२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मृत्युञ्जयको निम्तोमा

नियात्रा

निर्मोही व्यास

जुगौंदेखिको रहर थियो मेरोे, साइत भने बल्ल जु¥यो । जगदीश घिमिरेदाजुले जुराइदिनुभयो आफ्नो जन्मथलो मन्थलीबेसीमा आफूले आयोजना गरेको रामेछाप साहित्य महोत्सवमा स्नेहपूर्वक निम्त्याएर ।

२०६५ साल पुस २३ गते बिहानको ठीक छ बजेर चालीस मिनेट जाँदा काठमाडौं सरस्वतीनगरको आफ्नो आवासबाट बाटो लागेँ म ।

कोटेश्वरचोकमा पुगेपछि ‘रामेछाप साहित्य महोत्सव, पुस २३—२७, मन्थली,रामेछाप’ लेखिएको तूलले सज्जित बा.२ ख २३४३ नम्बरको सगरमाथा यातायातको आरक्षित बसमा चढेर थपक्क बसेँ । टनाटन थियो बस । रोचक घिमिरे, नगेन्द्रराज शर्मा, रामजीप्रसाद उपाध्याय पोखरेल, कृष्णमुरारि भण्डारी, कपिल अज्ञात, धनराज गिरी, सीताराम अग्रहरि, छविरमण सिल्वाल, घिमिरे युवराज आदि काठमाडौंदेखि चितवनसम्मका विभिन्न उमेरसमूहका साहित्यकार–पत्रकारज्यूहरूको मण्डलीमा मिसिई कहिले भेडा भेडासँग र बाख्रा बाख्रासँग भएर त कहिले चाहिँ भेडा बाख्रासँग र बाख्रा भेडासँग भएर हाँस्तै–गाउँदै–रमाउँदै मन्थलीतिर हुइँकिएँ म ।

जडीबुटीमा पुगेपछि त्यहाँ बनेपाबन्दको खबर पाइएकाले त्यहाँबाट पूर्वका साटो उत्तर लागेको थियो बस । क्रमशः पेप्सीकोला, गोकर्ण दक्षिणढोका, थली, डाँछी, इन्द्रायणी र साँखु हुँदै स्वस्थानीको सालीनदी तरेर जहरसिंह पौवामा काठमाडौँ जिल्लाको सीमा नाघी सिन्धुपाल्चोक जिल्लामा प्रवेश गरेर नाङ्लेभारे, बाहुनेपाटी आदि गाउँठाउँलाई छाड्दै अघि बढ्यौँ । अघिल्तिर अविरल बगिरहेको थियो रमेश विकलज्यूको इन्द्रावती । कवि केदारमान व्यथितको जन्मथलो बाहुनेपाटीदेखि निकै बेरसम्म इन्द्रावतीको किनारैकिनार अविरल बगिरह्यौँ हामी पनि इन्द्रावती नै भएर ।

काभ्रेपलान्चोक जिल्लाकोे सिपाघाट, महादेवस्थान, हिंगुवापाटी, रानीटार आदि बस्तीहरू छिचोलेर चाखोलाको तीरैतीर अरू केही बेर बेगिएपछि बल्ल जिरोकिलो पाँचखाल भन्ने ठाउँमा भेटिएको थियो अरनिको राजमार्ग र हामी फेरि चाखोलाकै साथ लागेर मूलबाटामा कुद्दै पुगेका थियौँ दोलालघाट । ‘जय होस् तिमीहरूको’ भनेर बनेपा बन्दकर्ताहरूप्रति मनमनै लाखलाख कृतज्ञता अर्पण गरेँ मैले । किनभने त्यही निहुँमा मैले साँखुदेखि जिरोकिलोसम्मको नितान्त नौलो बाटो र नौलो ठाउँको यात्रा गर्न पाएको थिएँ ।

दोलालघाटमा इन्द्रावतीको पूल तरेपछि बनदेउ हुँदै सुनकोसीको तीरैतीर प्रवाहको उल्टो दिशामा बग्दै केही बेरमा खाडीचौर पुग्यौँ । बनदेउदेखि यताको सिन्धुपाल्चोके भूभाग फेरि नितान्त नयाँ थियो मेरा लागि । केही अघि बढेपछि आइपुग्यो बलेफीखोला । ‘बलेफी’ अहा... कस्तो स्वादिलो नाउँ ! मलाई त बर्फी जस्तै पो लाग्यो नाउँ पनि,ठाउँ पनि । यो सुनकोसीको सहायक नदी रहेछ । बलेफीखोला तरेपछि टेक्न पुगियो बलेफीबजारमा र त्यसपछि आइपुग्यो खाडीचौर । तिब्बतको खासाबजारका मालसामानले भरिभराउ र झकिझकाउ खाडीचौर बजारको राम्रो भनिने एउटा होटेलमा खानपिन गरेपछि एकछिन छरियौँ हामी आफूखुशी यताउती ।

म साथीहरूको साथ छाडेर हुरी भई पुगेँ एक्लै नजिकै दायाँतिरबाट सुनौला छालमाथि छाल उठाएर बोलाइरहेको सुनकोसीको निम्तो मान्न । सुनकोसीको वारिकिनारमा रहेको बाल शिक्षा उच्च माध्यमिक विद्यालयका युनिफर्म लगाएका स–साना विद्यार्थी बाबु–नानीहरू विद्यालयको फराकिलो र पारिलो चउरमा खेल्दै थिए । मध्य हिउँदमासको कञ्चन र कलकलाउँदो सुनकोसीको सौन्दर्यमा भुतुक्कै भएँ म । ०४८ साल कात्तिक आधाआधीको कुनै दिन दोलालघाटमा इन्द्रावती र सुनकोसीको दोभानमा दुई नदीबीचकोे सानो चउरमा पल्टेर दुवैका कञ्चन छालका बाछिटाहरूको अभिषेक लिँदै घन्टौँ बिताएको थिएँ मैले । अहिले मसित त्यो फुर्सतिलो समय थिएन । तैपनि घरी अँजुलीमा लिएर त्यसलाई म्वाइँ खाएँ मैले त घरी तटमा बसेर दुवै गोडालाई त्यसको महाप्रवाहमा लहराइदिएँ । म निर्मोही, सुनकोसीको मोहनीमा यसरी चुर्लुम्मै डुबेँ र आफ्नी मायालुसित पोखिएँ मालिनी छन्दमा —

‘छलछल सुनकोसी छल्कियो सम्झनाको

झलझल मृदु झल्को झल्कियो कल्पनाको

ढकमक सयपत्री आँगनीको डिलैमा

प्रिय ! बस यसरी नै नित्य मेरो दिलैमा’

उफ्...! साथीहरूको बोलाहटले भङ्ग भयो मेरो समाधि । अनि फेरि बस चढ्यौँ र बायाँ, वारिकिनारको बाटोलाई तातोपानी–खासातिर पठाएर आफूहरू चाहिँ दायाँतर्फको मूलबाटो पछ्याई सुनकोसीको पूल तरेर उकालिँदै–ओरालिँदै–सम्थरिँदै अघि बढ्दै गयौँ । बाटामा भेटिएको ‘ठूलो पाखर’ भन्ने ठाउँमा कुनै रमाइलो मेलाजात्राको तयारी हुँदै रहेछ । त्यहाँबाट अघि बढेर सिन्धुपाल्चोकको चर्चित मुडेबजारमा भित्रिएपछि कैलालीको मुडाबजारलाई झलक्क सम्झेँ मैले । खरीढुङ्गाबाट बनेका दैनिक उपयोगका विभिन्न सामानका निम्ति प्रख्यात रहेछ मुडे । त्यसपछि आइपुग्यो दोलखाको चरीकोटबजार । यहाँ केही छिन गाडी रोकेर खुट्टा तन्काउने र खाजा खाने काम गर्यौँ हामीले ।

प्रसिद्ध दोलखा भीमसेनको स्थानमा जान त्यहाँबाट देब्रेतिर बाटो छुट्टिँदो रहेछ र त्यो केही किलोमिटर परै पनि रहेछ । त्यसैले समयको अभावको कारणले त्यस स्थानको अवलोकन र भीमसेनको दर्शनलाई पनि खाडीचौर र मुडेको किनमेललाई जस्तै रामेछापबाट फर्कँदाखेरिका लागि साँच्यौँ सबैले । अँ, फेरि अघि बढ्यौँ । गौरीशङ्कर हिमाल छर्लङ्ङै देखिँदै थियो नजिकै उत्तरतिर । कतै बाटोको दायाँबायाँ दुवैतर्पm टन्नै सल्लाघारी शोभायमान थियो भने कतै चाहिँ पहेँलपुर तोरी र हरिया गहुँका पोटिला बाला झुलेका कान्ला र फराकिला फाँट आँखा र मनलाई लोभ्याउँथे । जाँदा जाँदा तामाकोसीको नयाँ पुल आइपुग्यो र अब तामाकोसीसित सहयात्रा आरम्भ भयो हाम्रो ।

त्यसपछि गोपीखोलाको पुल तर्यौँ । अनि भिरकोट, मालु, मिल्टी, फुलासी, देवीटार आदि गाउँठाउँहरूलाई ‘स्वागतम्’ र ‘बिदा’ भन्दै तामाकोसीको बेलिब्रिजमा रमाउँदै र किर्नेको हिमाल पावर लिमिटेड नाउँको बिजुलीघरको मनमोहक दृश्यमा हराउँदै विकराल तामाकोसीको साथ लागेर मन्थलीतिर हानियौँ । राती दस बजेतिर पुग्यौँ मन्थलीबेसी वा मन्थली बजारमा । र, बसबाट ओर्लेपछि एउटा सानो उकालो काटेर भित्रियौँ जगदीश निवासको विशाल परिसरमा ।

मूलबाटोदेखि अलिकति माथिको डाँडामा फराकिलो जग्गामा रहेछ जगदीशदाजुको अत्याधुनिक सुविधासम्पन्न ठूलो घर । र, मन्थलीबसाइको अवधिभरिका लागि हाम्रो गाँसबासको व्यवस्था पनि त्यहीँका चोटाकोठामा मिलाइएको रहेछ । जानासाथ हातमुख पखालेर खानपिन गरी बीच आँगनमा वरिपरि लहरै राखिएका गोलमेचहरूमा बसेर केही बेर बडेबडे मुढाको धुनी तापेर जिउ तताइवरी विश्रामको लागि गुँडुल्कियौँ आ–आफ्ना निर्धारित ओछ्यानहरूमा ।

लगभग १५÷१६ घण्टा लामो बसयात्रा गरी मध्य जाडोयामको मध्यरातमा हारेर थाकेर पुगेकोले हो कि वा नयाँ ठाउँको पहिलो रात्रिवास भएर हो कुन्नि मलाई त्यस रात निकै बेरसम्म निद्रै परेन ।

पाँचदिने कार्यक्रमका निम्ति डाकिएका हामीले त्यसपछिका तीन दिन कार्यक्रमका आयोजक जगदीशदाजु र दुर्गाभाउजूको आत्मीयता र हार्दिकताले लफ्रक्कै भिजेको मेजमानीमा डुबेर, मन्थली र त्यसको सेरोफेरो डुलेर र कार्यक्रममा भुलेर बितायौँ । त्यस क्रममा पुगेको भोलिपल्ट बिहानको भोजनपछि हिजो आएकै आरक्षित बसमा चढेर मन्थलीदेखि रामेछापबजारसम्मको बाटोमा पर्ने विभिन्न गाउँठाउँमा जगदीशदाजु र दुर्गाभाउजूद्वारा समर्पणभावले सञ्चालित तामाकोसी सेवा समिति नाउँको विशुद्ध सामाजिक सेवामुखी संस्थाको तत्परतामा भएको सामुदायिक विकासको गतिविधि हेर्न,बुझ्न र रामेछापबजार डुल्न गयौँ ।

रामेछापबजारभन्दा अलि वर्तिरको भँगेरी गाउँमा पुगेपछि त्यहाँ बाटाका मुन्तिर एउटा लामो र ठूलो इँटाको गारो अनि झिँगटीको छानो भएको दुइतले घरकै छेउमा अरू बनोट त्यस्तै खालको तर छानो चाहिँ खरले छाएको अर्को एउटा घर देखियो । शहीद गङ्गालाल र उनका सहोदर भाइ पुष्पलालको जन्मथलो बन्ने सौभाग्य पाएको त्यस ताकाको ठाकुरदासको घर भएको ठाउँ त्यही नै रहेछ । आज अनायास त्यस पवित्र थलोमा टुप्लुक्किन पाउँदा निकै भावुक भएँ म । र, त्यहीे मोहनीले गर्दा केही बेर त्यस ऐतिहासिक थलोकोे सेरोफेरोमा भुलियौँ हामी । भँगेरीगाउँका अनेक घरका श्रद्धालु आमा र दिदीबहिनीहरूले आ–आफ्ना बारीबगैँचामा लटरम्मै फलेका र पाकेर भरेली भएका रसिलापोसिला जुनार हाम्रो ठूलो मण्डलीलाई बोटबोटबाट टिप्तै खुवाउँदै गरेर धन्य तुल्याए ।

रामेछापको बस्ती र हाटबजारमा पुगेपछि त्यसको भौगोलिक, प्राकृतिक सौन्दर्य, खानेपानीको सुविधा र बजारको व्यवस्थितता, स्नातक स्तरसम्म पढाइ हुने क्याम्पसको सञ्चालन आदि सामाजिक विकासका साथै तिनको विस्तारको योजना लगायत तासेसका अनेक कुराको मोहनीले लट्ठिनसम्म लट्ठिएँ म । मैले हालसम्म देख्न पाएका पूर्वेली पहाडी बजारहरू ओखलढुङ्गा, सोलु–सल्लेरी, चरीकोट, सिन्धुली आदिमा जस्तै र कतिपय अर्थमा त अझ तिनमा भन्दा पनि बढी रमाएँ म रामेछापबजारमा । यसरी रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सारिनुअघि लामो समयसम्म त्यो सौभाग्य सँगाल्न पाउँदै आएको र भौगोलिक–प्राकृतिक सौन्दर्यका दृष्टिले मन्थलीभन्दा अतुलनीय रूपमा राम्रो रामेछापबजारको मोहक स्वरूपमा आफूलाईसमेत भुलेर त्यस दिन त्यहाँ केही बेर साँच्चै हराएँ म । र त्यही हराएकै अवस्थामा बजारको सेरोफेरो चहार्दै जाँदा बाटाको मास्तिर गौरीशङ्कर उच्च मा.वि. को भव्य भवनको मूलढोका भएतिर पुगेँ । मेरो साथमा हुनुहुन्थ्यो मित्रद्वय हरिहर खनाल र धनराज गिरी ।

त्यस उच्च मा.वि.को छरछिमेकमा रहेका धुलाम्मे बारीका पाटाछेउ एकदुइवटा ससाना खरका छाप्रा थिए । हामी त्यहाँबाट छर्लङ्ङ देखिने हिमालको मोहनीमुहार र केही परका गाउँबस्तीहरू हेर्दै बजारडुलुवा साथीहरूलाई कुर्ने निहुँमा डुलफिर गर्दै ती छाप्राहरू भएतिर लाग्यौँ । त्यतिबेलै एउटा छाप्राको आँगनमा उभिरहेका एक जना जुँगामुठे अधबैँसे तामाङबन्धु अप्रत्याशित रूपमा हाम्रो सामु प्रस्तुत भए । नितान्त नौला र अपरिचित ती गाउँले कृषक जुरुक्क एउटा कुर्सी बोकेर हाम्रो छेउमा आए ।

उनले हामी तीनै जनालाई खै कुन्नि किन चाहिँ पो हो खाँटी कम्युनिस्ट सैनिकको पारामा दाहिने हातलाई मुठी पारेर माथि उचाली उच्च स्वरमा ‘लाल सलाम’ को अभिवादन अर्पण गरे । हामी तीनै जनाले एकदमै अचम्म र रमाइलो मान्दै हँसिलो मुखले उनलाई उसैगरी अभिवादन फर्कायौँ र उनीसित उनकै पाराले बलियोगरी हात पनि मिलायौँ । कुरा खोतल्दै जाँदा थाहा भयो — उनको नाउँ ‘करसाङ तामाङ’ रहेछ ‘कामरेड करसाङ तामाङ’ । उनी पक्कापक्की रूपमा प्रचण्डपथीय माओवादी रहेछन् । उनले हामीलाई त्यस दिन आफूकहाँ नै बस्न आग्रह गरे । केही खाइदिन आग्रह गरे । केही अर्थात् घरेलु रक्सी वा जाँड यस्तैमध्येको केही । उनी स्वयं त्यस्तो पदार्थको मजैले सेवन गरेर हाम्रो स्वागतमा तत्पर भएको कुरा हामी राम्ररी बुझिरहेकै थियौँ । उनीप्रति धन्यवाद अर्पँदै हामीले बाटो ततायौँ । खै किन र कसरी उनले हामीलाई पनि आफूजस्तै ‘खाँटी माओवादी कामरेड’ ठाने त्यो उनै जानून् तर जङ्गबहादुरको घोडामा चढेका भए पनि हामीलाई उनको त्यस्तो बोली–व्यवहारले क्षणिक रूपमा नै भए पनि गजबको मनोरञ्जन गराइदियो ।

आ–आफ्नो राजीखुसीअनुसार रामेछाप बजारको केही घण्टे डुलाइपछि सबै बटुलिएर गाडी चढी साँझ मन्थली फर्कियौँ । रामेछाप–मन्थलीमा भव्य अस्पताल, मन्थली बचत संस्था, खाने पानी आदिको सुविधा प्रदान गरेर सरल गाउँलेहरूका मनमन्दिरमा देवतुल्य स्थान प्राप्त गरेका जगदीशदाजु र दुर्गाभाउजूको समर्पणमय समाजसेवी व्यक्तित्वबाट अभिभूत भएँ म ।

अघिल्लो दिनको काठमाडौँदेखि मन्थलीसम्मको पट्यारलाग्दो लामो बसयात्रा र त्यस दिनको पनि बिहानदेखि बेलुकासम्मको रामेछापको धुले बसयात्रा यी लगातार दुइदिने पर्वतीय भूगोलका ढुङ्गे र धुले सडकको बसयात्राले थङ्थलिइएर ज्वरो नै फुट्यो मलाई । अनि, जगदीशदाजुकै निर्देशनमा उही दैलामुनिको तामाकोसी सेवा समितिको अस्पतालका डाक्टर एवं कुशल कवि सुमन कर्माचार्यको सौजन्यबाट अस्पतालद्वारा निःशुल्क रूपमा उपलब्ध गराइएको औषधि सेवनपछि अर्को दिनमै मेरो रोग च्वाट्टै निको भयो ।

२५ गतेको दिनलाई बिहानको भोजनउप्रान्त महोत्सवको केन्द्रविन्दुका रूपमा आयोजित औपचारिक र अत्यन्त रमाइलो साहित्यिक कार्यक्रममा सहभागी भएर सार्थक तुल्यायौँ हामीले । काठमाडौँबाट गएका हामीहरूबाहेक रामेछाप जिल्लाका पुराना र नयाँ पुस्ता समेत गरी अनेकौँ कविहरू भेला भएका थिए त्यस साहित्यिक मेलामा र कविताको थरीथरी स्वाद चाख्न पाइएको थियो । कविगोष्ठीको अन्त्यतिर धन्यवाद ज्ञापनका क्रममा बोल्दै जगदीशदाजुकी धर्मपत्नी दुर्गाभाउजूले भावविह्वल हुँदै प्रकट गरेको “रामेछापका यिनै जनताको आशीर्वादले नै जगदीश बाँचिरहेका छन्” भन्ने अभिव्यक्ति बाट गोष्ठीका सम्पूर्ण सहभागी जन भावाकुल भएका थिए ।

यी औपचारिक कार्यक्रमहरूका अतिरिक्त प्रत्येक दिन राती आवासको आँगनमा गोल बाँधेर बसी मुढाको आगो ताप्तै खानपानका साथ घन्टौँसम्म अनौपचारिक रूपमा चल्ने रसिलो धुनीगफको कार्यक्रमको रमाइलोको बयान त झन् कसरी गर्नु र खै !

उमेरले बूढा भए पनि सृजनशीलताका हिसाबले चिरयुवा कृष्णचन्द्रसिंह प्रधान र कमल दीक्षितजस्ता अग्रजहरूको स्नेह–सान्निध्य तीन दिनसम्म लगातार पाइराख्नु पनि मेरो निम्ति सौभाग्यकै अवसर थियो । मन्थलीबजार र त्यसको सेरोफेरोको फन्को पनि मैले लगाइसकेकै थिएँ । नगेन्द्रदाजुको साथ लागेर उहाँको र जगदीशदाजुको जन्मघरका साथै उहाँहरूका काका हृदयराज शर्मा र अनि टाढाका काका संस्कृत र नेपाली साहित्यका अर्का विशिष्ट कवि स्व.भरतराज मन्थलीयज्यूको घर र त्यसको सेरोफेरोको पनि अवलोकन गरेर तीर्थयात्राको आनन्दानुभूति सँगाली तृप्त भएँ म ।

त्यस क्रममा जगदीशदाजुको चिरस्मरणीय उपन्यास ‘लिलाम’ को केन्द्रीय परिवेश बन्ने सौभाग्य पाएको तामाकोसीको वारितीरमा अवस्थित माझीहरूको पुरानो बस्ती ‘गडवारी’ गाउँतिर डुल्न गएर त्यस उपन्यासको नायकको लिलाम भएको घरबारीमा पुगेको बेला चरम संवेदित हुन पुगेँ म । साथै त्यही गाउँअघिल्तिरको फराकिलो चउरमा गाउँको छेउमै एउटै वेदीमा स्थापित, त्यस भेकमा जन्मेर नेपालका वीर सपूतका रूपमा सदा स्मरण गरिने ‘तीन लाल’ (कृष्णलाल, गङ्गालाल र पुष्पलाल) को प्रतिमाको दर्शन गरेर अभैm धन्य तुल्याएँ मैले आपूmलाई ।

त्यस सीमित समयमा र अझ त्यो पनि व्यस्त कार्यक्रमबाट फुर्सत मिलेको समयमा जे जति घुम्न–डुल्न सकिन्थ्यो, त्यसको पूरापूर सदुपयोग गरेँ । मन्थलीबसाइको क्षण–क्षणलाई सार्थक तुल्याएँ मैले तामाकोसीको तीरैतीर एक्लै एक्लै टाढा टाढासमेत घुम्न गएर । त्यस क्रममा रोचकदाइ र नगेन्द्रदाइबाट मन्थलीबेसीको पुरानो सामाजिक इतिहास सुन्न पाएँ । साथै, त्यहाँका ठूलाठालूमा गनिने केही ब्राह्मणपरिवारबाट शोषित–उत्पीडित भएर निर्वासित समेत हुन पुगेका निम्नवर्गीय जनहरूको जमातले मन्थलीलाई दायाँबायाँ पारेर दुईतिरबाट बग्ने र बर्खायाममा विकराल रूप धारण गरेर त्यस बेसीको सातो लिने गरेका र बेग्ला बेग्लै रूपमा नजीकैको तामाकोसीमा गई मिसिने रणजोर र सुकाजोर नाउँका दुई खोलाहरूको चर्तिकला देख्तै, बुझ्दै र भोग्दै सहँदै आएका उनीहरूको बारेमा पनि । ती निरीह मनुवाँहरूले मन्थलीबेसीका ठूलाठालूहरूसित आपूmले साटो फेर्न नसक्ने हुँदा त्यसका निम्ति प्रकृतिको सहारा लिन प्रतीकात्मक ढङ्गबाट विशाल रूप–आकारको तामाकोसीलाई सम्बोधन गर्दै—

“रणजोर सुकाजोर एकै गराइदेऊ

मन्थलीको बेसीलाई बगर बनाइदेऊ”

 

भन्ने गीत जोडेर गाउने गरेको कुरा पनि मैले दाजुहरूबाट त्यहाँ सुन्न पाएको थिएँ ।

मलाई बिछट्ट रहर थियोे पकरबास गाउँमा गएर, पं. छविलाल ढुङ्ेगल सूरिको, बेताली गाउँमा गएर धरणीधर कोइरालाको, डुम्रीखर्कमा गएर साम्बभक्त शर्मा सुवेदी ‘मुरारि’ को, ,सैपु गाउँमा गएर दाताराम शर्मा पौडेल, हबल्दार देवीप्रसाद पौडेल र भूपहरि पौडेलको, सालुपाटी गाउँमा गएर पद्मप्रसाद भट्टराई, सोमनाथ शर्मा घिमिरे व्यास, रोचक घिमिरे र माधव काफ्लेको, चिसापानी गएर गोविन्द शर्मा विकलको एवं कठजोर गाउँमा गएर कृष्णलाल अधिकारीको अर्थात् रामेछाप जिल्लाका विभिन्न भागमा रहेका अनेक गाउँठाउँहरू चहारेर पुराना र नयाँ पुस्ताका संस्कृत र नेपाली वाङ्मयका स्वनामधन्य साधकहरूका जन्मभूमिको दर्शन गरी आफूलाई कृतार्थ तुल्याउने । तर परिस्थिति नितान्त प्रतिकूल थियो किनभने अब मसित जम्माजम्मी एक दिन मात्र बाँकी थियो २६ गतेको । २७ गते त बिहानै काठमाडौँ प्रस्थान गर्नुपर्ने थियो निर्धारित कार्यक्रम अनुसार । त्यसैले, मैले मन मारेर आफ्ना ती असीमित रहरहरूलाई दुइवटामा सीमित पारेँ । तीमध्ये एउटा थियो नेपालका प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीको जन्मथलो हेर्न कठजोरगाउँ जाने र अर्को थियो रोचकदाइको जन्मस्थल हेर्न सालुगाउँ जाने ।

रोचकदाइ २५ गते दिउँसो नै जाँदै हुनुहुन्थ्यो सालु भोलिपल्ट २६ गते बेलुका फर्कने गरी । उहाँजस्ता समर्पित साहित्यसेवी अग्रजको सहयात्री भएर उहाँकै जन्मथलोमा पुग्नु मेरा लागि कम्ती खुसीको कुरा हुने थिएन र उहाँ पनि मलाई स्नेहपूर्वक आफूसँग लैजान तत्पर हुनुहुन्थ्यो । कठजोर पुग्नु त झन् मेरा निम्ति अत्यावश्यक नै थियो । तर, बीचमा बाँकी थियो घुमीफिरी जम्माजम्मी एउटै मात्र दिन, उही २६ गतेको । समस्याको निदानका लागि मैले नगेन्द्रदाजु, रोचकदाजु र जगदीशदाजु तीनै जनासित आफ्ना लालसा र समस्या पोखेँ ।

सबैको सल्लाह के आयो भने ‘समयाभावले गर्दा एक अर्काको ठीक विपरीत दिशा र दूरीमा रहेका कठजोर र सालु यी दुइटै गाउँमा जान पटक्कै सकिँदैन । त्यसैले कुनै एक ठाउँमा जाने मानसिकता बनाएर गन्तव्य निर्धारण गर्नु आवश्यक छ ।’ त्यसपछि मैले प्राथमिकताको सूचीमा कठजोरलाई राखेँ जुन स्वाभाविक नै थियो ।

२६ गते बिहान खाजा खाएर उकालो लाग्ने भएँ म जगदीशदाजुका कृपाले उहाँकै मोटरमा सवार भएर । सहयात्री र पथप्रदर्शकको व्यवस्था पनि दाजुले नै मिलाइदिनु भएको थियो । मेरा भोलिका सहयात्री एकदमै रोजा हुनुहुन्थ्यो र उहाँ हुनुहुन्थ्यो महेन्द्रोदय बहुमुखी सामुदायिक क्याम्पस, मन्थलीका क्याम्पस प्रमुख श्री गुञ्जबहादुर श्रेष्ठ । अझ गजब त के भने उहाँ कठजोरकै बासिन्दा हुनुहुँदो रहेछ । मन्थलीमा भित्रिएको भोलिपल्टै मेरो परिचय भइसकेको थियो उहाँसित र हिमचिम पनि बढिसकेको थियो । त्यसैले कठजोर यात्राको कार्यक्रम बनेको बेलादेखि नै म झिज्याइरहेको थिएँ गुञ्जजीलाई त्यस ठाउँका बारेमा सोधिराखेर । मलाई कति बेला पुगूँजस्तो भइरहेको थियो त्यस पुण्यभूमिमा ।

साँँच्ची भन्ने हो भने मैले पदयात्रा नै गर्न खोजेको थिएँ कठजोरको । मन्थलीदेखि जम्माजम्मी दश किलोमिटरको दूरी त हो । त्यसैले म चाहन्थेँ आनन्दले हिँडेर पुगूँ र एक रात बास पनि बसूँ त्यस तीर्थस्थलमा । बास र गाँसको मलाई कुनै अप्ठ्यारो हुने थिएन । किनभने कठजोरगाउँसित मेरो भावनात्मक साइनो मात्र नभएर रगतको साइनो समेत गाँसिएको छ । अझ त्यो पनि कृष्णलालका वंशज अधिकारी खलकसितै । मेरो मामाससुराली र मेरो भाइ शुकदेवको चाहिँ ससुरालीकै साइनो ।

काठमाडौँमा रहेर ‘अन्तर्राष्ट्रिय मन्च’ पत्रिकाको सम्पादन गरिरहेका रामकुमार अधिकारी मेरा मामाससुरा हृदयराम अधिकारीका जेठा छोरा हुनुहुन्छ । मन्थलीबाट उहाँसित फोनसम्पर्क गर्दा उहाँले आफू काठमाडौँमै भएको जानकारी गराउनुभएको भए पनि पिताजी र परिवारका अरू सदस्य कठजोरको घरमा भएको बताउनुका साथै म उता जाने कुरा थाहा पाएर खुसीले झुसी हुँदै घरमा फोन पनि गरिदिनुभएको थियो । तर पनि कठजोरको पदयात्रा मेरो पुर्पुरोमा लेखिएकै थिएन भन्नुपर्यो भाग्यवादी भएर भन्नुपर्दा । किनभने, जगदीशदाजुका अनुसार मेरा निम्ति एकै दिन मन्थली—कठजोर—मन्थलीको यात्रा सम्भव नै थिएन । अनि फेरि २७ गते त बिहानै मैले काठमाडौंबाट गएका साहित्यिक मित्रहरूको मण्डलीमा मिसिएर उही रिजर्भ गरिएको बसमा मन्थलीबाट काठमाडौंतर्फ प्रस्थान गर्नु थियो ।

कठजोरबाट बिहान उठेर कुदाकुद गर्दै त्यो बस समात्नु प्रायः असम्भव नै थियो । त्यसैले देश–काल–परिस्थितिगत बाध्यताले गर्दा नै मैले कठजोरको यात्रा मोटरको आरामदायी आसनमा बसेर थाल्नुपर्ने थियो भोलि । जे होस् कठजोरमा रातै बस्ने गरी गएर त्यहाँका धेरैभन्दा धेरै कुरा हेर्ने–बुझ्ने मेरो धोकोलाई समयसीमाले बन्दी बनाए पनि आखिर त्यस ठाउँको दर्शन–अवलोकनको सौभाग्य त मिल्दै थियो नि मलाई । त्यसैमा म सन्तुष्ट थिएँ र भोलि एकाबिहानै थालिने त्यस साहित्यिक तीर्थस्थलको यात्राको अतिरिक्त उमङ्ग र आनन्दको कल्पनाले फुर्फुरिँदै थियो मेरो मन साँझको धुनीगफको रमाइलो रन्कोलाई पनि उछिनेर ।

प्रकाशित: ४ भाद्र २०७७ ०९:५१ बिहीबार

अक्षर