१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ट्रान्सजेन्डर सुपरमोडलको पहिचान फराकिलो बनाउँदै अञ्जली

काठमाडौं - ‘नेपालमा मोडलहरुलाई प्ल्याटफमको अभाव छ। मोडलिङमा करियर बनाउन भारत पुगेकी मेरो सुपर मोडल बन्ने सपना पूरा गर्न लागि परेको छु,’ ट्रान्सजेन्डर सुपरमोडल अञ्जली लामा भन्दै थिइन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो जीवनको अनुभव सुनाएकी थिइन्।

नुवाकोटको किसान परिवारमा नवीन वाइवा परिचयसहित उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि मोडलिङमा करियर बनाउनेक्रममा भोग्नु परेका चुनौतीहरु सुनाउँदै थिइन्। ‘सन् २००५ तिर होटलमा भाडा माझेर मासिक पाँच सय रुपैयाँ कमाउथें। भाँडा माझ्ने भनेर हेपिएको अनुभव गरेको थिएँ। त्यसले मलाई जीवनमा ठूलो पाठ सिकाएको थियो,’ उनले भनिन्।

ब्लु डाइमन्ड सोसाइटीको सम्पर्कमा पुगेपछि आफ्नो ट्रान्सजेन्डर पहिचान घरपरिवारलाई भन्दा सबैले उनीसँगको सम्पर्क टुटाए। ‘मोडलिङमा करियर बनाउँछु भनेर लागिरहें। सुपर मोडलको पहिचानसहित देशको प्रतिनिधित्व गर्छु भनेर कहिल्यै कल्पना गरिन्। फेसन र मोडलिङबारे ज्ञान बटुल्दै अघि बढें,’ उनले भनिन्।

ट्रान्सजेन्डर भएर नेपालमा जन्मिनु भाग्यको कुरा हो। नेपाल सरकारले हाम्रो पहिचानको नागरिकता लिन मेडिकल प्रमाण आवश्यक रहेको प्रावधानले यस समुदायमाथि अन्याय गरेको छ। मेडिकल प्रमाणित गर्नको निम्ति अत्याधिक खर्च लाग्ने हुँदा सरकारले यस विषयमा अध्ययन गर्नु जरुरी छ।

सन् २००९ बाट मोडलिङमा करियर सुरु गरेकी उनले नेपालमा ट्रान्सजेन्डर भएर जन्मिन पाएकोमा खुसी व्यक्त गरिन्। ‘ट्रान्सजेन्डर भएर नेपालमा जन्मिनु भाग्यको कुरा हो। नेपाल सरकारले हाम्रो पहिचानको नागरिकता लिन मेडिकल प्रमाण आवश्यक रहेको प्रावधानले हामीलाई अन्याय गरेझैं लाग्छ। कारण मेडिकल प्रमाणित गर्नको निम्ति अत्याधिक खर्च लाग्छ,’ उनले भनिन्, ‘सरकारले यस विषयमा अध्ययन गर्नु जरुरी छ।’

सन् २०१६ सम्म नेपाली मोडलिङ क्षेत्रमा सक्रिय उनी अन्तर्राष्ट्रियस्तरमा अवसर खोज्न भारततर्फ हानिएकी थिइन्। ‘संसारभर आयोजना हुने -याम्प शोसम्म मेरो पहुँच थिएन्। सन् २०१६ मा भारतमा आयोजना भएको ल्याक्मे फेसन विकमा प्रयास गरें। यो मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो। ल्याक्मे फेसन विकको तेस्रो अडिसनमा बल्ल छनोट भएको थिएँ। ट्रान्सजेन्डर मोडलको रुपमा ल्याक्मे फेसन विकमा देखिने म पहिलो भएँ,’ उनले स्मरण गरिन्। नेपालका लागि पहिलो ट्रान्सजेन्डर मोडल उनले आफ्नो लगनशीलता र इमानदारितालाई सफलताको श्रेय दिन्छिन्।

गत वर्ष उनी अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्धमा भएकी थिइन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्यागसहित सुरु गरेको अभियानमा उनीसहित संसारभरका विभिन्न क्षेत्र १० महिलाहरु समावेश भएका थिए। त्यस अभियानमा छनोट हुने उनी पहिलो तेस्रो लिंगी थिइन्। सन् २००७ मा आयोजना भएको मिस पिन्क प्रतियोगितामा सहभागी भएसँगै मोडलिङ क्षेत्र उनी सक्रिय छिन्।
हालै जिक्यु स्टाइल अवार्डमा उनले सोसल चेन्जर अवार्ड प्राप्त गरेकी थिइन।

त्यस्तै ग्रासिया मिलेनियल अवार्डमा ‘मोडल अफ द इयर’ घोषित भएकी उनले भोग ब्युटी अवार्ड पाउने पहिलो नेपाली मोडल भएकी छिन्। करिव तीन वर्षको अवधिमा पाएको सफलताबारे उनले भनिन्, ‘नेपालमा रहेर करिव सात वर्ष मोडलिङमा नपाएको सफलता पाइरहेको छु। ‘मैले मोडलिङमार्फत आफ्नो देश र समुदायको प्रतिनिधित्व गर्न पाएकी छु। मेरो परिचयले मलाई मात्र नभएर देश र तेस्रोलिंगी समुदायको प्रचार गरिरहेको छ।’

प्रकाशित: १५ मंसिर २०७६ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App