अन्जना पौडेल अनुश्रुति
आ... आ.... आ... आ...
आँगनमा चारा छर्दाछर्दै चराहरू हुरुरु उडेर उनीछेउ आए । परेवा, काग, भंगेरा, डाँग्रे आदि चराहरूको समूह नैं आएर टपाटप चुच्चाले चारा टिप्न थाले ।
रातभरि पानी परेको थियो । बिहानी पनि त्यती उजेलो थिएन । आकाशमा डुलिरहेका वादलककाला, सेता टुक्राहरू उधिनेर पृथ्वीमा सूर्यको किरणले झल्याकझुलुक स्पर्स गर्दै थियो । हल्का बतास पनि चलिरहेको थियो ।
चरालाई चारा दिएर घरभित्र छिर्नै लागेकी थिइन् । एउटा मीठो आवाज उनको कानमा गुन्जियो । छोरी ! ए छोरी यता आऊ । यताउता हेरिन् , कतै केही देखिनन् । पुनः छोरीछोरी भन्ने आवाज आयो । यसो ध्यान दिएर सुनेकी त आँगनीको डिलैनेरको मेवाको रुखबाट आवाज आएको जस्तो लाग्यो र त्यतै तेर्सिइन् ।
मेवाको बोटमुनि एउटा छिर्के मिर्के परेवा मात्र देखिन् । के भएको मलाई आज यस्तो भन्ने सोच्दै घरतिर फर्कन थालेकी थिइन् । नजाऊ छोरी, मलाई हेर त । उनको गोडाको बूढी औंलामा त्यो परेवाको चुच्चाले छोएको थिया े। उनको अगाडि बाटो छेकेर बसेको थियो ।
आफैंलाई चिमोटिन् , ‘हैन एकाबिहानैं मलाई के भएको यस्तो ? परेवालाई हेरिन् । साँच्चिकै केटा मान्छेको जस्तो आवाज थियो । छोरी मेरो खुट्टामा हेर त । तिम्री आमाले पठाएको चिठी खोल अनि त्यो फुर्के डोरी कपालमा बाँध ल । परेवा चरीको खुट्टामा सुनौलो कागज सानो रातो फुर्के डोरीले बाँधिएको रहेछ । चिठी खोलिन् र हेरिन् , दुरुस्तै आमाका अक्षर छन् । आहा कति राम्रा छापाका जस्ता अक्षर छन् आमाका । आमाको चिठी पढ्न थालिन् ।
प्यारी छोरी
शुभआशीर्वाद
आज तिम्रो बाबा मलाई र तिमीलाई भेट्न आउनुभयो । तिम्रो बाबाले भन्नुभो, ‘कान्छी हिँड जाम, म त तिमीलाई लिन आएको नि ।’
तिम्रो बाबाले स्वर्गमा सुनैंसुनको घर बनाउनुभएको छ अरे । पहिलेभन्दा पनि अहिले त कति राम्रो हुनुभएछ नि सानु तिम्रो बाबा त । सुनैं सुनको कपडा, गहना लगाउनुभएको थियो ।
‘पहिलेभन्दा नि राम्ररी बसेको छु कान्छी, नोकरचाकर, घोडाका तवेला, ऐसआराम छ । केही कुराको पनि कमी छैन । तिमी र म सधैं अप्सराको नृत्य हेरौंला अनि रनबन डुलौंला नि । यहाँ कति दुख गरेर बस्छ्यौ त नि? हिँड जाम मसंग भनेर तिम्रो बाबाले कति फकाउनुभो मलाई ।
तर म तिम्रो बाबासंग जान मानिन । तिम्रो मायाले म जान सकिन छोरी । तिम्रो आँखामा आँसु कसरी देख्न सक्छु र म ? तिम्रो बाबालाई भनिदिएँ – ‘हजुरले यो दुःखको संसारमा मलाई एक्लै छोडेर जानुभो । तर, म मेरी छोरीलाई एक्लै छोडेर हजुरसंग जान सक्दिनँ । यो डरलाग्दो र घिनलाग्दो समाजले मेरी सोझी छोरीलाई क्वाप्पै चपाएर मार्छ । उसको मार्गदर्शक बनेर, उसको आड आधार बनेर मैले बाँच्नुपर्नेछ । छोरीप्रतिको मेरो काम कर्तव्य सकिएको छैन ।’
तिम्रो बाबा एक्लै अंधेरो मुख लाएर फर्कनुभयो ।
चिठीको अन्त्यमा लेखिएको थियो –हेर न छोरी आज कस्तो सपना देखें मैले ।
उही तिम्री अभागी आमा
हैन, के देख्दैछु म आज ? आमासंग त नियमित फोनमा कुराकानी हुन्छ ।
आँखा चिम्म गरिन् , आँखा खोलेर यताउता हेरिन् । तर यो सत्य थियो, जुन उनको आँखैअघि भएको थियो । परेवा अकस्मात् गायव भएर एउटा अग्लो र खाइलाग्दो मान्छे पो बनेको थियो । सुन्दर, चम्किलो अनुहार । फोटोमा जस्तो देखेकी थिइन् , काटीकुटी उही अनुहार–बाबा, मेरो बाबा । उनी बाबाको आलिङ्गनमा खूब रोइन् । गुनासो गरिन् , मलाई अढाई वर्षमै किन छोडेर जानुभो बाबा ? हजुर गएपछि कति दुःख पायौं आमाले र मैले ,हजुरलाई के थाहा बाबा?
‘मैले सब हेरिरहेको छु छोरी माथिबाट । तिमीहरूलाई आशीर्वाद पनि दिएको छु । आज तिम्री आमाको पनि गाउँमा छुट्टै नाम, इज्जत र मान, सम्मान छ । तिमीले यती सानैं उमेरमा यति ठूलो प्रगति गरेकी छौ ।”
यो त सबै हजुरहरूले दिनुभएको संस्कारको प्रतिफल हो बाबा – उनी धन्य भएर बाबालाई अश्रुपुरित नजरले एकटकले हेरिरहिन्न् ।
इख नभको मान्छे र विष नभएको सर्प के काम हैन र छोरी ? तिमीलाई देखेर गर्वले छाती ठूलो हुन्छ छोरी ।’ बाबाले उनको आँखाको आँसु पुछिदिनुभयो ।
उनले भनिन्, ‘मैले छोडिसकें अनावश्यक कुराहरूमा मन दुखाउन, आफ्नो भाग्यमा जे छ , त्यसैमा रमाउन सिक्दै छु बाबा ।’
बाबाले उनको गाला मुसार्र्दै भन्नुभयो, ‘हो छोरी, सकारात्मक सोचले सधैं सही मार्गमा डारेयाउन मद्दत गर्छ ।र यो पनि मनन गर छोरी –‘अक्सर उसैको हात पोल्छ , जसले दियो निभ्छ कि भनेर छेक्छ ।’
वेवास्था गरिदेउ यस्ता साना कुराहरुलाई । आफ्नो कर्तव्यपथमा अघी बढ । साना कुरा मनमा लिंएर बस्दा ठूला कुरा गुम्न सक्छन् नि छोरी । होइन र ?हो बाबा उनले टाउको हल्लाइन् ।
“ल मसंग हिड छोडी – आज म तिमीलाई म बसेको सुन्दर संसारमा डुलाउन लैजान्छु ।”
“हुदैन बाबा , म त जान सक्दिन हजुरसंग । त्यहाँ गएपछि फर्कन मिल्दैन बाबा । म गएपछि आमा एक्लो हुनुहुन्छ । अनि मेरा छोराछोरी टुहुरा हुन्छन्नि बाबा। बाबु नभए आधा टुहुरो, आमा नभए पूरै टुहुरो भन्ने त उखानैं छ निबाबा ।”
उनले फेरि भनिन् –“म मरें भनें हजुरका ज्वाइले अवश्य पनि अर्को बिहे गर्नुहुन्छ । चित्त नदुखाउनु बाबा, म हजुरसंग जान सक्दिन, मलाई माफ गरिदिनुहोस् ।”
“ छोरी , बाबा बसेको ठाउँ हेर्न मन छैन र तिमीलाई ? गेट बाहिरबाट नैं सबै देखाएर डुलाउँछु र पक्का यहिं ल्याउँछु तिमीलाई , बाचा भयो छोरी ।
आज बाबाको मुख हेर्ने दिन हो नि , मेरो इच्छा पूरा गरिदेउ न छोरी । उनले हो त मैले त भुसुक्कै बिर्सेछु –बाबाको मुख हेर्ने दिनको शुभकामना बाबा । हस बाबा, म हजुरको इच्छा पूरा गर्छु । जाऔं बाबा ।
तथास्तु छोरी । तिम्रो सदा जय होस् । तिम्रो हर इच्छा पूरा होउन् । सदा सुखीभव । कमन्डलुबाट अमृतका तीनथोपा छोरीका मुखमा चुहाइदिनुभयो । अमृत पिएपछि उनीभित्र दिव्य ज्ञान र शक्तिको संचार भयो ।
बाबाले आफ्ना सुनौंला पंखेटा पिंmजाउनुभयो, उनलाई दुइटै खुट्टाले च्यापेर पंखेटा फ्याटप्याट पार्दै माथिमाथि बेगले उड्न चाल्नुभो ।
विभिन्न डाँडापाखा, बनजंगल बादलमाथि निलो आकाश, आकाशमाथिमाथि अझैंमाथि जाज्वल्यमान भएर चम्किइरहेको दरवार । यही हो छोरी हाम्रो घर – बाबाले देखाउनुभयो ।
घरभित्र छिर्नुअगाडि अनेक थरी फलफूलका बगैंचा । फूलहरु फूलेका, बासनाले लठ्ठ परेर बाबाको काखमा अति सुन्दर फूलैफूलको आसनमा बसिन् ।उनी र उनका बाबामाथि आफै फूलैफूल बर्सियो । त्यहाँ त प्रवचन भैरहेको रहेछ ।
बिहानी समय, त्यो सुन्दर र शान्त वातावरणमा भक्तहरू मन्त्रमुग्ध भएर प्रवचन सुनिरहेका थिए ।
बाबाको काखमा बच्चा जसरी बसेर प्रवचन सुनिरहिन् ।
कस्तो जीवन उपयोगी विचारहरू । स्वर्गमा पनि पृथ्वीमा जस्तै प्रवचन सुनेर छक्क परिन् । उनी स्वर्ग आएको बेला भएर पो हो कि ? नत्र देवलोकमा यस्तो प्रवचनको के अर्थ होला र ?
‘जीवनको गन्तव्य घाट हो भन्ने थाहा पाउँदापाउँदै मान्छे किन घात गरिरहन्छ हँ ?’
‘जिन्दगीमा पोल्टामा राख्न नपाउँदै खोसिने खुसीहरू पनि हुँदा रहेछन् ।’
‘जिन्दगी फूल जस्तो बनाउनुस् , निमोठ्नेहरूको हातमा पनि सुगन्ध रहोस् ।’
‘जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक हुन सक्नु वास्तविक बहादुरी हो ।’
‘जसले अरूलाई अगाडि बढाउँछ, ऊ स्वतः अगाडि बढ्दछ ।’
‘स्वास्थ्य जीवन बाँच्न अन्तरमनको खुशी नैं सबैभन्दा ठूलो औषधि हो ।’
उनले कसैले टुइट गरेको भेटेकी थिइन् ।
अहो, पृथ्वीमा जस्तै प्रवचन हुने रहेछ नि, बाबाले यहाँ पनि भक्तिमार्गमा राख्नुभएको रहेछ आफूलाई ।
आमाले भनेका कुराहरू मनमनैं सम्झिइन्, ‘बाबा जीवित हुनु हुँदा पिँढीको डिलमा बसेर भागवतगीता पढ्नुहुन्थ्यो रे । गाईवस्तु फुस्किएर घरै अगाडिको बाली खाए पनि धपाउनु हुन्नथ्यो अरे । यिनीहरूलाई कस्ले दिने त हामीले नदिए भन्नुहुन्थ्यो अरे ।’
मेरा बाबा त साँच्चिकै ज्ञानी र ध्यानी पो हुनुहुँदो रहेछ । त्यसैकारण मलाई पनि अध्यात्म र धर्ममा रुचि भएको रहेछ । बाबाको जिनको प्रभावले पो हो कि ?”
एक्कासि आफूलाई माइतमा आमासँगै बसेर दर खाइरहेको देखिन् । दिदीबहिनी र माइतीहरूसंगैे चौतारीमा बसेर तिजको गीत गाएर नाचेको देखिन् ।
– घरघर डुलेर अर्को साल पिण्ड खाने कि ?
– यसपालि मजासंग घरमा बसेर अर्को साल दर खाने ?
कसैले उनको कानको जाली फुट्ने कराएको जस्तो लाग्यो ।
को ठूलो ? को सानो ? को धनी ? को गरीव ? कसैलाई नछोड्ने रहेछ यो महामारीले ।
‘कोरोनाले साँच्चिकै लगेकै रैछ के हो मलाई ? लौन मरेछु म त ?’– उनी छोराछोरी संझिएर क्वाँक्वाँ रुन थालिन् ।
‘मामु, किन रुनुभएको ? के भयो हजुरलाई ?’ छोराछोरीले उनको दुवैतिर बसेर उनको दुवै हात र शरीर च्याप्प समाइरहेका रहेछन् ।
निद्राबाट व्यूँझँदा उनको शरीर थरथरी काँपिरहेको थियो ।
प्रकाशित: २ भाद्र २०७७ ०८:०० मंगलबार