पिता शब्द निकै घनीभूत छ। आमाको ममता नजिकैबाट नियाल्न पाइन्छ सधैँभरि, बाहिरैबाट देखिने गरी। सायद आमालाई यस्तै गुण दिइएको होला। ‘खाना खायौ ? बिरामी त छैनौ ? राति राम्रो सपना देखिनँ, घर कतिबेला फर्किन्छौ ? ढिलो हुन्छ, लिन आउनुपर्छ कि ?’ यस्ता प्रश्न आमाकै भागमा धेरै पर्छन्जस्तो लाग्छ। बुवाको माया, प्रेम, ममता र स्नेहचाहिँ अलि फरक किसिमको हुन्छ जस्तो लाग्छ– अलि सूक्ष्म, बाहिरबाट सहजै नदेखिने तर भित्री रूपमा अन्यन्त गहन र सुदृढ।
बुवाले हामीलाई हिरिक्क गर्नुहुन्छ। दाजीपछिकी दोस्रो सन्तान म जन्मिँदा त बुबा नाच्नुभएको रे। घरमा कन्या आइन्, छोरीले घर रमाइलो बनाउँछन्। फ्रक लगाउँछन् र फ¥याकफुरुक गर्छन्– बुबाले यस्तो भन्नुहुन्थ्यो भनेर आमाले अझै पनि भन्नुहुन्छ। मसँग बुबाले आजसम्म उच्च आवाजमा, रिसाएर वा झर्किएर बोल्नुभएको छैन।
बुबा मुकुन्दप्रसाद शर्मा नेपालका एक स्थापित साहित्यकार हुनुहुन्छ। बाग्लुङ जिल्लाको विकट गाउँ जैदीको रोहोटे, हालको जैमिनी नगरपालिकामा उहाँ जन्मिनुभएको हो। पटुवाको रेसा तोस्रोमा बटार्दै बरियो, दाम्लो नेती आदि बाट्ने, गाईवस्तु सम्हाल्ने, खेतका कुला बनाउने, पर्म लगाएर खेतमा गरिने बाउसे कामसँगै हुर्किनुभएको थियो बुबा। बाल्यकालमा गाई चराउन भीरकुनातिर जाँदा पनि साथीहरू डन्डीबियो खेल्थे, अनि उहाँ च्यातिएका कापी लिएर कविता लेख्न बस्नुहुन्थ्योे भनेर अहिले पनि काकाहरूले सुनाउनुहुन्छ। त्यस्तै, क्रममा १६ वर्षमै लेख्नुभएको महाकाव्य नलदमयन्ती अझै पनि पाण्डुलिपिमै छ। त्यो काव्य घरको छानोमा खरका बीचमा घुस्रिएर रहेको अवस्थामा आमाले विवाहपछि भेटाउनुभएछ। धुजाधुजा र पानापाना समेटेर आमाले जोगाइदिएकै कारण त्यो हराउन पाएन र आज हामीले पनि छन्द हाली–हाली पढ्छौँ।
बहिनीले भन्थी, मेरो विवाह सकिएपछि बुबाको घाँटी सुक्यो रे। रातभरि मेरो घाँटीमा केही अड्क्यो घाँटी भिजेन भन्दै पानी पिउँदै बुबा भित्रबाहिर गर्नुभएको रहेछ। बहिनीको विवाहपछि ज्वाइँसँग बहिनी बेलायत फर्किंदा बुबाले झ्यालबाट हेर्दै आफैँसँग ‘गई छोरी कता हो कता टाढा गई, खुसी होली केरे’, भनेको सुन्दा मेरा आँखा पनि रसाएका थिए।
गाउँमा हाम्रो घर नै गुरुकुल थियो रे। छिमेकी गाउँ बिउडाँडाका गुरु स्वर्गीय प्रा. डा. दुर्गादत्त शर्मा उपाध्यायलाई हजुरबुबाले घरमै गुरु बनाएर राख्नुभएकाले बुबाहरूको अक्षरारम्भ घरमै भयो। गुरुले धुलौटे पाटीमा हात समातेर लेखाउँदै अक्षर चिनाएको कुरा बुबाले स्मरण गरिरहनुहुन्छ। संस्कृत व्याकरण, कौमुदी अमरकोश आदि बुबाले सानैमा घरमै कण्ठ गर्नुभएको रहेछ। हामी हिँड्न सक्ने भएदेखि नै स्कुलका बेन्च र टेबुलमा अध्ययन गरेकालाई यो परम्परा अनौठो लाग्छ। पछिसम्म पनि हामी गाउँ जाँदा घरको पिँढीमा डम्माडम्मी मान्छे घेरिएर वेद र पुराणका चर्चा गर्दै शास्त्रका छलफल गर्थे। हामी कुरा नबुझे पनि सुनेर बस्थ्यौँ। त्यसलै होला पढाइ लेखाइलाई सधैँ उच्च स्थानमा राख्ने, साहित्यको सेवा गर्ने, शास्त्रका उदाहरण दिँदै असल खराबको पहिचान गराउने– बाल्यकालदेखि नै यस्तै वातावरण बुबाले दिनुभयो। आफ्ना कर्तव्यबारे बुवाबाट सधैँ प्रेरित भइयो। हामीले उहाँलाई आदर्शका रूपमा हेर्छौं सधैँ।
बुबाले बूढानीलकण्ठ स्कुलमा लगभग ३० वर्ष नेपाली विषयको अध्यापन गराउनुभयो। सुरुमा स्कुलमा बेलायती व्यवस्थापन थियो। नेपाली शिक्षक शिक्षिका धेरै कम थिए। संस्कृत परम्परामा हुर्किनु, पढ्नुभएका बुबालाई बेलायती चलनचल्तीमा काम गर्नुपर्दा कति गाह्रो भयो होला। पहिलो दिन स्कुल जाँदा टाईको गाँठो बनाउन नआएर अरु साथीसँग सुटुक्क सहयोग लिनुपरेको थियो रे। प्रत्येक समस्यामा इन्टरनेट र युट्युब हेर्ने बानी परेका हामीले यस्ता समस्याको अनुमान गर्नै सकिन्न। तर, गाह्रो भयो भनेर बुबा कहिल्यै पछि हट्नुभएन। बेलायती सहकर्मीसँग कुराकानी गर्न सहज होस् भनेर आफ्नो अंग्रेजी भाषा अझै राम्रो बनाउन विभिन्न पुस्तकको अध्ययन गर्न थाल्नुभयो। त्यतिबेला पढेका लियो टोल्सटोयको ‘वार एन्ड पिस’, महात्मा गान्धीका विभिन्न आत्मसंस्मरणका अंग्रेजी अनुवाद, थमस हार्डीका विभिन्न पुस्तक उहाँले पछि हामीलाई पनि पढाउनुहुन्थ्यो। चिन्मयको काव्य अंग्रेजीबाट नेपालीमा उल्था गर्दा पनि बुबाले यी पुस्तकका चर्चा गरिरहनुहुन्थ्यो। सो काव्य अझै अप्रकाशित छ। मैले चुनौतीसँग आत्तिने होइन, बरु सधैँ मिहिनेत गर्दै गए यी चुनौती पनि चिरिँदै जान्छन् भन्ने कुरा बुबाबाटै सिकेँ।
‘स्वान्तः सुखाय साहित्यमा समर्पित’ बुबाका साहित्यिक कृतिमा यस्तै लेखिएको हुन्छ। मैले एक दिन सोधेकी थिएँ, ‘यो भनेको के हो ?’
आफ्नै आत्मसन्तुष्टिका लागि लेखेको हुँ भनेर बुबाले भन्नुभएको थियो। नीति र सदाचारमा आधारित कृति लेख्नु स्वान्तः सुखाय नै हो। हुन पनि हो, घरमा भीडभाड सधैँ हुन्थ्यो— काकाहरू, दाइ–दिदीहरू, फुपूहरू, अन्य इष्टमित्रको आवतजावत सधैँ थियो। तैपनि कुनै भीड, कुनै हल्लाले बुबाको ध्यान भंग गरेन। स्कुलको कार्यव्यस्तताबाट उम्केर पनि बुबालाई लेखपढमै देख्थेँ। उहाँको खुसी यिनै लेखाइमै थियो। ती कैयौँ फुटकर कविता, खण्डकाव्य वा महाकाव्य, आत्मपरक दैनिकी जीवन–जगत्का ज्वार, उपन्यास, महाभारत रामायण वा वेदको भावानुवादमध्ये कैयौँ कृति अहिले पनि प्रकाशनको पर्खाइमा बाकसभित्रै छन्। आमाले जतनसाथ ती कृति स्याहार्नुभएको छ। बुबाको दशकौँदेखिको निरन्तर साहित्यसेवाका लागि विभिन्न पुरस्कार तथा सम्मान प्राप्त भएका छन्। हालै मात्र नेपाली साहित्यको संवद्र्धनका लागि आदिकवि भानुभक्त पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको छ। विभिन्न वरिष्ठ साहित्यकार तथा विद्वान् वर्गले उहाँलाई स्नेह र सद्भाव देखाउँदै साहित्य साधना गर्ने प्रेरणा दिइरहनुभएको छ। हामी सन्तान यसमा गौरवान्वित छौँ।
बाल्यकालमा बुबासँग बिताएका रमाइला क्षण स्मृतिमा आइरहन्छन्। बुबाले भन्नुभएका राजकुमार दिक्पाल र वायुपंखी घोडाका कथा कहिले पनि बिर्सन्न होला। डन्डीबियो बनाउन र खेल्न उहाँले नै सिकाउनुभएको थियो। शनिबार र बिदाका दिनमा बुबाआमासँग ‘टाक्के भुइँ टाक्के’ खुब खेलिन्थ्यो। दसैँ नजिकिँदै गर्दा चंगा किनेर ल्याएर त्यसमा कका हाल्ने काममा उहाँ उत्साहित हुँदै सहभागी हुनुहुन्थ्यो। चित्रकलामा पनि उहाँको विशेष रुचि थियो। चित्रकलाका विभिन्न पुस्तक ल्याएर बुबाले चित्र कोर्दा हामी वरिपरि झुम्मिएर बस्थ्यौँ। बुबाले पढाइका साथै हामीलाई खेलकुदमा पनि प्रोत्साहन गर्नुहुन्थ्यो। बहिनी स्कुलको पौडी प्रतियोगितामा सहभागी हुन जाँदा उहाँले आफ्ना पालामा लौवाखोला र कालीगण्डकीका किनारमा पौडेको कहानी सुनाउँदै हौसला दिनुहुन्थ्यो। बिदामा गाउँ जाँदा बुबाले खरबारी र पखेरामा लगेर कहिले बाँसका सुप्लाको चिप्लेटी बनाइदिनुहुन्थ्यो त कहिले फिर्फिरे। हामी त्यही फिर्पिmरे लिएर गाउँभरि घुम्थ्यौँ।
बहिनीले भन्थी, मेरो विवाह सकिएपछि बुबाको घाँटी सुक्यो रे। रातभरि मेरो घाँटीमा केही अड्क्यो घाँटी भिजेन भन्दै पानी पिउँदै बुबा भित्रबाहिर गर्नुभएको रहेछ। बहिनीको विवाहपछि ज्वाइँसँग बहिनी बेलायत फर्किंदा बुबाले झ्यालबाट हेर्दै आफैँसँग ‘गई छोरी कता हो कता टाढा गई, खुसी होली केरे’, भनेको सुन्दा मेरा आँखा पनि रसाएका थिए।
मातापिताको सुरक्षा सन्तानलाई सधैँ आवश्यक पर्दो रहेछ, चाहे त्यो अबोध बालबालिकालाई होस् या विवाहित भएर गइसकेकी छोरीचेलीलाई। कैयौँ व्यक्तिले आफ्ना शिष्टाचार बिर्सिंदै मलाई मूर्ख र घमण्डीजस्ता दुर्वाच्य बोल्दा पनि मैले बुबाको छत्रछायाको आड र भरोसा सधैँ पाएँ। बुबाले प्रेरणा दिनुभयो र आफ्नो आत्मविश्वास सधैँ उच्च बनाएर हिँड्ने हौसला दिनुभयो। स्वाभिमान र घमण्डमा फरक हुन्छ, तिम्रो स्वाभिमानलाई घमण्ड देख्नेसँग नडराउनू भन्ने मार्गदर्शन दिनुभयो। मप्रति बुबाले गर्नुभएको त्यो असीम विश्वासले नै मलाई आफ्ना समस्यासँग जुध्ने साहस दिन्छ र बाटो बिराउनबाट रोक्छ।
आज बुबाको जन्मदिन हो। दाजी र बहिनी त सपरिवार देशबाहिर छन्। म देशमै छु, तापनि बुबाआमाको नजिकमा छैन। पितामातासँगै बस्ने इच्छा त सबैको छ, तर कर्तव्यदेखि काम्नु हुँदैन भन्ने बुबाकै शिक्षाले आज हामी सन्तान टाढाटाढा छौँ। आज बुबालाई सम्झिँदा मैले त्यही जैदीको विकट गाउँ सम्झेकी छु, खरले छाएको घर सम्झेकी छु। तिनै गाईगोठ, उकालीओराली, खेतबारी, कुलो सम्झेकी छु। बुबाका विविध अनुभव सुन्दा मलाई यी कुराले झन् झक्झकाउँछ, म त्यही गाउँकी चेली हुँ। मेरो पृष्ठभूमि त्यही हो, धरातल त्यही हो। ती सबै चुनौतीका बीचबाट उठेर आमाबुबाले हाम्रा लागि गर्नुभएको त्याग र तपस्या आज झन् धेरै नै सम्झेकी छु। बुबासँग फेरि पनि आशीर्वाद माग्दै जन्मदिनको शुभकामना दिन चाहन्छु।
प्रकाशित: १० श्रावण २०७७ ०५:२८ शनिबार