२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

नेपाली कला सिक्दै विदेशी कलाकार

काठमाडौं – नेपाली कला र संस्कृति संस्कृति र बुझ्न विदेशी कलाकारहरू नेपाल आउने गरेका छन्। नेपाल घुमघाम र नेपाली कला संस्कृति सिक्न आइपुग्नेका विदेशी कलाकारहरूलाई केन्द्रित गरेर पुल्चोकस्थित बिकल्प आर्ट सेन्टरले कलासम्बन्धी आवासीय कार्यशाला सञ्चालन गरिरहेको छ।

भदौको पहिलो साताबाट सुरू भएको कलासम्बन्धी ६ हप्ते आवासीय कार्यशालामा विदेशी र नेपाली कलाकारहरूले एक अर्काको देशको संस्कृति र कलाका अनुभवहरू आदान प्रदान गरिरहेका छन्। आयोजक बिकल्प आर्ट सेन्टरका सञ्चालक सरोज महर्जनका अनुसार कलासम्बन्धी आवासीय कार्यक्रमले नेपाली र विदेशी कला र संस्कृतिबारे जानकारी राख्न इच्छुक विदेशी र स्वदेशी कलाकारलाई प्ल्याटफर्म दिएको बताउँछन्। ‘कलासम्बन्धी आवासीय कार्यशालाले नेपाली र विदेशी कला र संस्कृतिबारे जानकारी लिन आउने विदेशी र स्वदेशी कलाकारलाई अनुभव साटासाट गरेर नयाँ सृजना गर्न प्रोत्साहित गरेको छ। सहभागीहरूले ६ हप्ते कार्यशाला सिध्याएलगत्तै कला प्रदर्शनीको गर्नुपर्नेछ। यो कार्यशालाले कलामा रुचि राख्ने स्वदेशी र विदेशी कलाकारलाई प्ल्याटफर्म दिएको छ, ’उनले भने। कार्यशालामा नेपालसहित इटाली, न्युजिल्यान्ड र लेवनानका कलाकारहरू सहभागी भएका छन्। कार्यशालामा सहभागी भएर अन्तक्रिया गरिरहेकी कलाकार महिमा सिंहका अनुसार आवासीय कार्यशालाले स्वदेशी र विदेशी कलाकारहरूलाई कलामा लाग्न प्रोत्साहित गरेको बताउँछिन्। ‘कार्यशालामा सहभागी प्रशिक्षकहरूले समेत सहभागीहरूबाट कलाका विभिन्न पक्षबारे थाहा पाउने गरेका छन्। यसले एक अर्काको कला बुझ्न र सिक्न मदत गरेको छ,’ उनी भन्छिन्।

कार्यशालामा सहभागी कलाकारहरू आ–आफ्नो कलाका विषयमा बहस गर्ने गरेका छन्। केक, ट्याटु र कठपुतलीलगायतका कलाहरू तयार गर्न व्यस्त कलाकारहरू प्रशिक्षक र सहभागी अन्य कलाकारबाट प्रतिक्रिया लिन व्यस्त देखिन्छन्। कला सिक्दै गरेका राजु थिङ ट्याटु र कठपुतली बनाउँन रूचाउँछन्। नेपालमा कलासम्बन्धी सर्ट कोस कम हुने भएकाले उनी बिकल्प आर्ट सेन्टरले सञ्चालन गरिरहेको कार्यशालामा सहभागी भएको बताउँछन्। ‘कलासम्बन्भी सर्ट कोस गरेर यसबारे जानकारी लिन इच्छुक भएकाले यहाँ आइपुगेको हुँ। ट्याटु बनाउने गरेपनि कठपुतलीमा रुचि थियो। नेपाली कलाका विभिन्न पक्षबारे यहाँ आएपछि जानकारी पाइरहेको छु,’ उनी भन्छन्।

कार्यशालामा सहभागी इटालियन चित्रकार स्टेला ग्रासो नेपाल घुमघाम र नेपाली कला सिक्न आवासीय कार्यशालामा सहभागी भएकी छिन्। ‘नेपाली कला र संस्कृतिका विभिन्न पक्षबारे जानकारी पाइरहेको छु। त्यसबाहेक नेपाली र विदेशी कलाकारहरूको कामबारे बुझ्ने अवसर पाइएको छ। कार्यशालामा सिकेका कुराहरूको आधारमा ६ हप्तापछि मैले कलासम्बन्धी अनुभव सुनाउन सक्छु भन्ने लागेको छ,’उनी भन्छिन्।

प्रकाशित: १२ भाद्र २०७६ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App