२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

टाढाटाढा कति पर गयौ भेटिने आश मारी

कविता

बोधराज पौडेल

 

आमा मैले अब त कसरी पाउला काख प्यारो

कस्ले हेर्ला दुख सुख सबै यादमा को छ मेरो

आँखा भित्रै अब  दिनदिनै  संझनाको तरेली

संझी संझी अनवरत यी भिज्न थाले  परेली ।।१।।

 

शिक्षा दिक्षा  उपनयनको कर्म सारा गराइ

मेरो आशा सुमधुर गरी नित्य दियो जलाइ

पूर्वै लाली सबतिर उसै झल्झलाकार पारी

टाढा टाढा कति पर गयौ भेटिने आश मारी ।।२।।

 

मैले बोल्दा  लरबर गरी  शब्द भावै भरेमा

नानी मेरो सुमधुर छ है भूल  केही गरेमा

भन्दै मेरो मनमुटु भरी सान्त्वनाको इशारा

कस्ले देला रु अब पनि त त्यो आत्म भो वेसहारा ।।३।।

 

बाबू नानी उठ अब छिटो मिर्मिरे भो उषाको

भन्दै छामी उदर तलमा आउला क्यै र खै को ?

सोच्ला कस्ले अब मनभरी गर्छु तेरो भलाइ ?

सारा देहै भुलिकन गयौ आखिरीमा मलाई ।।४।।

 

आमा आफै हरपल खुशी शान्त भावै भरेर

हेर्नु होला दिनदिन सधै याद मेरो गरेर

मात्रै श्रद्धा सरल मनको छोडिदै जान्छ साथ

गल्ती केही अब त कहिले हुन्न आमा म बाट ।।५।।

                                                  (छन्द मन्द्रक्रान्ता)

प्रकाशित: २० भाद्र २०७७ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App