हरिकृष्ण काफ्ले
भविष्यलाई डोहोरयाउने सबको आफ्नै अतीत हुन्छ।
आफ्नै दम्भ दुष्टताले मान्छे आफै पतीत हुन्छ।
राख्नलाई त झिंगो पनि उड्न सक्ने खूबी राख्छ,
तर उसका हरेक उडान फोहोरतिरै सीमित हुन्छ।।
प्रकृतिले वाणी दियो, बोल्नु उसको भूल थिएन।
मीठो बोल्दा फँस्यो मैना, बोल्नु अनुकूल थिएन ।
बाँचुन्जेल जुन मालीले बगैंचाको सेवा गर्यो,
मरेपछि चितामाथि, एउटा थुंगो फूल थिएन।।
सक्छौ अनुहार फेर, नाक बदलेर के हुन्छ
जडाउरी कमिजको, टाँक बदलेर के हुन्छ
बदलिँदो यो परिवेशमा बदलिनु त सबले पर्छ,
सक्छौ भने सोच फेर, पोशाक बदलेर के हुन्छ ।
सानो भए ठूलो हुन्छ, अग्लो भए ढल्छ हजुर,
जस्तो रोप्यो खेतीपाती, उस्तै फसल फल्छ हजुर,
कहिले जोड कहिले घटाउ उतारचढाव जारी हुँदै ,
जिन्दगीको हिसाबकिताब, यस्तैगरी चल्छ हजुर।।
जुन हातमा घाउ देख्छु , ठेला देख्छु खील देख्छु ,
अक्सर तिनकै वरिपरि , परिस्थिति जटिल देख्छु ।
कसले कोर्यो समाजको कारुणिक चित्र यस्तो
छचल्किने हर आँखामा, उन्मुक्तिको अपील देख्छु।।
प्रकाशित: २० श्रावण २०७७ १०:१० मंगलबार