२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

झन्डा

कविता

मिरा प्रसाई  

छोरा ! यो झन्डा हेर त,

दुई रातो अर्धत्रिकोणको वरिपरि निलो किनारा, 

दायाँ फर्किएका त्रिकोणको अद्वितीय संयोजन,

अर्धचन्द्र सूर्य अंकित यो झन्डाले

हाम्रो समस्त अस्तित्वबोध गर्छ ।

बलिदान, शान्ति र समृद्धिको प्रतीक

यो झन्डा हाम्रो जङ्गी निशान हो,

प्रेरणा हो, अमर सम्पदा हो, यो हाम्रो गौरव हो ।

हेर त छोरा !

निलो धेरा भित्रको यो रातो भाग,

पुर्खाको रगतले आर्जेको भूमि हो यो , 

यो निलो भाग आकाश हो ।

छोरा, यो झन्डा तिम्रो छानो र भूमि हो ।

सूर्य तिम्रो पिता हो,

चन्द्र तिम्रो माता हो, 

यो झन्डामा तिमीले तिम्रा बा र मलाई देख्नु ।

छोरा, तिमी हिँड्ने बेला यो झन्डा पनि लिएर जाऊ, 

त्यो सानो गोजीमा विशाल नेपालको झन्डा

कच्याककुचुक हुन सक्छ,

गन्तव्यमा पुगेपछि सम्हालेर राख्नु ,

खुम्चिन नदिनु ।

छोरा, तिम्रा बाको शिरमा कसैले लात हान्न खोजे,

तिम्री आमाको छातीमा मुक्का बजार्न खोजे,

यो झन्डालाई कसैले दुर्गन्धित पार्न खोजे,

कसैले इतिहास मेट्ने चेष्टा गरे, 

तिमी गोर्खाली हौ नभुल्नु ।

झन्डाको सम्मान र शान्तिका खातिर 

क्रान्ति गर्न सधैं अगाडि बढ्नु ।

यी हेर त, 

यो निलो र रातो रङ्ग, 

छोरा, झन्डाले शान्तिका खातिर क्रान्ति गर्ने छुट दिएको छ ।

छोरा,

तिमीले चुसेको अमृतको कसम,

तिम्रो पहिलो घरको कसम,

झन्डा बेच्ने कुरा नगर्नु , 

झन्डा फेर्ने कुरा नगर्नु ।

याद राख, 

तिम्रो परिचय त्यही झन्डाबाट सुरु हुन्छ ।

मेरो कोखको मान राख्यौं भने, 

म सम्झिन्छु,

तिमीले दशधारा दूधको ऋण चुकायौ ।

प्रकाशित: १२ भाद्र २०७७ ०७:५८ शुक्रबार

अक्षर