२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

बालमैत्री नगरपालिका

लघुकथा

प्रेम राई परीक्षित

बालमैत्री नगर घोषणा गरियो । सबैले ताली परर बजाए। नगर प्रमुखको अनुहार धप्प बलेको थियो। हामीले हाम्रो नगर बालमैत्री घोषणा गरेका छौं जुन ऐतिहासिक छ। अब यो नगरमा बाल अधिकार हनन गर्ने र बालबालिकाहरूको मनोविज्ञानमा असर पर्ने खालका कार्य गर्ने जो कोहीलाई पनि कारबाही गरिनेछ। यो निर्णय भोलिबाटै लागू हुनेछ। नगर प्रमुखले शानका साथ भेलालाई सचेत गराए।

घोषणा सभा हेर्न भेला भएका विद्यार्थीहरू के रहेछ भन्दै सबैभन्दा पछाडिको लहरबाट उफ्रीउफ्री  हेर्न प्रयास गरिरहेका थिए। ‘  ’बालबालिकाका हितलाई मध्यनजर गरी विद्यालयको स्रोतसाधन भौतिक पूर्वाधारलाई आधार मानी विद्यालयलाईु क,ख, ग, घ श्रेणीमा विभाजन गरिएको छ,  नगर प्रमुखले थपे , ‘ सबैले आफ्नो विद्यालयको अगाडि बालमैत्री नगरपालिकाको साइनबोर्ड झुन्ड्याउनु होला। ’

नगर प्रमुखको आदेशात्मक भनाइ गुन्जिरहेको थियो। सभा सकियो, भिड पातलियो। रोमिल सविनलाई भन्दै थियो, ‘ तिमी हामीसंग नआऊँ। अब हामी सँगै नहिड्ने अनि नखेल्ने पनि किनभने हाम्रो स्कुल ‘क’ श्रेणीको अनि तिम्रो ‘घ’ श्रेणीको। यो सुनेर सविन आँखाभरि आँसु पार्दै त्यहाँबाट हिँडे। नगरका कर्मचारीहरू भने बालमैत्री नगरपालिकाको साइनबोर्ड झुन्ड्याउन भन्दै सामान खोज्न व्यस्त थिए।

प्रकाशित: १९ भाद्र २०७७ ०६:४४ शुक्रबार

अक्षर