१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मोफसलका फिल्म हलमा बक्स अफिस सुरु

बक्स अफिसमा जडान भएको टिकेट काटेर विणा चलचित्र मन्दिरसहित मोफसलका १० फिल्म हलमा बक्स अफिस लागु भएको घोषणा गर्दै मन्त्री बास्कोटा। तस्बिरः टंक/नागरिक

सर्लाही– उपत्यका बाहिरका फिल्म हलमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले शनिबार दिउँसो लालबन्दीस्थित विणा चलचित्र मन्दिरमा बक्स अफिससँग जोडिएको विद्युतीय टिकट काटेर बक्स अफिस लागु भएको घोषणा गरेका हुन्।

मन्त्री बास्कोटाले फिल्मकर्मीहरूको आर्थिक कारोबारमा पारदर्शीता ल्याउने उद्देश्यले उपत्यकाबाहिर बक्स अफिस लागु गरिएको बताए। ‘समृद्ध मुलुक निर्माणका लागि हरेक क्षेत्रमा हुने आर्थिक कारोबार पारदर्शी हुन जरुरी छ। यसै सेरोफेरोमा फिल्म क्षेत्रमा हुने आर्थिक कारोबार पारदर्शिताका लागि बक्स अफिस लागु गरिएको हो’, मन्त्री बास्कोटाले भने, ‘यसले राज्यले पाउने करको दायरा बढ्ने मात्र नभई फिल्म निर्माता, हल सञ्चालक, कलाकारलगायत फिल्म क्षेत्रका सबैलाई फाइदा पुग्ने छ।’

आगामी साउन १ गतेबाट बक्स अफिससँगै विदेशी फिल्म चलाउने एवं कलाकारको अभिनय सम्बन्धी ‘क्लिन फिड’ नीतिसमेत लागु हुने जानकारी दिँदै मन्त्री बास्कोटाले हल सञ्चालकहरूलाई मानसिक रूपले तयार रहनसमेत आग्रह गरे। ‘बक्स अफिस मात्र हैन। आउने साउनबाट क्लिन फिड नीतिसमेत लागु हुन्छ। त्यसका लागि हल सञ्चालकहरू मानसिक रूपमा तयार भएर बसे हुन्छ’, उनले चेतावनीको भाषामा भने, ‘अवरोध गर्न खोजे अप्रिय अवस्था पनि आउन सक्छ।’

उनले त्यस्तै नेपालमा प्रसारण हुने विदेशी कम्पनीका उत्पादनहरूको विज्ञापनमा नेपाली कलाकारको अनिवार्य अभिनय, १ सय ८० दिन नेपाली फिल्म अनिवार्य चलाउनु पर्नेलगायत नीति साउन १ गतेबाट लागु भएरै छाड्ने दाबी गरे। नेपाललाई विश्व फिल्म उद्योगका लागि सुटिङ स्पटको रूपमा विकास गर्नका लागि प्रक्रिया अगाडि बढाइसकिएको उनले जनाए।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ८ वर्ष लामो संघर्ष पश्चात मुलुकमा बक्स अफिस सुरुवात भएको जानकारी दिए। बक्स अफिसले फिल्म निर्माता, वितरक, सिनेमा हल सञ्चालक, चलचित्र विकास बोर्ड र कर कार्यालयलाई एक आपसमा जोड्ने अधिकारीको कथन थियो। ‘बक्स अफिस लागु भएसँगै फिल्म क्षेत्रमा आर्थिक पारदर्शितासँगै राज्यलाई करको आम्दानी बढ्छ’, अधिकारीले भने, ‘आजको युगमा प्रविधिलाई उपयोग गर्दै सबै क्षेत्रले आर्थिक कारोबार पारदर्शी गरे मुलुकले समृद्धिको बाटो समाउने छ।’ ढिलै भएपनि बक्स अफिस लागु हुनु स्वागतयोग्य र सकारात्मक कदम भएको अधिकारीको भनाई थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य एवं बक्स अफिस कार्यदलका संयोजक नरेन्द्र महर्जन, बोर्डका सदस्य सचिव महेन्द्र शाक्य, प्रदेश सांसद बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालगायतले बक्स अफिस लागु हुनु सकारात्मक भएको बताए।

मन्त्री बास्कोटाले उद्घाटन गरेसँगै प्रदेश २ का १० वटा हलहरूमा बक्स अफिस लागु भएको र आगामी साउन १ गतेबाट मोफसलका ८० वटै फिल्म हलमा लागु हुने चलचित्र विकास बोर्डले जनाएको छ। बक्स अफिस लागु भएसँगै फिल्म हलमा दर्शकले काट्ने टिकटको जानकारी एकसाथ निर्माता, वितरक, विकास बोर्ड र कर कार्यालयमा जाने हुँदा हल सञ्चालकले गर्ने छलीमा कमि आउने विश्वास लिइएको छ। फिल्महलहरूले दर्शकलाई दिने टिकटमा भ्याट, मनोरञ्जन करलगायत उल्लेख हुने भएपनि पारदर्शी नहुँदा राज्य करछलीको मारमा पर्ने गरेको तथा निर्माताहरू पनि ठगिइरहेको जानकारहरू बताउँछन्। उपत्यकामा भने गत साउन १ गतेबाटै बक्स अफिस लागु भइसकेको छ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App