गङ्गा कर्माचार्य पौडेल
उर्मिला र शर्मिला(दिदी बहीनी) उनीहरू एउटै कोठामा सुत्थे ।
एकदिन मध्य रातमा शर्मिलाले मेरो खुट्टामा भूतले काउकुती लायो भनेर चिच्च्याउँदै उठी ।
उर्मिलाले खै भूत ? कहाँ छ ? यहाँ तिमी र मबाहेक अरू कोही देख्दिनँ त्यसै हल्ला गर्ने ? सुत थुपुक्क ।
उँ... मलाई कस्तो डर लाग्यो । त्यो भूत फेरि आयो भने ?
उर्मिलाले संझाउँदै भनिन्, ‘ मिसले स्कूलमा पढाउँदा भन्नुभको होइन ? भूत हुँदैन । त्यो अन्धविश्वास र भ्रम मात्रै हो ।’
अहो ! तपाईको खुट्टामा काउकुती लाएको भए थाहा पाउनु हुन्थ्यो ।
अस्ति नै हजुर आमाले सुनाउनुभएको भूतको कथा विर्सनुभयो ?
नडराउ म छु नि । ल सुत अब भनेर उर्मिललो बत्ती निभाइन् ।शर्मिला गम्लङ्ग कम्मलले जिउ छोपेर सुतिन् ।
उर्मिला यसो निदाउन लागेकी मात्र थिइन् । फेरि भूतले काउकुती लायो भन्दै शर्मिला चिच्च्याइन् ।
आज तिमीले सुत्न नदिने भयौ भन्दै उर्मिला उठेर बत्ती बालिन् ।
शर्मिलाले म यहाँ सुत्दिनँ बुबाआमाको कोठामा जान्छु भनेर हिंडिन् ।
उर्मिलाले शर्मिलाको हात समातेर तान्दै भनिन्, ‘नभन बुबाआमालाई डिस्टर्व हुन्छ । सुन यो कुरा कसैलाई नभन्नु ।
बत्ती बालेर सुतेपछि शर्मिलाको खुट्टामा काउकुती लागेन । उनी निदाइन् ।
भोलिपल्ट उर्मीला र शर्मिला स्कूल गए । दिदीले नभन्नु भने पनि मिल्ने साथी निरुलाई सुटुक्क भनिहाली ।
निरुले उसकी मिल्ने साथी विनुलाई, ‘तिमीलाई थाहा छ ? हिजो शर्मिलाको खुट्टमा भुतले काउकुती लायो रे । अरूलाई नभन् भनेकी छ त्यो कुरा विनुले पनि मनमा राख्न सकिन र आमालाई सुनाई आमाले छिमेकमा पर्दा सहयोग गर्नुपर्छ भनेर विनुको बुबालाई भनी । विनुका बुबाले चौतारीमा गएर सबै जनालाई सुनाए र शर्मिलाको घर जानप¥यो भने ।
एक कान दुई कान मैदान हुँदै शर्मीलालाई भूतले काउकुती लाको कुरा गाउँभरि फैलियो ।
साँझपख केही छिमेकीहरू शर्मिलाको घर गएर चारैतिर निरीक्षण गरे अनि कोठा भित्रको ओछयान टक्टक्याउन थाले ।
त्यहीबेला शर्मिलाको ओछ्यानबाट खोलिसकेको आधा पाकेट बिस्कुट फुत्रुक्क भुइँमा खस्यो ।
छिमेकीहरूले खाट पनि उचालेर हेर्नुपर्छ भन्दै उचाल्न लाग्दा एउटा माउ मुसा फुत्त निस्केर भाग्यो ।
खाटमुनि कागजको बाक्सा पनि रहेछ ।
यो बाक्सा तानेर झिक्न एक जना छिमेकीले यसो हात लम्काएका मात्र थिए । त्यसभित्रबाट मुसाका छवटा छाउराहरू निस्केर सलबलाउन थाले । त्यो देखेर विनुका बाबाले भूत भेटियो भूत। शर्मिलाको खुट्टामा काउकुती लाउने भूत भनेपछि सबै जना हाहाहा गरेर हाँसे ।
प्रकाशित: १३ श्रावण २०७७ ११:५९ मंगलबार