सपना
घुम्दैफिदै त्यस वर्षको घरवारविहीनका लागि दिवस पनि आयो। यस दिवसबारेका सूचना र जानकारीहरू अघिल्लै दिन ठाउँठाउँमा बाँडिएका थिए। त्यसको एक प्रति उसको हातमा पनि पर्यो। टुँडिखेलमा भव्य कार्यक्रम हुने तथा त्यसमा ठुलाबडाले सम्बोधन गर्ने समेतका कार्यक्रमहरू रहेको उसले थाहा पायो।
‘अहो, यस्तो दिवस पनि हुँदोरहेछ, यो त हाम्रै दिवस पो हो’ भन्दै उसले कार्यक्रममा आफू पनि उपस्थित हुने निर्णय लियो। भोलिपल्ट ऊ उत्साहित हुँदै तोकिएको समयमा टुँडिखेलको प्रवेशद्वारमा पुग्यो। त्यहाँ उभिएका सुरक्षाकर्मीले उसलाई शिरदेखि पाउसम्म हेरे र प्रवेश गर्नबाट रोके।
भित्रका गतिविधि हेर्दै र बोल्नेहरूका कुरा सुन्ने प्रयास गर्दै कार्यक्रम अवधिभरि ऊ प्रवेशद्वार छेउ उभिइरह्यो।
सबैभन्दा ठूला नेताले मुलुकमा अब कसैले मागेर खानु नपर्ने र कोही पनि घरबारविहीन नहुने बताए।
सुनेर ऊ हौसियो। कार्यक्रम सकिएपछि सबै लाखापाखा लागे। ऊचाहिँ छेवैमा रहेको मन्दिरको भित्तामा आड लागेर मिठो निद्रा निदायो। सायद आफ्नै घरमा रमाएको सपना देख्दै थियो।
चिन्ता
छोरी हुर्कंदै थिइन्। बाबुआमा उनलाई राम्रो शिक्षा दिएर योग्य नागरिक बनाउने प्रयत्नमा थिए। ‘ए नानीका बा, छोरी त उम्काउन पाए हुन्थ्यो क्यारे’छोरी विद्यालय गइसकेपछि बुढाबुढी मात्र बसिरहेको बेला आमाचाहिँले भनिन्।
बुढीको मुखबाट अनायासै यस्तो कुरा सुन्नुपर्दा बुढा झोक्किए। बसेको ठाउँबाट जुरुक्क उठे र जङ्गिँदै भने ‘हैन के भन्छे यो’
‘नरिसाउ न, कालबेला राम्रो छैन, कतिखेर कहाँ के हुने हो भन्न सकिने अवस्था छैन, त्यसो भएर भनेको नि’
फेरि थपिन्, ‘एकएक गरेर सम्झ त घटनाहरू ठण्डा दिमागले’ बुढा सम्हालिँदै घटनाहरू सम्झिन थाले। निर्मला, पूजा, ।गर्दै औँला भाँच्दाभाँच्दै उनको हात एकाएक पुर्पुरोमा पुग्यो। अनि बुढाबुढी अमिलो अनुहार बनाउँदे टोलाइरहे।
मृत्यु कामना
उनी बिरामी परेको धेरै नै भैसकेको थियो। दक्ष चिकित्सकबाट उपचार हुँदै थियो र उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको थियो। बिरामी भएको खबर डढेलोझैँ फैलियो। स्वाभाविक थियो, भेट्नेहरूको लर्को लाग्नथाल्यो।
परिवारलाई बिरामी सम्हाल्नु कि, आगन्तुक, भ्याइनभ्याइ भयो। आउनेहरूका भने आआफ्नै शैली हुन्थे, एउटाले भन्थ्यो ‘ए, खत्तमै पो हुनुभएछ!’ अर्कोले भन्थ्यो ‘धेरै दिन भा’थ्यो नदेखेको, फतक्कै गल्नुभा रै’छ।’
तेस्रोले भन्थ्यो ‘उमेरले पनि घरले जा वनले आ भन्ने बेला भाको हो क्यारे।’
चौथोले भन्थ्यो ‘फलानोफलानो र उहाँसँगैका हुनुहुन्थ्यो। उहाँहरू गएको यतिका वर्ष भैसक्यो।’
बीचैमा अर्को थपिन्थ्यो, ‘हो त नि अब पनि कति बाँच्नु र!’
अझ अर्को थपिन्थ्यो ‘कठै, विचरा !’
भेट्ने नाममा आउनेहरूले सकारात्मक ऊर्जा दिने र आशा जगाउने खालका कुरा नगरेर केवल निराशा उत्पन्न गर्ने प्रतिक्रिया जनाएका लागिरह्यो।
यी दृष्यहरू नियालिरहेको म आफैसँग प्रश्न गरिरहेको थिएँ, ‘हैन यी सहानुभूति र शुभकामना दिँदैछन् कि मृत्युको कामना गर्दैछन् हँ ?’
हाइसन्चो
छोराबुहारी सहरतिर लागेपछि गाउँमा बुढाबुढी मात्रै थिए। ‘भविष्य उनकै हो, समयअनुसार चल्नु पनि पर्योा, कहाँ रोकेर राख्नु र’, बुढा भन्थे।
संयुक्त परिवारमा रहँदाको रमझम त हराएकै थियो, टक्र्क्क दुईजना मात्रै हुँदा शून्यता अनुभव हुन्थ्यो। त्यसमा पनि दिनदिनै कमजोर हुँदै गएको शरीरले उनीहरूलाई चुनौती दिइरहेको थियो।
बुढाबुढी एक्लिएको महसुस गर्न थालेका थिए। आफ्नो उमेरका अरू पनि भेटिने, सुखदुःख साटिने, मन बहलिने र यसो नयाँ कुरा पनि सुनिने भएकाले बेलामौका माझगाउँमा रहेको वडा कार्यालयतिर जाने गरेका थिए।
एक दिन यसैगरी वडा कार्यालयमा पुगे। बुढाको आँखा त्यहाँको सूचना पाटीमा प¥यो। त्यहाँ आमाबाबुको पालनपोषणसम्बन्धी नयाँ कानुनी व्यवस्था भएको बारे जानकारी गराइएको थियो।
सरकारले अब आयन्दा जागिरे छोराले आफ्नो तलबको निश्चित प्रतिशत बाबुआमाको खातामा जम्मा गरिदिनुपर्ने व्यवस्था गरेको रहेछ। ‘यसै त कहिल्यै बुढाबुढी हुनुपर्ला भनी नसोच्ने अचेलका सन्तान, यत्ति भएपछि त हाइसन्चो नै भैगो नि।’
‘धन्य छ सरकार’ त्यही सूचना पाटीमा आफ्नो टाउको ठोक्दै बुढाले भने।
परिवर्तन
लामो समयपछि ऊ देखियो । ऊतर्फ ध्यान नै नदिएझैँ हिँडिरहेको थिएँ, उसैले बोलायो। म रोकिएँ।
जब हामी भेटियौँ, ऊ ग्वाम्लाङ्ग अँगालो हाल्न आयो।
त्यसपछि हामीले एक अर्कालाई नियाल्न थाल्यौँ, किनकि लामो समयपछिको भेट थियो त्यो।
सन्चो बिसन्चो, घरपरिवार आदिका कुरा भए।
हालको व्यस्तताबारे कुरा भयो। कुराकानीकै क्रममा उसले भन्यो, ‘फुर्सदमै रहेछौ, जाऊँ हिँड, सँगै बसौं एकछिन।’
हामी सँगसँगै अघि बढ्यौं। जाँदाजाँदै एउटा मन्दिरसामु पुग्यौं।
ऊ सरासर मन्दिरभित्र पस्यो। देवतारूपी ढुङ्गालाई ढोग्यो र सामुन्ने उभिएर हात जोड्दै केही धार्मिक श्लोकहरूको वाचन गर्यो।
सकेपछि उसले मतिर हेर्दे भन्यो, ‘आश्चर्य लाग्यो होला हैन, मलाई यस रूपमा देखेर’
साँच्चिकै म उसको विगतको क्रान्तिकारी चरित्र सम्झिँदै थिएँ।
उसकै नेतृत्वमा मठमन्दिर भत्काउने, धर्म−परम्परा र संस्कृतिका विरुद्ध मान्छेहरूलाई भड्काउने र परिवर्तनका नाममा आफ्ना पहिचान नै सिध्याउनेजस्ता कार्य भएको सम्झिँदै थिएँ र, म आफैँलाई विश्वास गर्न सकिरहेको थिइनँ। म यो के देख्दैछु, सपनामा छु या बिपनामा, छुट्याउन सकिरहेको थिइनँ।
नजिकै आएर उसले भन्यो, ‘आश्चर्य नमान, मान्छे साँच्चिकै परिस्थितिको दास रहेछ। अचेल म मनको शान्तिका लागि हरेक दिन यहाँ आउँछु र केही घण्टा यहाँको वातावरणमा भुलेपछि साँच्चिकै शान्त भएर फर्कन्छु।’
उसमा आएको यो परिवर्तन देखेर म छक्क परें।
(साहित्यकार विनोद नेपालको पहिलो लघुकथासग्रह ‘गोदान’ आउँदो सोमबार काठमाडौंमा सार्बजनिक हु्ँदैछ। भूगोल साहित्य समाजले प्रकाशन गरेको पुस्तकमा ५६ लघुकथा छन्।)
प्रकाशित: २३ श्रावण २०७७ ०६:१९ शुक्रबार