लता केसी
मृत्यु
चितामा एउटा लास एकनास जलिरहेको थियो। सामूहिक आलालापविलापहरू आकाकासिँदै थिए । क्रन्दन र चित्कारहरूले मलामी स्वयं भावुक बनेका थिए । एउटा असल र सक्षम व्यक्तिको अल्पायुमा नै निधन भएर होला , घाटमा मलामीहरू अत्याधिक मात्रामा उपस्थित थिए । कोही मृतकको गुणगान गाइरहेका थिए त कोही आत्मशान्तिको प्रार्थना गरिरहेका थिए भने कोही मृतक त सारै भाग्यमानी रहेछ , अनि त यति छिटै भगवानको प्यारो भयो भनेर आफ्ना तर्कहरू पोखिरहेका थिए । म पनि घाटमा उपस्थित भएको थिएँ । मेरो साथमा मेरो सानो नाति पनि थियो । छोरा बुहारी विदेशतिरै थिए । नाति जिद्धीवाल थियो । संगै जाने भनेर घरै उचाल्यो । बाध्यताले उसलाई घाट लिएर हिँडे । ऊ घाटमा घरी यता घरी उता गर्दै सबै मलामीहरूसँग पुगिरहेको थियो । सबैका कुराहरू पनि सुनिरहेको थियो । म टाढाबाट उसका गतिविधि नियालिरहेको थिएँ । लास पोल्ने काम सकियो । सबै मलामी फर्किने क्रममा थिए । कसैले भन्यो – कति छिटै जल्यो । जिउँदोमा पनि कसैको बिगार केही गरेन । मर्दा पनि मलामीलाई दुख नै दिएन । सारै असल मान्छे थियो । बाँच्नुपर्ने मान्छे छिटै मरयो । यस्ता असल र भाग्यमानी मानिसहरू त कहाँ धेरै बाँच्छन् र ।
मेरो नाति अलि बढी नै जिज्ञासु स्वभावको थियो । खुर्र दौडेर , मेरो नजिक आयो र हात समाउँदै अनेकन् प्रश्न सोध्यो । मैले नि खुरुखुरू उसको चित्त बुझाउँदै उत्तर दिएँ । हामी फर्किदै थियौँ । बाटोमा अचानक उसले सोध्यो, ‘हजुरबुवा, राम्रो र असल मानिसहरूलाई भगवानले छिटै आमफूसँग लैजान्छन् रे हो ।
मैले केही नसोची नै उत्तर दिएँ, ‘हो बाबु , अघि जलाएको अङ्कल पनि निकै राम्रा मानिस थिए , भाग्यमानी थिए , उमेर नै नपुगी मरे ।’
उसले तुरुन्तै सोध्यो , हजुर पनि त राम्रो मान्छे हो नि । अनि किन त नि, अहिलेसम्म भगवानले नलैजानु भएको ?
उसको यो प्रश्नले म अवाक् भएँ ।
आफैँले आफूलाई संभालेँ र भनेँ, होइन बाबु , जन्मिएपछि मर्नुपर्ने प्रकृतिको नियम , एउटा शाश्वत सत्य हो । पापी , अभागी र असल, खराब भन्ने त मान्छेका कुरा मात्र हुन् । जसको काल आउँछ , ऊ नै मर्नुपर्छ नि तर कसको काल कहिले आउँछ ? त्यो कसैलाई थाहा नै हुँदैन। तैपनि उसको कुराले मेरो मथिङ्गल निकैबेर हल्लिरह्यो।
बाँच्ने शैली
आमा , यो सिरानीमा राखेर आरामले सुत्नुहोस् भनेर छोरोले रू १ लाख नगद थमायो ।
आमाले आत्तिएर भनिन् , ‘यत्रो पैसा म एक्ली बूढीले के गर्नु र ? हराएँ भने बुहारीलाई राख्न दे न ।’
उसले आमालाई संझाउदै भन्यो, ‘ बुहारीलाई अरू धेरै दिएँ है । यो सुखको निद आओस् भनेर हजुरलाई नि । ऊ बेला पनि बुवाले धेरै दुख दिनुभयो । मलाई हुर्काउन हजुरले ठूलै कष्ट भोग्नुपर्यो ।’
आमाले पुराना कुरा सम्झेझैँ गरेर भनिन्, ‘ होइन, उहिलेउहिले त , तँ भ्रष्टाचार नगरी धन कमाइन्न भन्थिस् र भ्रष्टाचारीहरूसँग पौंठेजोरी खेल्थिस् । कति चोटि जेल , कति चोटि आन्दोलन , समाज सुधार्ने निकै क्रान्तिकारी बन्थिस् । यति धेरै पैसा तेरो यो ठूलो पदको तलब मात्रै त होइन होला ।’
टिनिनि मोबाइलको घण्टी बज्यो ।
– हेलो , हजुर म फलाना , हजुरविरूद्ध सडक तातेको हजुर छ के गरुँ ?
अलि थर्काएर ,उसले भन्यो, ‘ मलाई खवर मात्र गर्ने जागिर खाएको हो कि स्थिति संभाल्न ?’
निरीह स्वरमा आदेश चाहियो, ‘हजुर ।’
ठाडो आदेश तेर्स्यायो, ‘ तितरबितर गर्नू ,अवस्था हेरेर शक्ति प्रयोग गर्नू ।’
फोन काटेर फेरि हाँस्दै उसले आमालाई भन्यो, ‘ ऊबेला म एक्लो छोरो थिएँ । जिम्मवारी थिएन । अहिले २ सन्तानको बुवा भएँ । समयअनुसारको सिद्धान्त र व्यवहारको फरक अनि बाँच्ने तरीका मैले पनि बुझेँ, आमा ।’
जोगाड
‘ छोरो भोकले रातभरि छटपटाइरह्यो । रुँदारुँदै भर्खर निदायो । आजज राहत बाँड्ने भनेको थियो । बरू जानू न छिट्टै गए छिट्टै पालो आउने थियो ।’ सुतेको छोरो बिउँझेला कि भन्ने डरले उनले झिनो स्वरले लोग्नेलाई भनिन् ।
आङ तान्दै आलस्यसंग ऊ बोल्यो, ‘ जोगाड अन्न होला नि , पकाउँदै गर्न , बिस्तारै जाउँला नि ।
अलि झर्किएर उनले भनिन्, ‘अन्नको एक गेडो नभएर त भनेँ नि । कुरो नि बुझ्नुपर्यो ।
अब भने हत्त न पत्त ऊ निस्केर हिँड्यो । बूढो निस्केपछि बूढी एकछिन घाममा बसिन् । कोरोनाको सन्त्रासले जीवन नै लकडाउनमा पर्यो । कसरी पो भोग्ने होला ?‘ भविष्यको चिन्तामा मग्न थिइन् । छोरो रोएको आवाजले झसङ्ग भइन् । ‘आमामाआमा भोक लाग्यो’ भन्दै ऊ छेउमा आयो । काखमा च्यापेर भान्छातिर लागिन् । केही थिएन , छोराको मुख बुझो लाउन ,तरक्क आँसु चुहियो । एक गिलास पानी तताएर खान दिइन् । बुवा चामल लिन जानुभयो । आएपछि माम खाने है भन्दै चूप लगाइन्।
दुई घण्टापछि अलिकति राहतको चामल फ्याल्दै बुढाले भने, ‘ मेरो पालो आउनुअघि नै राहत सक्किगो अनि आजको गर्जो टार्न पाउनेहरूसँग पैँचो ल्याएको , जाउलो पका है , बाँच्नु त पर्यो नि ।’
बूढीले एक मुठ्ठी चामल हुर्र चराहरूलाई भनेर फ्यालिन् र भित्र पसिन् ।
चराहरू चिरबिरचिरबिर गर्दै चुच्चोले अन्न टिप्न थाले । बूढो रमाइलो मानेर हेर्न थाले । चराहरूसंग एक्लै कुरा गर्न थाले, ‘नहुनेका घरबाट पनि पेट भर्न पायौ । तिमीहरू त कत्ति भाग्यमानी रहेछौ ।’
एउटा चरो उसको अलि नजिक आयो। उसलाई भान भयो , चरो भन्दै थियो, ‘ हामी त स्वतन्त्र भएर आकाशमा उड्छौ । पर्यटकजस्तो भएर डुली हिँडछौँ । तिमीहरू त घरमा बन्दी भयौ । आवश्यकताहरूको जोगाड गर्ने भयौ अनि पो अभागी भयौ ।’
मृत्युुपछि
बाह्र छोरा तेह्र नाति , बूढाको धोक्रो काँधैमाथि । ठूलो छोरो र ठूली छोरीको पखेटा लगाएँ । भुर्र ।। चरीझैँ उडे । यो सानो छोरो नि १५ वर्ष पुगि गयो । २,४ वर्षमा भोलि दाजुकै सिको त गर्ने होला नि । म एकल बूढी , फेरि पनि एक्लै नै १ एक्लै फत्फताइरहेकी आमालाई कराउँदै सानेले भन्यो, ‘ए आमा, यो बारीको मकै कत्ति खानु ? भुटेर , पोलेर , उसिनेर , जे गरे नि मकै मात्र राहत बाढ्दैनन् , गाउँमा भात खान मन लाग्यो क्या म बुझेर आऊँ है ।’
उनी आत्तिएर कराइन् , ‘ परेन बाबू , नजा राहत आए नि हामी दुखीगरीबलाई कसले पत्याउँछ र ? कोरोनाको बिगबिगी छ । तँ घरै बस् । म केही मेलो मेसो गरम्ला नि ।’
आममाको माया पोखियो । बारी पसिन् । पचासवटा जति मकैका हरिया घोगा भाँचिन् । नून , तेल र चामल हिसाब गरिन् । डोकोमा हालेर २ घन्टाको बाटो तय गरेर बजार पुगिन् । सुनसान थियो । मानिसहरू सबै बन्दाबन्दीमा लुकेर बसेका थिए । मकै आयो , मकै आयो , हरिया मकै , १० रुपियाँ घोगा भन्दै घरघरै कराउँदै हिँडिन् तर कसैले सुनेनन् । बरु उल्टै झपारे पो, ‘घरघर डुलेर कोरोना सार्न हिँडेकी बूढी ।’ निरास भइन् । कान्छो छोरो र भात संझिइन् । दिक्क भएर छेउको नदीमा गइन् । पेटभरि पानी पिइन् । नदीलाई नमस्कार गरिन् र भनिन् , हे जलदेव , यो डोको फिर्ता लान भारीले सक्दिँन । बरू गाईवस्तु , दुखीगरीबले खाऊन् भनेर डोको खन्याइन् । हिँडन खोज्दा रिँगटा लागेजस्तो भयो । लडिन् । बौरिँदा झमक्क भयो । डोकोको वरिपरि माग्नेलाई झैँ पैसा फालिएको थियो। आश्चर्य मान्दै मनमनै गुनिन् , ‘कुनै धर्मात्मा टोलीको काम होला । बूढी मरिछे भनेर फ्यालेका होलान् । मरेपछि माया र सम्मान पोख्ने जात, मान्छे न हो ।’
उजागर
असल महिला छात्राबास साँच्चि नै नामअनुसारकै थियो । त्यहा जम्मा २५ जना विद्यार्थी मात्र बस्न पाउँथे । टाढाटाढा दूरदराजका केटीहरू सुरक्षित महसुस गर्थे । भर्नाको लागि सधैँ तँछाड थियो । संस्थापक आफैं पनि महिला थिइन् । विद्यार्थीहरू राष्ट्रका गहना हुन् भन्ने भावले त्यो छात्राबास आफैंले हाँकेकी थिइन् । छात्राबासको नाम निकै चर्चित र प्रतिष्ठित थियो ।
आशा विपरीत विद्यार्थीहरूको परीक्षाफल बिग्रिन थालेपछि उनले निगरानी बढाइन् । अचम्म लाग्यो , नियम विपरीत प्रत्येक दिन एउटा अलगअलग रूममा राति अबेरसम्म बत्ती बलेको देखिन् । प्रत्येक दिन बत्ती बलेको कोठाको केटीलाई बोलाएर अन्तर्वार्ता लिन थालिन् । छब्बीसौं दिनमा सबैलाई एउटा हलमा भेला गरिन् । सबैलाई एउटै प्रश्न सोधिन्, ‘ तिम्रो निकटतम् केटा साथीको नाम के हो ?’
सबैले उत्तर दिए , क्रमश सबैको एउटा जवाफ आयो । केटाको नाम थियो , विनाश ।
सबै केटीहरू खुसुरफुसुर , नोकझोँक गर्न थाले । सबै चकित भए । अति शान्त भएर सबैलाई सम्झाउँदै उनले भनिन् , ‘ एउटै केटाले पालैपालो तिमीहरू सबैलाई उल्लु बनाइरहेको कुरो थाहा भयो नि ? सावधान ।’
केटीहरू सबै निशब्द रहे । टाउको झुकाइरहे । उनले फेरि आफ्नो जीवनको रहस्य उजागार गर्दै भनिन् , ‘ आजभन्दा १० वर्षअघि मैले यही केटाबाट धोका पाएपछि यो छात्राबास खोलेँ । आफूफूलाई आत्मनिर्भर र सक्षम बनाउन सकेँ । अब तिमीहरूको भविष्य तिमीहरूकै हातमा छ , बनाउने कि बिगार्ने ।’
प्रकाशित: १४ भाद्र २०७७ ०६:४३ आइतबार