२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

गंगा कर्माचार्य पौडेलका कोरोना लघुकथाहरू

 गंगा कर्माचार्य पौडेल            

 

 

  १) विवसता

 

                        

 

                                        

कोरोना भाइरसका कारण २०७६।१२।११ देखि सरकारबाट देशभर एकसाथ लकडाउनको घोषणा गरियो । त्यसपछि सामान नपाइएला भनेर टोल छिमेकीहरूले नजीकको पसलबाट धमाधम खाद्यान्न नूनतेल खरिद गर्न थाले । मलाई भने अनावश्यक संचय गर्ने मन थिएन । किनभने त्यसले गर्दा उपभोग्य वस्तुको अभाव भई मूल्य वृद्धि हुने पक्का थियो ।

तर म एकजना नजाँदैमा पसलमा सामान किन्नेको भीड कम भएन । त्यसपछि म सोचमा परेंं । मनमनै भने , ‘पसलै रित्तियो भने म मात्रै कहाँ गएर सामान खरिद गर्नु’यस्तै कुरा खेल्यो मनमा र म पनि त्यहीँ पसलमा किनमेल गर्न गएँ ।

पसलेले एकएक गर्दै बिलमा सामानको मूल्य चढायो । अघिपछिभन्दा दोब्बर  मूल्य देखेर मैले भने, ‘हैन सामानको भाउ बढ्यो भनौं भने अहिले नयाँ आएको माल होइन यो । पहिलैकै सामानलाई किन दोब्बर भाउ बढाएको साहुजी ?’‘

‘हेहे लकडाउनको फाइदा नि । हामीले दुईचार पैसा कमाउने भनेकै यस्तै मौकामा हो हजुर । भुर्इचालो आएको बेला घडेरी जोडें । अब यसपालि घर बनाउनुपर्छ । के गर्नु  अघिपछि त किन्यो ल्यायो बेच्यो सापो नापो ठिक्कै हुन्छ।’ पसलेले जवाफ दियो ।

मैले भने, ‘मान्छेलाई अप्ठेरो परेको बेलामा झन् अप्ठेरो पार्न हुन्छ त ? काम गर्न नपाएर पैसा नभएको बेला सक्दो सहयोग गर्नुपर्नेमा सामानको भाउ बढाएपछि कसरी किनेर खानु ? हामी जस्ता जनता भोकै मरिदैनं ?’

जनता पाल्ने जिम्मा मेरो होइन हजुर । सरकारको हो । तपाईलाई महँगो लाग्छ भने नलानुस् कर छैन भनेर उसले सामान राखेको झोला जुरुक्क उचालेर भित्र लग्यो ।

त्यो देखेर भोलि त्यै पनि नपाए के खानु , पैसा खाएर भएन । खान अन्नै चाहियो भन्ने लाग्यो मलाई । त्यसपछि  पसलेलाई बोलाउँदै भनें, ‘ ‘ह्या साहुजी,  तपाई नि यत्तिकै रिसाउनुहुन्छ । खै ल्याउनुस् सामान ।’

उसले मलाई आँखा तर्दै भन्यो, ‘यतिका माल बेचिसकेंं कसैले केही नभनी लगे । तपाई मात्र यसोउसो भन्नुहुन्छ । चिनेको पुरानो ग्राहक भएर पो नत्र दिने नै थिइन । पहिला पैसा दिनुस् ।’

मन खिन्न पार्दै ब्यगबाट पैसा झिकेर दिएँ । जानाजान ठगिनु थियो मेरो विवशता ।    

 

 

२)  घरबेटी आमै

 

‘ए पिउसे तल गएर त्यो झकालीसँग भाडा मागेर ले त । पैसा नभएर तरकारी किन्न नि पाछैन’ भनेर घरबेटी आमैले आफ्नो सहायकलाई अराइन् । हस् भनेर ऊ खुरखुर भरेङ ओर्लेर तल पुग्यो । झकालीको ढोकामा बडेमाको ताल्चा झुङ्याएको देख्यो अनि फरक्क फर्केर माथि नै आइपुग्यो ।

‘घरभाडा ल्याइस् त ?’ प्युसे बोल्न नपाउँदै आमैले सोधिन् ।

ल्याछैन , ढोकामा ताल्चा लाछ । उसले जवाफ दियो । हैन लकडाउनको बेला पनि कहाँ जान्छ त्यो । दिउँसो कोठामा कहिल्यै भेटिदैन । आज त राति गएर भए पनि नभेटी कहाँ छोड्छु र ?

साँझ परेर रात छिपिदै गयो । ओछ्यानमा पल्टिए पनि निदाउन नसकेकी घरबेटी आमै सकीनसकी तल ओर्लिइन् । झकाली सुत्ने तरखरमा थियो । उसले आमैलाई देखेर झस्किदै भन्यो, ‘तपाईले किन दुख गर्नुभएको आमा ? बोलाए म आफै आइहाल्थे नि ।’

बूढी आमैले खुइय लामो सास तानेर भनिन्, ‘तिमीलाई कति बोलाउनु ? कति पटक भाडा देऊ भनेर माग्नु । आज त पैसा नली जान्न भन्दै उसको खाटमाथि थचक्कै बसिन् ।

‘लकडाउनले गर्दा हो नि आमा । खुलेपछि  एकमुस्ट दिहाल्छु नि । घरभाडा खाएर भाग्ने मान्छे हो र म ?’ झकलीले भन्यो

“लकडाउन अहिले भएको हो नि । त्यो भन्दा पहिलेकै भाडा बाँकी छ । हेर बाबु ! मेरो अरु कुनै आएश्रोत छैन । त्यही घरभाडाले खाद्यान्न,औषधी किन्नु पर्छ । म सुगर,पे्रसर दमको रोगी छु भन्ने तिमीलाई थाहै छ । फेरि पानी, बत्ती, टेलीफोन,फोहर,नगरपालीकालाई घरजग्गाकर पनि तिर्नु पर्छ । तिमीले भाडा नदिएपछि मैले काँबाट ल्याएर तिरुँ ? फेरि लकडाउन भन्छौ घरमा एकछिन बस्दैनौ । के चला हो तिम्रो । बालबच्चा घर पठाएपछि खुबै फुक्काफाल भएका छौ हैन?” घबेटी आमाले भनिन् ।

“ सहकारी संस्थाहरूलाई अति आवश्यक सेवामा पारेर लक डाउनमा पनि बन्द गरेनन् आमा ! त्यसैले म अन्त कतै गएको होइन अफिसमै जान्छु”।

“ लकडाउनको असर दैनिक ज्याला मजदुरी गर्नेलाई परेको छ । तिमी जस्तो जागिरेको तलब आइरहेकै छ । यतीबेला क्यास नभए चेक देउ । मेरो चुल्हो बल्न छोड्न लाग्यो । सरकारले घर भएकालाई राहत दिंदैन । अनि म भोकै मरुँ ? ।

“त्यसो नभन्नुस् न आमा लकडाउन खुलेपछि दि हाल्छुनि”झकलीले भन्यो

कहिले खुल्छ कहिले? लकडाउन खुल्नु भन्दा पहिले मेरो स्वर्गको ढोका खुल्ला जस्तो छ । हेर लकडाउनको एक महिना भाडा छोडी दिन्छु । बाकी पैसा सातदिन भित्र दिएनौ भने छरछिमेकीलाई गुहार्छु, नपुगे प्रहरीलाई खवर गर्छु  बुझ्यौ ? औंला ठड्याएर धम्की दिइन् आमैले ।

पिउसे दिनदिनै बिहान सबेरै दुधलिन जान्थ्यो । आमैले धम्की दिएको छैटौ दिन सधै.झै दुध लिन तल ओर्लदा झकाली बस्ने फलाएटको ढोका ह्वाङ्गै देख्यो । त्यसपछि यसो भित्र चियाएर हेर्दा सामान केही नदेखेर ऊ खङ्ग्रङ्गै भयो अनि हस्याङ् फस्याङ् गर्दै फेरि माथी उक्लीयो ।

 

                     ३)     शङ्का

 

नेपाल सरकारले विश्वभरि फैलिरहेको कोरोना भाइरसबाट बच्न देशभर एकसाथ लकडाउनको घोषण ग¥यो । लकडाउनका बेलामा कोही नागरिक भोकै नपरून् भनी स्थानीय  निकायअन्तर्गत ओडा कार्यलयलाई राहत वितरणको जिम्मा दिइयो ।  कर्मचारीले राहत आवश्यक परेका वडाबासीलाई नाम दर्ता गराउन आह्वान गरे ।

दैनिक ज्याला मजदुरीबाट परिवारको भरण पोषण गर्ने निम्न वर्गका नागरिकहरूले कर्मचारीसमक्ष आआफ्ने विवरण टिपाए । त्यही हुलमा आएर चतुरीले पनि नाम टिपाई । उसलाई त्यहाँ देखेर केही मान्छेहरूले घुरेर हेरे र मनमनै भने, ‘छ्या त्यो चतुरी कस्तो लोभी रहिछ । लोग्ने सरकारी जागिरे छ । आफू तरकारी  पसलबाट मनग्गे आम्दानी गर्छे । गलामा त्यति मोटो सुनको सिक्री । हातका औलामा असर्फी लाएर पनि केही नभाको स्वाङ पार्छे लाज नभाकी ।’

चतुरीलाई भने अरूले त्यसरी  घुरेर हेरेको पटक्कै मन परेन । उसले तिनीहरूलाई कर्के आँखाले हेरेर नसुन्ने गरेर भनी, ‘मैले तिमीहरूसँग मागेकी छु र ? आ, सरकारको त हो नि लिन्छु । पाएसम्म लिन्छु ।’

दिउँसो वडाका कर्मचारीले बिहान नाम लेखाएजतिलाई लामबद्य गराई कार्यालय कक्षबाटै प्रतिव्यक्ति ५ किलो चामल,१किलो दाल, एक पाकेट नून, आधा लिटर खाने तेल, एक धार्नी आलु आधाकिलो प्याज राखिएको झोलासहितको राहत  वितरण गरे । चतुरीले पनि राहत थापेर बाहिर निस्की । उसले आफनोभन्दा अरूको झोला ठूलो देखी । त्यसपछि ए ,बैनी खैखै तिम्रो झोलामा केके रैछ  भनेर एउटी महिलाको झोला खोतल्न थाली।  अरू पनि दुर्इचार जना झुरुप्प जम्मा भए । उसलाई घुरेर हेर्नेहरू पनि त्यहींं आए । चतुरीले  आफ्नो र त्यो झोलामा भएको सामान उस्तै देखेर ओठ लेप्राई अनि टिमटिम पर्दै बाटो लागी ।

साँझ चतुरीले राहतमा पाएको सामानबाटै भोजन तयार पारी अनि श्रीमान् र बच्चासँगै बसेर खाना खाँदै गर्दा ट्वाक्क जिब्रो पड्काएर भनी, ‘सामान त गतिलै दिएका रहेछन्।’

श्रीमानले पनि श्रीमतीको कुरामा सहमति जनाउँदै टाउको हल्लायो ।

खाइपिइ धन्दा सकेर चतुरी ओछ्यामा जानेबेला लुगा फेर्दा गलामा लाको सुनको सिक्री नदेखेर खङ्ग्रङ्गै भई । त्यसपछि ए  कुमारका बा लौन मेरो तीन तोलाको सिक्री हरायो । सिक्री चोर  पक्रनु प¥यो भन्दै चिच्च्याएर रुन,कराउन,थाली ।

“राहत थाप्न गहना लाएर जाने हो त रु अब कस्लाई पक्रिनु  जानु  भनेर उल्टै हकारे श्रीमानले ।

दुईजना मान्छे माथि शंका लागेको छ । विहान देखि उनिहरुले मलाई घुरेर हेरिरहेका थिए । मेरो तीन तोलाको सिक्री  हरायो भन्दै डाको छाडेर ह्वाँह्वाँ रोइरही चतुरी ।

 

 

                   ४) वाह...कोरोना  

 

“मलाई बिहे गर्ने पटक्कै मन छैन । अहिलेको जमानामा पढेर आत्म निर्भर नभइ बिहागरे दुख पाइन्छ । भरखर ब्याचलर त सकियो नि । मास्टर्स ,पिएचडि सकेर एउटा काम गरे पछि बल्ल सोच्नु पर्ला भनेको घरमा करकर ग¥याग¥यै छन् । निरुँ ! त नै भन न म के गरुँ ?”

उर्विले आफ्नो मन मिल्ने साथी निरुलाई फोन गरेर रुन्चे स्वरमा गुनासो गरी ।

“अनि तेरो बाबा मामुलाई भन्न सक्दीनस् त । म धेरै पढ्छु बिहा गर्दिन भनेर” । निरुले भनि

“मैले भनेको त हो नि । मामुले“ केटा पढेलेखेको छ । सरकारी जागिरे छ । घरपरिवार राम्रो छ । यस्तो मौका सितीमिती आउँदैन । भाग्यले जुराएको केटालाई उम्कायौ भने पछुताउनु पर्ला”  भन्नुभयो । म केही बोल्न नपाउँदै बुबाले “भोली उहाँहरू तिमीलाई हेर्न आउँदै हुनुहुन्छ ” भनेर थप्नुभयो ।

“हेैन होला । यस्तो लकडाउनको बेलामा  कसरि आउँछन् र ? बाहिर निस्कन पाईदैन ”। निरुले शङ्का ब्यक्त गरि ।

“उसको बुबा प्रहरीको ठूलै पोष्टमा हुनुहुन्छरे क्या...अनि पास मिलाको छरे ”उर्वीले प्रष्ट पारी ।

“ ए... त्यसो भए एउटा काम गर” भनेर निरुले उर्विलाई गतिलो उपाय सिकाई दिइ ।

भोली पल्ट केटाका परिवार उर्वीको घरमा आए । केहीबेर भलाकुसारी, चिया नास्ता गरे । कुरा मिले आजै बिबाहको मिति पनि तय गरेर जाने मनसाय ब्यक्त गरे । उर्बीलाई भने त्यहाँ नदेखेर एउटी अधबैशे महिला जो केटाकी आमा थिइन्  उनले हुनेवाला बुहारीलाई बोलाइदिन अनुरोध गरिन् । उनले यो पनि भनिन् “अहिलेको जमानाका  केटाकेटीलाई हामीले भनेर मात्रै हुँदैन । उनीहरूको राजी खुसी पनि चाहिन्छ ”।

 हजुरले ठिक मर्जी भयो छोरीलाई म बोलाएर ल्याउँछु भनेर उर्र्वीको ममी भित्र गइन् । उर्बी ममी सँगै आएर सबैजनालाई नमस्ते गरिन् अनि केटाको नजिकै सोफामा थ्याच्च बसिन् । तीनको हातमा रुमाल थियो । केटाले पुलुक्क उर्वी तिर हेरे । उर्वी ले हत्तनपत्त  रुमालले टाउको बाँधीे अनि टिस्यु पेपरले मुख छोपेर दुइचार पटक् हाँछ्यु हाँछयु गरि । त्यो देखेर केटाको मनमा चिस्यो पस्यो । उसकी अधबैशे आमाले“ यिनलाई कतै ?......भनेर बसेको ठाउँबाट जुरुक्क उठिन् । उर्वीको मामुले हैन हैन त्यस्तो क्यै हैन । मेरो छोरीलाई कोरोना सङ्क््रmमण छैन”भनिन् ।

उर्बीका बाबाले पनि“ हो हजुर शंका नगर्नुस् मेरी छोरीलाई कोरोनाले...बोली पुरा गर्न नपाउँदै  केटा पक्षका सबैजना ज¥याक् जुरुक् उठेर छिटो छिटो बाहिर निस्के । आफ्नो अभिनय सफल भएकोमा उर्वीे याहु...भन्दै  कोठामा गएर  ओछ्यानमा लडीबुडी गरी र भनि वाह..कोरोना ।

 

   ५) धन्यवाद कोरोना देउता              

 

                  

“ए ! बूढा कोरोना फैलनबाट बच्न भनेर सरकारले लकडाउनको घोषणा ग¥यो । लकडाउन  भएपछि काम भएन । काम नभएपछि माम पनि भएन । त्यसैले सबैजना गाउँतिर लागे हामी पनि जाम हुन्न ?”। सुन्तलीले लालेसित भनी ।

“गाउँ ! ओहो ! तिमीेले त मेरो मनको कुरा भनि दियौ । हेर बाआमले हामीलाई छोडेर नजाओ भनेर  हिड्ने बेलामा धरधरी रुनुभएको थियो । सहरमा गएपछि केकेन पाइन्छ भन्ने लागेर आइयो ”।

“त्यै त काठमाडौं सपनाको सहर रहेछ । आएको पनि ५ वर्ष भै सक्यो चारपैसा बचाउन सकेको होइन । काम ग¥योे ल्यायो खायो सकियो । पानी समेत किन्न पर्ने,दिशा,पिसाप गर्ननि पैसा तिर्न पर्ने रैछ यो ठाउँ त । काँबाट पैसा जोगाउन सक्नु?” । सुन्तलीले गुनासो पोखी

“हो काठमाडौं आएपछि धेरै पैसा कमाउँला,जग्गा किनेर घर बनाउँला, छोराछोरीलाई बोर्डिङ् स्कूलमा पढाउँला भन्ने सपना देखेको थिएँ । सोझो कमाइले सपना पुरा गर्न नसकिने रहेछ । हुनत हामी सङ्गै आएको रेशम कहाँ पुगी सक्यो । घर घडेरी जोडेरपनि गाडी चढ्ने भयो ऊ । हामी जहाँको त्यहीं । झन् यो कोरोना भाइरस आएर भएको काम पनि छुट्यो ”। दुखेसो पोखे लालेले

“भो भो त्यो रेशमे जस्तो हुन परेको छैन हामीलाई । लागु पदार्थ बेचविखनमा परेर पटक् पटक् थुनुवामा प¥यो । पछिल्लो चोटी त आफ्नै साली बेचेको आरोपमा झ्यालखानाको  हावा खाईरहेको छ । त्यस्तो धन चाँहीदैन । त्यसरि अनैतिक तरिकाले धन कमाउने सोच कहिलै नराख्नु है बूढा ! भन्द्याछ मैले” । सुन्तलीले लालेलाई सचेत गराई ।

भोली पल्ट बिहान सबेरै उठ्यो लाले । त्यसपछि छोराछोरी र पत्नीलाई  पनि उठायो अनि झिटी गुन्टा बोकेर गाउँ तिर प्रस्थान ग¥यो । बाटोमा हिड्दा मन सिमलको भुवासरि हलुङ्गो भएको महसुस ग¥यो उसले र सुन्तलीले पनि । केटा केटीहरू त झन् को छिटो हिड्ने भनेर फुर्किंदै बाआमाका अधिअघि दगुरेका थिए । उनीहरू घरमा पुगेपछि नाति,नातिनी, छोरा बुहारी एकसाथ आएको देखेर बृद्ध बाआमालाई औसिको रातमा एक्कासी चारओटा  चन्द्रमा उदाएको जस्तो अनुभूत भयो ।

 लालेकी बृद्धआमाले खुसी हुँदै आकासतिर फर्केर जम्लेहात गरि भनिन् “ हे ! कोरोना ! तिमीलाई धेरै धन्यवाद छ । पोहोर परार देखिनै छोरा बुहारीलाई घरमा आओ भनेर मरिहत्ते गरि बोलाउँदा पनि नटेरी बसेका थिए । आज तिमिले घर पठाइदियौ  । परिवार विना उजाडिएको हाम्रो घरमा फेरि बहार ल्याइदियौ । हाम्रो लागि तिमी देउतानेै भयौ । हे ! कोरोना देउता तिमीलाई कोटी कोटी धन्यवाद ।

 

 ६)  कोरोनाको जय होस

  “ए ! बूढी कोरोनाले हामीलाई त चिठ्ठै पादिर्यो नि हगी ?”खुसीले गद्गद् हुँदै ठूलेले भन्यो ।

“त्यै त वडाबाट राहत थापेर नि ल्याइयो । साँझ विहानको खाना निशुल्क भोजन बाँडेका ठाउँमा गएर खाइया छ । कोरोनाको जय होस् । ठूलीले हाँस्दै भनि ।

“त्यति मात्र हो र ? हाम्री फुपुकी छोरी नितुका श्रीमान छिमेकी नगर पालिकाको वडाध्यक्ष क्या.. तिमीलेनि चिन्छ्योै नि । उहाँले मलाई फोन गरेर तपाईको भागमा ५ बोरा चामल,१ बोरा दाल,एक जर्किन तेल, पाँच पाकेट नुन,१ बोरा आलु छुट्टाएर राखिदिएको छु । लिन आउनु भन्नुभएको छ । आफ्नो मान्छे ठाउँमा भएसि मौकामा काम लाग्छ भनेको यही हो ”। ठूलेले गर्व ग¥यो ।

ठूलीले भनी “ ए ! होर ? त्यसो भए  हामीले खाएरै नसकिने भयो । बरु बेचेर  पैसा ब्याजमा लाउनु पर्छ । ब्याजको स्याज असुलेर छिट्टै लखपति हुुनपर्छ बुझ्नु भयो ?”

“तिमीले ठिक भन्यौ । अस्ती पल्लो घरमा डेरा गरि बस्ने मङ्गलेले मसँग जति ब्याज लिए नि लिनुस् दाइ पन्ध्रहजार सापटी दिनुस् भनेर हत्ते गर्दै थियो । लकडाउनले गर्दा भएको काम छुटी हाल्यो यहीबेला श्रीमती सुत्केरी भई । पैसा नभएर आपतमा परेकोछु पनि भनेको थियो ”। ठुलेले बेलीविस्तार लायो ।

यस्तै अप्ठेरो पर्दा त हो नि ब्याज धेरै पाइने” हिहिहि गर्दै हाँसी ठूली । ठूलेले पत्नीको सहमतीमा राहतको सामान सहित घरमा भएको सबै खाद्यान्न बेचेर आएको पैसा हत्तनपत्त ब्याजमा लगाइहाल्यो । पैसाको खाँचो परेका अरुले पनि सहयोग गर्न ठूलेसँग अनुरोध गरे । उसले नाक फूलाएर भन्यो“भै हाल्छ नि । म भएपछि तपाईहरूलाई पैसाको के दुख ? भोली मेरो एक ठाउँमा जाने काम छ । त्यहाँबाट फर्किएपछि फेरि भेटौला है ।

साँझ ठूले घर आएपछि पत्नीलाई भन्यो“ भोली दुबैजना नितुको घर गइन्छ । पाहुना भएर मिठो खाना खाइन्छ,हामीलाई भनि छुट्याइ राखेको रासन पनि ल्याइन्छ । कसो ठूली?”। पतिको मुखमा हेरेर ठूली मुसुक्क हाँसी ।

 भोली पल्ट विहान उठेर ठूलीले न्वाइध्वाइ गरि देउतालाई धुप बल्दा कोरोनाको जय होस्,भन्न भुलिन ।

केही बेरमै रीजर्भ गाडी आइपुग्यो।ठूलेका जोडी गाडीमा बसेर फुर्किदै नितुको घरतिर लागे ।

जाँदै गर्दा बाटोमा ठूलीले अरुको अग्लो घरतिर औंलाले देखाउँदै भनि “हामी पनि उ..त्यस्तै घर बनाम न है?सँधै भुइँकोठे घरमा कति बस्नु ?”

ठूलेले“भो भो त्यस्तो अग्लो घर बनाउन हुन्न क्या.. भुइँचालो आउँदा धेरै हल्लाउँछ” । भन्दा उँ.. तपाइपनि भन्दै ठूली लजाइ ।

एकै छिनमा गाडी नितुको घर नेर पुगेर टक्क रोहिकयो । त्यसपछि ठूलेका दम्पती गाडीबाट ओर्लेर नितुको कम्पाउण्ड गेट आगाडि गएर ठिङ्ग उभिए । अघिपछि मान्छेका भीड लाग्ने त्यो घर आज सुनसान देखेर ठूलेलाई अचम्मेै लाग्यो ।ऊ त्यहीं नजिकको छिमेकीको मा गएर सोध्यो “त्यो घरकामान्छे कता गएछन् ? तपाईलाई थाहा छ?”

छिमेकीले जवाफ दिंदै भने “ए ! त्यो भ्रष्टाचारी वडाध्यक्ष, त्यसलाई त हामीले हिजै थानामा लगेर बुझाई सक्यौं । वडाका विपन्न वर्गलाई राहत वितरण गर्न भनि आएको खाद्यान्न जथाभावी उसका नातापातालाई पो बाड्दो रैछ बड....”।

प्रकाशित: ७ भाद्र २०७७ ०८:३१ आइतबार

अक्षर