१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

घाइते शब्दहरु

कविता

कृष्णसिंह पेला

कृष्णसिंह पेला

लेखेर केही पंक्ति  

मन चाहिरहेछ विश्रान्ति  

धकेलेर बलात् कल्पनामा  

गरिरहेछु म हिंसा आफ्नो मनमाथि  

र अन्याय कवितामाथि

तर धकेल्ने र धकेलिने तत्व फरक यदि हुन् भने  

यो सोचेर कि कति भागमा खण्डित छु म

मेरो आश्चर्य असीम बन्नेछ ।  

 

नित्य सजगताका बावजुद  

प्रतिगामी मन  

बासी फूलहरुकै माला उन्दैछ  

अन्ततः

यो अलङ्घ्य पर्खालले गिज्याइरहेछ  

मेरो सजगतालाई

जसका सामु नित्य पराजित  

म क्लान्त  

उठाउँछु लाचार शब्दका अवशेष आफ्ना ।

 

म तिम्रा शब्दहरुको तुइन चढेर  

बाधा नदी तरी तिमीसम्म पुग्न सक्तिनँ भने  

व्यर्थ हुन् ती प्रलाप तिम्रा  

म आफ्ना शब्दको धुनले  

सक्तिन यदि तिम्रो मुटुको उपचार गर्न भने

व्यर्थ हुन् यी आलाप मेरा ।

शब्द, कोरिएको अक्षरको चित्रमात्र होइन

शब्द ध्वनि पनि हो  

शब्द वास्तवमा ध्वनि नै हो  

ध्वनि यानि शक्ति  

अनादि अनंत महाशक्ति  

तर अरुका शब्दहरु काट्न भनी

आफ्ना शब्दहरु कार्नमा सबै तल्लीन छन्

शब्द सुमन थिए

शब्द अब फगत बुच्चा अस्त्र बनिसकेका छन् ।

 

लेख्नै चाहेको मात्र लेख्छ मानिस

सम्पूर्ण प्रतिविंब उतार्दैन मनको

उतार्नै सक्तैन

शब्दावरणभित्र कैद छ भाव

शब्दको पनि आफ्नो सीमा छ  

न विचारहरु चित्रिन्छन्  

न मनसायहरु व्यक्तिन्छन्  

खासै भिन्नता के छ र शब्द अनि मूर्तिमा  

अमूर्तको सुगन्ध लुप्त भइसकेका  

फगत मृतिकाराशि मूर्तिसमान  

रंगहीन, गन्धहीन, स्वादहीन,

सुगन्धहीन बोझिल शब्दहरु ।

 

हरेक विहान  

आफूले उमारेका कुण्ठाका जमराहरु

सिंचीरहन्छ मानिस

किरणले टेकिसक्यो धर्ति

तर तिमिरको पञ्जामा छटपटिंदैछन्  

अद्यापि दृश्यहरु ।

निश्कर्षविहीन छ सदा  

प्रकाश र अन्धकारको अंतहीन संघर्ष  

र यही द्वन्द्वको गगनधूलमा  

कहिले कुहिरोको काग बने

कहिले पथमा किचिए, थिचिए

घाइते, निरीह शब्दहरु ।

प्रकाशित: २३ श्रावण २०७७ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App