२७ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

मायाको अथाह भूगोल पिता

कविता

अन्शु आचार्य “उमा”

कसैले मसंग सोध्दै थियो, ईश्वर देखेकी छौ

मायालाई तिमी कसरी परिभाषित गर्छौ

म मन्द मुस्कानसहित एउटै जवाफ दिन्छु ‘पिता’ ।

मायाको एउटै परिभाषा ‘पिता’ ।

साच्चै पिता, शक्ति, सुरक्षा र हिम्मतका प्रतिमूर्ति हुन्,

ज्ञान, सागर र आर्दशका धरोहर हुन् ।

खै के उपमा दिऊँ म ति महान पुरुषलाई,

आशा, भरोसा र प्रेमका पुजारी हुन पिता ।

आमाले उठाएको कोखको भार देख्नेले,

पिताले उठाएको ‘जीवन संघर्ष’ को भार किन देख्दैन ?

त्यसैले त, मायाको एउटै परिभाषा ‘पिता’ ।

मेरा सुकोमल औंला समाएर तातेताते हिँड्न  सिकाउनु भो, 

र त आज जीवनमा दौडिन सक्ने भएकी छु, 

म लड्दा उठाउँदै आत्मविश्वासी बन्न सिकाउनु भो, 

त्यसैले त आज लडेर पनि उठ्दै दौड्न सक्ने भएकी छु, 

आफैप्रति सायद त्यति विश्वास थिएन होला जति हजुरले गर्नु भो,

र त आज स्वावलम्बी भएर जिउने भएकी छु, 

सधै इमान्दार भई हटेर होइन डटेर लड्न सिकाउनु भो,

त्यसैले त आज अटल साहस र हिम्मतले संघर्ष गर्दै छु, 

त्यसैले त भन्छु, मायाको एउटै परिभाषा हो ‘पिता’ ।

आफ्नो खुट्टामा तुना टालेको चप्पल लगाएर पनि मलाई नयाँ चप्पल दिलाइदिने,

आफ्नो शरीर आधा ढाकेर पनि मलाई सधै न्यानो दिलाइदिने, 

आफ्ना सपना के थिए मैले कहिल्यै थाहा पाइन,

 तर मेरा सपनाका लागि टन्टलापुर घाममा, मुसलधारे पानीमा पनि

 दशनङ्ग्रा खियाएर थाक्दा पनि सुस्केरासम्म नलिने, ती महान पुरुष, 

त्यसैले त म भन्छु, मायाको एउटै परिभाषा मेरा ‘पिता’ ।

कसले आफूले झै माया, स्नेह र शितलता प्रदान गरिदेलारु

बसः त्यही पिरले झन झन गलाउथ्यो हजुरलाई,

तर पनि आफ्नो पिडा देखाउनु नै भएन,

मलाई याद छ,

हस्पिटलको बेडमा अक्सिजन लगाएको अवस्थामा पनि, 

मेरो भविष्यको चिन्ताले बढी सताउँथ्यो हजुरलाई,

 आफ्नो शेषपछि मेरो छहारी को बनीदेला ? 

कसले आफूले झै माया, स्नेह र शितलता प्रदान गरिदेला

 बस त्यही पिरले झन्– झन् गलाउँथ्यो हजुरलाई, 

तर पनि आफ्नो पीडा देखाउनु नै भएन, 

आफूलाई मेरोसामु कहिल्यै टुट्न नै दिनुभएन,

सायद त्यती ठूलो अटल छाती पिताको मात्रै हुने भएर होला ?

 त्यो साहस र हिम्मत पितासंग मात्रै हुने भएर त होला

 त्यसैले त मेरा लागि, मायाको एउटै परिभाषा हो मेरा ‘पिता’।

पिता त्यो छहारी हो, जहाँ आफू जलेर सन्ताललाई शितलता दिन्छन, 

पिता त्यो विशाल शिखर हो, जसले हरेक परिस्थितिमा पनि डट्न सिकाउँछन्,

पिता त्यो ओत हो, जहाँ आफू भिजेर पनि सन्ताललाई ओभानो बनाउछन,

पिता त्यो स्रोत हो, जसले आफ्ना सपना कुल्चेर सन्तानका लागि मात्र जिउँछन्,

 सन्तानका लागि हरेक दुखपीडा केही नभएझै गरी सहने,

पीडामा पनि सधै उस्तै गरी मुस्कुराउन सक्ने महान् छाती भएका व्यक्ति, 

त्यसैले त, मायाको एउटै परिभाषा हो ‘पिता’ ।

प्रकाशित: ३ भाद्र २०७७ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App