२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

जिन्दगी जीवन्त जिऊ तिमी

निबन्ध

ज्ञानेन्द्र विवश

जिन्दगीलाई ताजा बनाइराख्ने नै माया हो । –प्रसिद्ध कलाकार पाब्लो पिकासो

हो, मायाविनाको जिन्दगीको सार–सौन्दर्य केही हुँदैन । मायाविना जिन्दगी जीवन्त रहनै सक्दैन । यद्यपि जति टाढा भए पनि आत्माभित्र बसेको जिन्दगीको अर्थ बुझ्न भीडभित्रको गुञ्जनमा अनेक आवाजहरूका आवाजहरूसँग साक्षात्कार हुनु पर्दछ । सत्य स्वरको वकालत त्यहाँ हुन्छ ।

दुःख र सुखको अनुभूति नै जिन्दगी । रातको आराम र दिनको व्यस्तता नै जिन्दगी । हिँड्नु र हिँडिरहनु नै जिन्दगी । गन्तव्य प्राप्तिको पाइला जिन्दगी । यात्रा जिन्दगी–जिन्दगी यात्रा ! हजार पाइला लाखौं अनुभूति !! जिन्दगीको अपनत्वबाट प्रेम प्रकट हुन्छ । आफ्नोपन, प्रेम, मायाले नै हाम्रो जिन्दगीलाई दिव्य बनाइदिन्छ । प्रेमले नै जीवनमा अनन्तता प्राप्तिसँगै गहिरो ज्ञानगंगामा पुरयाउँछ । सुखद अनुभूति र खुशियालीको प्राप्ति र आभास यहीं मिल्दछ ।

अतः सुन्दरता हाम्रा लागि जीवनदीपको एक अनिवार्य अंश हो । जहाँ आत्मीय अपनत्वका साथ पवित्र प्रेम जागृत हुन्छ । त्यसैले जिन्दगी भनेको थाहा पाउनु हो । चेतनशीलता जीवनबोधको एक पक्ष हो । जान्ने क्षमता, जिज्ञासा र जित नै जिन्दगी हो । जिन्दगीमा सम्बन्ध र सम्झनाहरू अथाह प्रेरणाका अनन्त स्रोत हुन् । सम्झनाहरूले हामीलाई आफ्नो जिन्दगीको मीठो अनुभूति दिइरहन्छ ।

आफूलाई बुझ्न आफैंभित्र पसेर खोतल्दै खासखुस संवाद गर्नु आफ्नै जिन्दगी बुझ्ने काइदा हो । एकान्तमा अनुभूतिको दर्शन हुन्छ । प्रेम र करुणा जागृत हुन्छ । हृदय पवित्र पार्दछ । अरूप्रति शुभेच्छा र शुभाकाङ्क्षा तथा सकारात्मक सोचको सुरुआत गर्दछ । अन्ततः यसले नै जिन्दगीलाई जीवन्त बनाउन अभिप्रेरित गर्दछ ।

जिन्दगी जिउनका लागि मात्रै होइन । जिन्दगी जीवन्त जिउन सक्नु ठूलो कुरा हो । अनेकौं पीडादायी क्षण, दुखाइको चोट र तनावहरूलाई पाइतालाले किचेर हिँड्नु जिन्दगीको खास पल हो । त्यसबाट खारिएर हामीले खास खुशीहरू चुम्न सक्छौं । ती खुशी भेट्न सजिलो छैन । लक्ष्यमा पुग्न र खुशी पाउन त्याग गर्न सक्नुपर्दछ । किनकि जिन्दगीको लक्ष्य असीमित छ ।  

तथापि हामीसँग जे कुरा छैन त्यो हामीलाई चाहिन्छ । यसरी जे छैन त्यसको मात्रै खोजी हुन्छ, चाहना हुन्छ । सायद यो मानवीय स्वभाव पनि हो । यसले नै हाम्रो शान्त, सुशील, भद्र मनलाई तनावग्रस्त पार्दछ । अनि हामी अशान्त भई तनावग्रस्त हुन पुग्छौं र जिन्दगीका कैयौं रंगीन सपनाहरू अनायसै चकनाचुर हुन पुग्छन् । हुन त, असन्तुष्टिले नै सफलताको सिँढी चढाउन सहयोग गर्दछ । यद्यपि असन्तुष्टिको पनि सीमा हुन्छ तर अनावश्यक चाहना र असन्तुष्टि लिएर तनावग्रस्त बन्नु उचित होइन, हुँदैन ।

जिन्दगी कस्तो र कसरी बिताउने ? आफ्नै हातमा छ । कसैले भन्दैमा केही हुँदैन । आफूसँग आत्मविश्वास पनि हुनुपरयो । कहिलेकाहीं भाग्य र भरोसामा पनि विश्वास गर्नुपर्छ । अगाडि कहाँ, कसरी, कहिले पुग्ने भन्ने कुरा बाटो देखेर मात्रै हुँदैन । त्यहाँ पुग्ने हिम्मत पनि चाहिन्छ । हिँड्ने आँट पनि हुनुपर्छ । फूल मात्रै होइन काँडामाथि पनि पाइला टेकेर लक्ष्यमा पुग्नुपर्ने हुन्छ । जिन्दगी भन्नु दुःख र सुख, फूल र काँडा, दिन र रात । जिन्दगी यिनै बीचको अथाह यात्रा । यो कहाँ पुगेर कहिले टुंगिन्छ अनिच्छित यात्रा ।

प्रतिकूलतालाई जितेर अनुकूलतामा हामीले जीवन हिँडिरहेछौ । दुःखबाट प्रेरणा लिएर अघि बढ्न सकिन्छ । कैयौं संघर्षका घुम्तीहरू छिचोलेर नै हामी लक्ष्यमा पुग्न सक्छौं। दुःखलाई जितेर हामी बाँच्न सक्छौं । सुखको विलासिताबाट जीवन्त जिन्दगी हुँदैन । जिन्दगी जीवन्त बनाउन संघर्षका कति कठिन चरणहरू पार गर्नुपर्छ । हरेक असफलतापछि नै जीवनलाई सफलताको शिखरमा चढाउन सकिन्छ । त्यसका लागि यात्रा रोकिनु हुँदैन । हामी यात्री जीवनको !

जिन्दगीको असन्तोष, असमानता र अन्धकारलाई पैतालाले लात हानेर यही चिसो बिहानबाट बिउँझिएर सन्तुष्टि, सफलता र समुन्नत जीवनको यात्रामा लागौं । निराशाविरुद्ध मीठो आशा, सकारात्मक सोंच र शक्ति लिएर हिँडौ । बसे त्यही रहिन्छ । हिँडे कतै नयाँ गन्तव्यमा अवश्य पुगिन्छ । नयाँ ठाउँ, नवीन विचार र नौलो काम आफैंमा एक अनुपम उपलब्धि हो । यस कुरालाई यो शान्त बिहानीमा मनन–महसुस गरौं ।

यीबाहेक लेख्नलाई मसँग पनि अरू धेरै शब्दहरू छन् छताछुल्ल । भावनाहरू छन् अटेसमटेस जिन्दगीका असरल्ल । छैन मेरो विचार अन्योल र अलमल्ल । अनुभूतिहरू छन् बग्रेल्ती । जीवन र जगत्का, प्रकृति र प्रेमका, दुःख र सुखका, प्रणय र प्रताडनाका । मरितरी पहाड चढेका पीडाहरू, मधेशको घाममा पसीनापसीना भएका सास्तीहरू । उकाली र ओरालीका हिँडाइहरूमा थाकेर भुतुक्कै भएका क्षणहरू छन् कतिकति ! वरपीपल चौतारीमा सुस्ताएपछि पसीना ओभाएर आनन्द महसुस भएका क्षणहरू छन् ।  हिमालको फेदीमा पुगेर रमाएको र आँखा तिर्मिराएर अन्धकार देखेका पलहरू पनि कतिकति ! अनि धागोजस्तै देखिने बालुवा र चट्टाने भीरको बाटोमा मुटु हत्केलामा राखेर धिप्धिपे उज्यालोमा सुस्तरी सासले पाइला चालेर गन्तव्य छिचोलेका कथाव्यथाहरू अनगिन्ती छन् मसँग पनि जिन्दगीका ।

साथी तिमी मलाई शब्द छैन, भावना र अनुभूति छैन नभन । मसँग पनि अलिकति संवेदना छ, निःस्वार्थ भावना र सकारात्मक सोचाइ छ, विचारमा विद्रोह र व्यवहारमा कुटिलता कदापि छैन मसँग । तिमीजस्तो विगत बिर्सेर निष्ठुरी बन्ने मानिस होइन म ।

एकान्तमा रमाउन सक्नुको उपयोगिता । संवेदनहीनता होइन संवेदनशीलता । जिन्दगीलाई आत्मसात् गरी कर्मशीलता । पीडालाई सहेर, घामपानीमा रुझेर पनि मीठो मुस्कानमय सुन्दरता । यही हो तिमीबाट मैले ग्रहण गर्ने सकारात्मकता । कति धेरै जिन्दगीको चाहना बोकेर फक्र्रिन लागेको एउटा रङमय आभा ! यही हो, शुभबिहानीको मिर्मिरेमा बिउँझिएको एक फूलको सफलताको कथा ।

पहाडी क्षितिजका रङहरू जस्तै धमिलिँदै गइरहेका जिन्दगीका सम्झनाहरू अनायसै नजिकैको मनोरम प्रकृतिझैं सपनामा झस्काउन आउँदा हर्ष र विस्मात्ले मन रमाउन पुग्दोरहेछ । आहा ! विगतका व्यतीत ती स्वर्णिम दिनहरू ! प्रकृतिको सुन्दरताजस्तै सुन्दरसुन्दर । विगत सम्झेर एकपल तिनै विगतमा पुग्नुको बेग्लै आनन्द । यिनै प्रकृतिमा लडिबुडी गर्नुजस्तै, यिनै प्रकृति हेरेर तृप्त हुनुजस्तै ...! जिन्दगी जिऊ तिमी यसरी नै ।

आजको बिहान यति सुन्दर देखियो कि हाँस्दै बिउँझिएको हिमाल अनि कलिलो घाममा रमाउँदै रंगिएको बादल ! आहा ! यही हो प्राकृतिक सौन्दर्यको मगमगाउँदो सुगन्ध । शुभबिहानीले शुभदिनको दिएको शुभसंकेत । यिनैबाट जिन्दगीले अथाह, अनन्त प्रेरणा ग्रहण गरेर अघि बढ्ने ।

जिन्दगीका मोडहरूमा तिमी भेटियौ अनि हामी भेटियौ । यसरी भेटिँदा जीवन र जगतको शाश्वत सत्य उद्घाटित भई एउटा सुन्दर बिहान कलिलो घामको उज्यालो लिएर आउँदोरहेछ । अनि त्यहाँ खुशीहरू हिमाली छटाजस्तै सौन्दर्यको मुस्कान बोकेर उपस्थित हुँदारहेछन् । जिन्दगीका मोडहरूको प्राप्ति त्यही रहेछ । यति खुशी नभए जिन्दगी कसरी हाँस्न सक्छ र ?

यसरी नै जिन्दगीमा उत्सवहरू आइदिनुपर्छ । यसरी नै खुशीहरूले जिन्दगी चुमिदिँदा त्यहाँ भेटिने छन् मायाका असीम प्राप्तिहरू । जीवनलाई सार्थक सन्देश र सकारात्मक गतिको गन्तव्यमा फड्को मार्न उत्प्रेरित गर्दै । म त्यहाँ चूपचाप यसरी नै आनन्दित अनुभूति सँगालेर बसिरहेको हुन्छु । आफ्नो खुशीमा रमाउनु त छँदै छ, यसबेला अरूको खुशी देखेर पनि आनन्दित हुन सकिँदोरहेछ ।

त्यसैले खाँचो छ यहाँ मृदु मुस्कान, प्रेमिल परिवार, पवित्र व्यवहार, सुमधुर सम्बन्ध र खुशियालीको अनुहार । यही हो जिन्दगीको एक अनुपम उपहार ! जिन्दगीको मनमोहक मुस्कान ! मन मिल्ने मान्छे मिलेपछि, भेटिएपछिको मीठो अनुभूति । खुशीले दुःख र दुखाइलाई बिर्साइदिएको अनुभूति ।

हरेक हृदयभित्र दर्द लुकेको हुन्छ । हरेक मनभित्र खुशीहरू पनि छचल्किरहेका हुन्छन् तर ती खुशीहरू पुतलीझैं जिन्दगीबाट भागिरहेका हुन्छन् । तिनलाई समाउने र समातेर खुशीमा आफू त्यसमै रूपान्तरित हुने सबैको इच्छा हुन्छ । यो स्वाभाविक हो ।

हामी सबैको जिन्दगी यस्तै आशाको त्यान्द्रोमा तानिँदै अगाडि बढिरहेको हुन्छ । जिन्दगी भन्नु वास्तवमा आशाको मीठो सपना जस्तै हो । त्यही आशा, त्यही विश्वास र आस्थाले नै त जीवन–संसार चलिरहेको छ ।

त्यसैले त हरेकको जिन्दगीमा आशाको धिपधिपे बलिरहेको हुन्छ । आफ्नै विश्वास र आशा अनि आस्था हुन्छ । त्यसलाई कसैले रोएर देखाउँछन् । कसैले बाहिर हाँसेर त्यसलाई आफूभित्रै लुकाउँछन् । कसैले लेखेर प्रकाशित गर्छन् । कसैले बोलेर देखाउँछन् । कसैले मायाको मीठो सपनाहरू लेखेर पठाउँछन् । कसैले त्यसलाई साँचेर आफूसँगै गुम्स्याएर राख्छन् । यद्यपि त्यसको वास्ता नगर्ने मनहरूले त्यसलाई हल्का रूपमा लिएर हावामा पनि उडाइदिन्छन् ।

जिन्दगीमा सम्बन्धहरू जोडिन्छन् मात्र कहिल्यै टुक्रिदैनन । सच्चा यादहरू सदा अमर रहिरहन्छन् तर कहिल्यै भुलिँदैनन् । खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ । खुशी र आनन्दको क्षणमा समय बितेको पत्तै हुँदैन तर दुःखको बेला समय पट्यारलाग्दो हुन्छ । त्यसैले खुशीको पललाई सदुपयोग गर्न सकियो भने जिन्दगी मुस्कानमय बनेर अरूलाई पनि खुशियालीको पवित्र प्रेम बाँड्न सफल रहन सक्दछ ।

जहाँ सरलतामा सुन्दरता । त्यहाँ सुन्दरतामा मनमोहकता । मनमोहकतामा अनुभूतिगम्यता । त्यसमा रहस्यमय कलात्मकता । कलाको खास विशेषता । कलाकारी परिपक्वता । जीवन्तता जिन्दगीको । यस्तै प्राकृतिक दृश्यमा मोहित भएर तनमन जिन्दगी मुस्कुराउँछ । मनमा नवीनतम् सोचसिर्जनाको झुल्किन्छ बिहान । आहा, कति मनोहर नेपाल, हाम्रो शान्त सुन्दर संसार प्रियजन !

जिन्दगी छ र मृगतृष्णा छ । संसारमा पानी छ र हामीलाई प्यास लाग्छ । पानी नै नहुँदा आत्मा प्यासी हुँदैन थियो होला । केही छ र हामीमा अनेक मृगतृष्णा जागृत हुन्छ ।

कलाकारको कल्पनाशीलता । प्रकृतिको विराट विम्ब विविधता । रङहरूको सुन्दरता । दृश्यमा रहस्यको छटा । यही त हो सिर्जनशीलता । अनुभूति यात्रा । भावगम्य, विचार व्यापकता । अन्ततः जिन्दगीको सार्थकता !

मगमगाउँदो सुवास जिन्दगीको । पहेंलपुर फुलिरहेका जिन्दगीको खुशी बनेर सयपत्री फूल । बारीका पाटा, आली, कान्ला र भित्ताहरूमा समेत पहेंलपुर फुलेका मुस्कानको मिठास पस्किँदै क्रमशः ! यी हरियाली छवि, यी पहेंलपुर सयपत्री अनि हर्ष, उमंगको दिव्य आलोक बनेर जीवन आल्हादित बनाउन उत्सुक भइरहेछ ।

प्रकाशित: ५ श्रावण २०७७ ०९:४८ सोमबार

अक्षर