डा मित्र पाठक
गृहमन्त्राणीको कडा आदेश आयो, ‘बत्ती निभाउनुस् । सुत्ने हैन र भन्या ।’
म गुनगुनाएँ, ‘निद्रा लागे त हो नि निदाउने । सुत्न त मन छ नि । चारपाँच घण्टा पनि नसुते त कसरी ज्यान रहला र । भोेलि त फेरि घोटिनै छ अफिसमा ।’
उताबाट अर्को प्रहार आयो, ‘अत्ति भयो जहिले अफिस जहिले अफिस, बिहानै अफिस बेलुकै अफिस । बिहे गरेको यत्तिका वर्ष भयो एक रात कतै बस्ने गरेर घुम्न गा’को थाहा छैन । यतै अभाव, उतै अभाव । यस्तो पनि खोई के जिन्दगी ।’
मन नलाईनलाई उठेर बत्ती निभाएँ । उनको थप केही आशा थियो होला । तर, आफ्नो भने ज्यान थाकेर थिलाथिलो थियो । ज्यान बिस्तारामा थियो तर मनले भने भोेलिको काम सम्झिसकेको थियो, ‘अफिसमा भएका सबै कोठामा झाडूपोचा गर । चिया पकाऊ । खाना खाजा पकाऊ ल । यता जाऊ, उता जाऊ । भएन भनेर फिल्डमा धरि फूल गोड । पानी हाल तैपनि अन्तिममा बेलुका गाली खाई अँध्यारो मुख बनाएर घर फर्कियो । बिस्तारै कोल्टे फर्केर अँगालोमा उनलाई बाँध्न खोजें । मेरो हात आफ्नो कुमबाट फाल्दै उनी बोलिन्, ‘हाकिमको मान्छे उता जानुस् । दुनियाँ सोचेर भोलिको काम सकिसक्नु भयो हैन ? हाकिमका सेवा गरे त पुगिहाल्यो नि । तपाईंलाई हाम्रो के मतलब छ र, हैन ?’
लामो सुस्केरा हाल्दै म बोलेँ, ‘म मात्रै कहाँ हो र । यो देशै हाकिमकोे त हो नि । नेता हुन् कि कर्मचारी, हामी हुँदाखाने गरीब त तिनीहरूकैै निगाहामा त बाँच्ने होे नि । गाउँगाउँका वडा अफिसदेखि हरेक ठूला अफिस र हामी छिर्न नपाउने सिंहदरबारभरि हाकिमैहाकिम त छन् नि ।’
उनलाई पनि चित्त बुझेछ क्यारे । यसपटक अँगालो हालेको मेरो हात फालिएन ।
(पाठकको प्रकाशोन्मुख लघुकथा संग्रह ‘हाकिमको देश’बाट)
प्रकाशित: २३ श्रावण २०७७ १२:२० शुक्रबार