पिनाकबहादुर सिंह,
कक्षाः ५, समुहः ‘क’
सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुर ।
कोरोना कहरका कारणले सबै विद्यालयहरू बन्द छन् । हामीेले विद्यालय जान पाएका छैनौं । हामीहरुले विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागी हुनबाट वञ्चित हुनुपरेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि हामी सबै घरमै बसिरहेका छौ। साथीहरूसँग भेटघाट गर्न र खेल्न पाइएको छैन । सधैं घरमै बसिरहँदा दिक्क त लाग्छ तर यसले नयाँनयाँ कुराहरूको अनुभव गर्ने मौका पनि जुराइदिएको छ । पहिले बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म विद्यालयका क्रियाकलापमा लागिरहनुपरथ्यो । लकडाउनमा चौंविसै घण्टा घरमा नै बस्नुपर्ने भयो । लकडाउनको शुरूशुरूको दिनहरूमा त निकै दिक्क लाग्थ्यो तर दिनहरू बित्दै जाँदा विभिन्न क्रियाकलापहरू गरेर समयको सदुपयोग गर्ने बानी परेको छ।
चैतको महिनामा मैले आमासँग मिलेर करेसाबारीमा रोपेका काँक्राका झ्याङहरूमा काँक्रा फलिरहेका छन् । आमासँग मिलेर रोपेका काँक्राका बेर्ना बढेर काँक्राहरू फलेको देखेर मलाई र मेरो बहिनीलाई सारै रमाइलो लागिरहेको छ ।
वैशाखको महिनामा मेरो विद्यालयले अनलाइन माध्यमद्वारा हस्ताक्षर लेखन, निवन्ध लेखन, चित्रकला, पाकशिक्षा, नृत्य, गायन जस्ता विषयहरुमा प्रतियोगिताहरू आयोजना गरेको थियो । मैले चित्रकला प्रतियोगितामा भाग लिने कोसिस गरेको थिए । यसका साथसाथै विद्यालयबाट अभिभावक र हामीलाई घरमा समयको सदुपयोग कसरी गर्ने भनी विद्यालयबाट विभिन्न समयमा सुझावसल्लाह पायौं । जसका आधारमा मैले वालउपन्यास, कथा, निवन्धहरू पढें । टेलिभिजनबाट प्रसारण हुने शैक्षिक कार्यक्रमहरू नबिराई हेरें । आमालाई भान्सामा खाना पकाउन सघाएँ । मैले चिया र रोटी पकाउन सिकेको छु । करेसाबारीमा आमासँग सक्ने जतिका काम गरें।
जेठको पहिलो हप्ताबाट विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्यो । शुरूमा दैनिक दुई कक्षाहरू ‘जुम’का माध्यमबाट सञ्चालन भए। अनलाइन कक्षाहरू सञ्चालन भएपछि गुरुमागुरुबाले पठाउनुभएका विभिन्न ‘लिंक’हरूबाट गुगल र युट्युवमा भएका श्रव्यदृष्य सामग्रीहरूबाट धेरै कुराहरू सिक्न पाइयो ।
आजकल म किताबमा भएका पाठसँग सम्बन्धित सामग्रीहरू गुगलबाट खोजेर पढ्ने गरेको छु । यस सिकाइले माथिल्ला कक्षाहरूमा समेत सहयोग गर्नेछ भन्ने मलाई लागेको छ । शुरूमा भच्र्युअल कक्षामा साथीहरू र गुरुमालाई भेट्दा अनौठौं लागेको थियो । पछि गएर विभिन्न कार्यालय र कम्पनीहरूले भच्र्युअल माध्यमबाट बैठक र कामहरू सञ्चालन गरेको कुराथाहा पाए।
आजकल त हाम्रो अनलाइन कक्षामा व्यायाम र मेडिटेशनका क्रियाकलापहरू पनि शुरू भएका छन् । यस्ता क्रियाकलापले रमाइलो वातावरण बनाएको छ। सिकाइ पनि बढेको छ । अनलाइन कक्षाहरूबाट मैले धेरै कुरा सिकेको छु । आजकल म मैले गरेका विभिन्न क्रियाकलापहरूको भिडियो बनाई तथा फोटो खिचेर विद्यालयको एपबाट गुरुमालाई पठाउन सक्छु । गुरुमाले एपबाट पठाउनुभएको सुझावसल्लाहलाई खोलेर पढ्न सक्छु । उहाँले पठाउनुभएको लिंकलाई खोलेर श्रव्यदृश्य सामग्री अध्ययन गर्न सक्छु । आफै जुम एपलाई खोलेर साथीहरू र गुरुमासँग छलफल गर्न सक्छु । कहिलेकाहीं विद्युतको नहुँदा अनलाइन कक्षामा सहभागी हुन सकिदैन। कहिलेकाहीं कम्प्युटर वा मोवाइल फोनको व्यवस्थापन नभई दिंदा पनि कक्षाहरूमा सहभागी हुन पाइँदैन।
यसरी नै दिनहरू बिताउँदै छु तर विद्यालय र विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूको सम्झना आइरहन्छ । कहिले विद्यालय खुला अनि विद्यालयमा गएर साथीहरू, गुरुआमा र गुरुवासँग भेट होला भन्ने लागिरहन्छ।
प्रकाशित: १० श्रावण २०७७ ०८:५० शनिबार