२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

कलाकारलाई कलाको चटारो

काठमाडौं – चित्रकार पृथ्वी श्रेष्ठलाई तिहारको रमझममा रमाउन सकेनन्। आगामी शनिबारदेखि राजधानीको तारागाँउ म्युजियममा सुरु हुन लागेको अन्तर्राष्ट्रिय पफ्र्रमेन्स आर्ट महोत्सवको चित्रकला कोर्न व्यस्त उनीले यसपालिको तिहार मनाउन फुर्सद निकाल्न भ्याएनन्। ‘आर्ट महोत्सवको चटारोले तिहारको रमझमलाई भुलाएको थियो,’ उनी भन्दै थिए।

उनीजस्तै अर्का चित्रकार शंकरराज सिंह सुवालपनि तिहारको गणेश भगवानको आकृतिलाई क्यानभासमा उतार्न व्यस्त रहेका थिए। ‘मुम्बईमा आयोजना हुन लागेको कला प्रदर्शनीमा सहभागी हुँदैछु। त्यसको लागि चित्रकला बनाउन तिहारमा फुर्सद मिलेको थियो,’ उनले भने।

कलाकार मिना कायस्थले तिहारको छुट्टी क्यानभासमा चित्र कोरेर बिताएकी थिइन्। चित्रकार विधाता केसी, प्रमिला बज्रचार्य र एरिना ताम्राकारसहितका टोली कलासम्बन्धी कार्यशालामा सहभागी हुन चीन पुगेका थिए। त्यस्तै चित्रकार सुनिता रानाले तिहारको रमझमलाई छाडेर प्रकृतिसम्बन्धी चित्र कोर्नमा व्यस्त भएकी थिइन्। अर्का चित्रकार रमेश खनालले तिहारको व्यस्ततामा समेत फुर्सद निकालेर चित्रकलामा रुचि राख्ने विद्यार्थीलाई चित्र कोर्न सिकाएका थिए।

तिहार मनाउन चितवन पुगेका कलाकार लालकाजी लामा आगामी कात्तिक २० मा आयोजना हुने राष्ट्रिय मूर्तिकला कार्यशालाको चटारोमा जुटेका थिए। ‘तिहारलगत्तै माडीमा आयोजना हुन लागेको मूर्तिकला कार्यशालाको चटारोले तिहारको रमझममा रमाउन सकिएन्,’ उनले भने। त्यस्तै चित्रकार सुन्दर लामा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजना हुन लागेको सामूहिक कला प्रदर्शनीको लागि चित्र कोर्न व्यस्त भएका थिए। चित्रकार रत्नकाजी शाक्यले तिहारको व्यस्ततामा अमूर्त शैलीको चित्रकला कोर्न भ्याएका थिए। चित्रकार रोशन भण्डारी आफ्नो सिरिजलाई निरन्तरता दिने तयारीमा जुटे। अर्का चित्रकार एससी सुमनले भने तिहारसँगै नयाँ सिरिजका लागि विभिन्न चित्रकला कोर्न भ्याएका थिए।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App