२८ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

मृत्यु

कथा

 सत्तरी वर्षमा पनि भीष्म बाजे जवान डकार्थे । उसै पनि उनका कान तीखा, आँखा छिटा । फट्किनु पर्दा लब्रकलब्रक कुनै तरुणतरुणी सैपरी तीव्रतर फड्कन्थे । हितैषी दामोदरलाई ऊ पर छोडिदिन्थे र पछि फर्केर कम्मरमा हातको टेका लगाई भन्थे, ‘नाथु यो ठाडेभीर त उमेरमा झिमिक्क गर्दा पो त । अँ, टेर्दिन अझै ।  सोरै आना  हेर कहाँ छोड्यो यो अल्छी ’ भीष्म बाजे हाहाहूहू गर्दै तलतिर बुटाबुटीमा रल्लिरहेका दामोदरलाई माथि पुगेर सुनाउन लागे । दामोदर तल भिरालोमा उभिएर एउटा खुट्टामाथि टेकाई उसैगरी खुई गर्दै उभिएका थिए । सायद उनी थाके । उनले हातको इशाराले भने, ‘पख्–पख्   मुढे म आइपुगें तबैतारे ।’

पुराना बूढाहरूलाई सत्य युगको दूध, दही र घिउले घचघच्याउँछ भनेझैँ भीष्म बूढाको बोली र गराइमा दम झल्किन्थ्यो  तर दामोदर बूढामा त्यो थिएन । दुवैको आँखाका किनारमा मुजुक्क परेर अनुहारको गतिपति थिएन । चिउँडो खस्केको थियो । बाहिरी सलक्क खुम्चिएर एकै ठाउँमा देखिन्थ्यो । हत्केलाको विपरीतपट्टि छाला कालो र लत्रेको थियो । देखिने जति रौँ पनि सबै सेतै । पहिरनमा सेतो कमिज परिधान गरेका तर गोबररसोतर सोर्दा र चुनदेवी मन्दिरछेउको चिया पसलमा समकालीनहरूसँग बसेर हात माड्दै गफ्फिदा टाटैटाटा । यद्यपि जीवित एउटै थियो भीष्म बूढाको गफको हाँक बेजोडको ।

पहिलेपहिले अति सुरा थिए रे भीष्म बूढा । दर्जन लैना चौपाया पालेका थिए रे । बिहान सबैभन्दा छिटो मन्दिरछेउको पसलमा दूध ल्याइपुरयाउँथे रे । कम्तीमा पर्वते साहूनीलाई एक कपमा तीन चम्चा चिनी थप्न लगाईलगाई चिया पिउँथे रे ।  एक बिहानभरि बूढो हाँक बढाएर कुरा गर्थे रे सबै गोपाल महेशपालहरूसँग । त्यसपछि मात्र अबेर दामोदरसँग यसरी नै नारिदै घर फर्कन्थे रे । दूधको ट्याङ्का उनले कहिल्यै छुटाउँदैनथे तर आजभोलि हप्तामा एकदुई दिन मात्र धाउँछन् उनी । त्यो पनि छिमेकी हितैषी दामोदरसँग मन मिल्दा । नमिल्दा एक्लैएक्लै । अरू बेला उनका कान्छो छोरा हरिमर्दनले जिम्मा लिन्छन् तर दूधको रकम बुझ्न भने उनी नै ।

त्यस दिन सँगसँगै हिँडेका उनीहरूमा भीष्म माथि ठमठमाएर पुग्दा दामोदर बूढाको मनमा वराध हिनताबोध भयो, ‘साँच्चै असक्त भएछु अब त ।’ उनले जिब्रो फट्कारे, ‘मेरो छेउमा बढाउँछ हाँक मूढे , उमेरले मेरो उमेर नाघिसक्यो । दुई मुख जोड्दा हेरिनसक्नु छ । अझ फूर्ति गर्छ  तबैतारे । ’

‘अझ अल्छी रे मलाई ’ दामोदर बूढामाथि थुम्कामा आफूलाई गिल्ला गरिरहेका हितैषी भीष्म बूढाको बारेमा यस्तै मनोगढन्ते कुरामा अल्झिएका मात्र के थिए । एक्कासि कावा खाएर ढले । तब मात्र दूधको ट्याड़्का हल्लाउदै भीष्म बूढा ओर्लिए तल ।

‘एए के भयो तँलाई एक्कासि ।’उनी नजिकै आइपुगे । उनले  भकुल्ले शरीरलाई यता र उता चलमलाए । कोनि केके गरे उनले । दामोदर बूढाले आँखाका पटल खोले । एकछिन मूक देखिए उनी । लाटोसुधो जस्तो देखिए । आँखा झिमिकझिमिक गरे । अनि मात्र भिष्म बूढा बोले, गल्ती प्रायश्चित गर्दै,  ‘भोलिदेखि तँलाई मैले साथी ल्याएछु भने त मरिजाऊ । यो निर्जनमा यस्तो गर्न मिल्छ  । आफ्नो झन्नै खरी झरे । तैले परिवञ्चनामा मलाई कुन दिन खाँद्छस् र मेरो हालत त्यही बेलाको जस्तो बनाउँछस् । सोरै आना ।’

‘ए लौलौ । तबैतारे ’, दामोदर बूढाले आधा शरीर उठाएर खुई पनि गरे र सञ्जीवनी बुटी दिने भीष्मलाई श्लाघा गरे, ‘तँ थिइस् र त म बाचेँ बा । तँ थिइनस् भने आज मेरो परान यही लामाटारेभीरमा जान्थ्यो ।’

केही गम्किएर त केही हाँक बढाएर भीष्म बूढा बोले, ‘तँलाई मैले धेरैचोटि त्राण गरेको छु । त्यो त माथि जगन्नाथलाई थाहै छ नि । यस्तैउस्तै ती व्यतित आरुण यौवनका कुरा गर्दै दुई बूढाहरू सँगसँगै उकालो लागे ।

त्यतिखेरै बिहानले ज्योतिको मुस्लो पायो । कलिलो घामको प्रकाशमा उनीहरूको काया तप्न त पाएन । किनकि उनीहरू पूर्वी दिशाको उकालो चढ्दै थिए । पछाडि पर घाममा कुनै वस्तुको टलक देखियो । भीष्म बूढाले अड्कल काटिहाले, ‘ए को लम्किदै छ तलबाट । देख् त ।’ 

दामोदर बूढाका कौतुक नजर तल झरेनन् । बरु माथि चढ्नै बले गरे उनी । कुनै विसान नगरी उनी चढेको चढ्यै थुम्कोमा पुगे । फेरि कावा खाए । हो, उनी फेरि ढले ।

तर, भीष्म बूढा कोनि केको क्षुधित भएर कुनै अरीझैँ विराजमान भए । उनले यो थाहा पाए कि ती कुनै स्त्री नै हुन् । उनी त फर्किए आएको बाटो । ‘नानी कहाँ पुग्नुपर्ने ?’ उनले लम्बेजिब्रो पोखरीबाहिर नचाए ।

बडो भडकिलो तरहले अहम्ता पोख्दै ती स्त्री बोलिन्, ‘माथिल्लो गाउँ बाजे ।’ 

अचानक भीष्म बाजेले तीन पयर पछाडि सारे, दाहिने हात अनुहारमा घुमाउँदै । अनि नानी यतिविघ्न भारी बोकेर पार गरौली त यो डाँडो ।  खै लेऊ यो झोला म बोकिदिन्छु ।’

भीष्म बाजेले सबैभन्दा ठूलो झोला आफ्नो आङमा चढाइहाले । उनी भन्दै थिइन्, ‘सक्नुहुन्न बाजे यो त । यो हाते झोलाचै समाउनु ।’ 

अहँ, टेरेनन् भीष्म बूढाले । स्त्रीलाई आफू अघि बढाएर उनी पछिपछि लागे । बूढा भन्दै थे, ‘के भन्छौ हौ नानी, अझै जवानै छु नि । सोध न त्यहाँ पुगेपछि यो गाउँ हाँक्ने को हो भनेर ।’

स्त्री त थुम्कामा कष्टले आइपुगिन् तर भीष्म बाजे आएनन् । दामोदर बूढा तब मात्र होसमा आइपुगे जब ती स्त्रीलाई नजिकै देखे । दामोदर बूढा उठेर छटपटाउन थाले । हितैषी भीष्मको अनुपस्थितिमा न  स्त्रीको आगमनमा । स्त्रीले नै भनिन्, ‘बाजे मेरो सामान बोकेर आउने बाजे त हराउनुभयो त ।’

दामोदर बूढा अचम्ममा त परिहालेनन् तर भीष्मको लुप्ततामा असमञ्जसतामा निस्सार भैरहे । उनले भीष्मलाई खोज्दै जाँदा तल रूखमा अल्झिएको देखे । निकै दुरूह अवस्था देखे उनले हितैषी भीष्मको । ती लोभना स्त्री पनि पछिपछि आउँदै थिइन् । र भीष्म बाजेको शरीरको एक वृक्षको ठुटामा लत्रेको गति देखेर चिच्याइन् ।

दामोदर बूढा एकदमै कान्तिहीनताको स्थितिमा पुगे । उनले नजिकै गएर अर्धवृत्ताकारमा भएको शरीरलाई छोए । मुखमा जल पनि हालिदिए । तर, उनको श्वास उडिसकेको थियो ।

उनले ती स्त्रीलाई हेर्दै एकदमै नि निराश भएर भने, ‘मृत्यु पनि ढोल पिटेर नआउने रहेछ नानी ।’

प्रकाशित: २७ असार २०७७ ०६:०३ शनिबार

अक्षर