनी आफ्नो कामबाट संतुष्ट छन्।

‘म आत्मसंतुष्टिका लागि नै चित्र बनाउँछु’, कलाकार पदमले भने, ‘कलाबाट नाम र दाम दुवै पाएको छु।’    

नेपालसहित क्रोसिया, जापान, सर्विया र क्यानेडामा उनको सामूहिक चित्रकला प्रदर्शनी भैसकेको छ।  

उनले चार पटक एकल प्रदर्शनी गर्न भ्याइसके। तीन पटक पोखरामा र एक पटक काठमाडौंमा। उनको पाँचौं एकल प्रदर्शनी सर्वियामा हुनेछ। कोरोना महामारीपछि सर्वियामा एकल कला प्रदर्शनी गर्ने योजना छ।  

 

कुमारी हिमाल माछापुच्छे«को आँगन पोखरा कलापूर्ण छ। त्यहाँ आधुनिक सुविधासहित आर्ट ग्यालरीको आवश्यकता देखिन्छ।  

‘कलाप्रति पोखराका युवामा चासो बढेको छ’, पदमले भने, ‘अब पोखरालाई आर्ट क्युरेटरको खाँचो छ।’  

पदमले जीवनमा सयौं चित्र बनाइसके। अहिले पनि क्यानभास रंगाएरै लकडाउन सदुपयोग गरिरहेका छन्। उनको कला यात्रा सफल बनोस्, हार्दिक शुभकामना!  

गोठाला

कलाकार पदमको चित्रमा गोठाला सारंगी रेट्दैछन्। एक्रेलिक रंगबाट बनाइएको सारंगीको चित्रमा रंगविरंगका फूल छन्। कलाकारले फूलहरूलाई गोठालाको सपनाका रूपमा सजाएका हुन्। हरेक मान्छेका सपना हुन्छन्। गोठाला पनि मीठो सपना देखेर बाँच्छन्। चित्रमा सारंगीको धुनसँगै अरू गोठाला पनि आनन्द लिँदैछन्। अर्को अर्थमा हेर्ने हो भने यसलाई कलियुगका कृष्ण र गोपीनीहरूको चित्रण मान्न सकिन्छ जहाँ कृष्ण सारंगी रेट्दैछन् भने गोपीनीहरू त्यसको धुनमा मन्त्रमुग्ध छन्।  

गुरुङ बस्ती  

पदमले सन् २०१७ मा बनाएको कास्कीको ल्वाङघलेल गाउँको चित्रमा गुरुङ बस्तीको सौन्दर्य छ। मनसुनी याममा बस्तीको शिरमा कुमारी हिमाल माछापुच्छे« लजाएको छ भने चारैतिर हरियाली वातावरण देखिन्छ। गाउँले अर्थतन्त्र कृषिमा निर्भर छ। यही कुरा उनले चित्रमा दर्शाएका छन्। 

 ग्लोवल वार्मिङ

विकासका नाममा मानिसले विनास गर्दै गएकाले वातावरण बिग्रंदै गएको छ। ग्लोबल वार्मिङले पर्यावरणमा धेरै खाले परिवर्तन ल्याएको छ। हिउँदमा जाडो कम, गर्मीमा गर्मी कम हुने गरेको छ। वातावरणमा असंतुलन देखिएको छ। पदमको चित्रले त्यही परिवर्तन झल्काएको छ।

शिवरात्रि  

हरेक वर्ष शिवरात्रिका अवसरमा भारतबाट काठमाडौंको पशुपतिनाथमा नागा बाबाहरू आउँछन्। उनीहरू गाँजा, भाङ र धतुरो खान्छन्। कतिपय बाबाले खेला पनि देखाउँछन्। पशुपतिनाथमा भारतीय बाबाहरू आउने संस्कारको प्रतिनिधित्व गरेको छ उनको चित्रले।  

रेन्बो ट्राउट

केही वर्ष यता काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, नुवाकोट लगायत ठाउँमा रेन्बो ट्राउट माछा पालन फष्टाएको छ। जहाँजहाँ ट्राउट पालिएको छ त्यहाँत्यहाँ रेष्टुराँ खुलेका छन्। धार्मिक हिसाबले समेत माछाको ठूलो महत्व छ। भगवान विष्णुले पनि मत्स्य अवतार लिएर राक्षसहरूको वध गरेको पौराणिक कथा छ। माछालाई मत्स्यदेवीका रूपमा पूजिन्छ। पदमले त्यही धार्मिक पाटो उजागर गरेका हुन्।

नेवार बस्ती

काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार समुदायको घना बस्ती छ। उपत्यकाका आदिवासी हुन् नेवार। उनीहरू प्राचीन कला र परम्परागत संस्कृतिले समृद्ध छन्। त्यही समृद्धि झल्काउँछ उनको चित्रले। 

पूर्वेली सभ्यता

स्वस्थ जीवनका दृष्टिले पूर्वीय दर्शन वैज्ञानिक देखिन्छ। कलाकार पदमको चित्रमा योग, नृत्य, चोखो जल झल्काइएको छ। उनको चित्रले आजको व्यस्त जीवनमा स्वस्थ रहन हामीले पूर्वीय जीवन दर्शन अनुकरण गर्नुपर्ने सन्देश दिन्छ।

साँढे  

साँढे शक्तिका प्रतीक हुन्। कतिपय मानवीय गुण साँढेसँग पनि मिल्ने पदमको ठम्याइ छ। नकारात्मक र सकारात्मक दुवै गुण मिल्न सक्छन्। साँढे भगवान शिवको वाहन हो। किसानले साँढेलाई खेतबारी जोत्न पनि प्रयोग गर्छन्। साँढेमा सौन्दर्य पनि देखिन्छ।

 बुद्ध

अहिंसाका प्रतीक हुन् भगवान् बुद्ध। प्रकृतिसँग उनको सामीप्य थियो। उनले प्रकृतिकै आँगनमा बसेर बुद्धत्व प्राप्त गरे। पदमको चित्रमा बुद्धको वरपर सुनगाभा फूलेका छन्। वर्तमान विश्वलाई बुद्धवाणी आवश्यक देखिन्छ।  

घोडा  

घोडा अर्थात् शक्ति र सुन्दरताको प्रतीक। मान्छेको सहयोगीका रूपमा घोडाले काम गर्छन्। घोडा मान्छेको विश्वासिलो सहयोगी हो। सन् २०१५ मा बनाइएको चित्रमा सप्तरंगी झलक देखाइएको छ।  

प्रकाशित: २२ भाद्र २०७७ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App