इतिहासको आलोकबाट वर्तमानका मुद्दा पर्गेल्ने विशेषताले ख्याति कमाएका सुजित मैनाली आफ्नो पहिलो पुस्तकसहित बजारमा आएका छन्। शनिवार काठमाडौंमा उनको पुस्तक 'शिलान्यास' विमोचन भएको छ।
पत्रकार सुधीर शर्मा, अन्तर्राष्ट्यि मामिलाविद् लीला न्याइच्याई र सामाजिक अध्येता गौरव केसीले पुस्तक विमोचन गरे।
बुक हिलले प्रकाशन गरेको पुस्तक विमोचनमा वक्ताहरूले यस्तो धारणा राखेका थिए -
१ लीला न्याइच्याई
-पुस्तकले नेपाली इतिहासको सचित्र व्याख्या गरेको छ।
-शोधकार्यको महत्व उसको प्रश्न कति वजनदार हुन्छ भन्नेमा भर पर्छ। सुजितजीका प्रश्न वजनदार छन्।
-नेपाल देशको निर्माणमा के पृथ्वीनारायण शाहको देन के हो ? किन पृथ्वीनारायणबाटै नेपालको इतिहास शुरु हुन्छ ? जस्ता प्रश्न किताबले जन्माउँछ।
- राजपरिवार, राजखलकबाहेक नेपाली इतिहासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने मानिसहरूको भूमिका किताबले व्याख्या गरेको छ।
- इतिहासको चरित्र वा शासनको चरित्र हिंसामात्रै हो त भन्ने प्रश्न पुस्तकले जन्माएको छ।
- इतिहासको सत्ता राजनीति हिंसा र षडयन्त्रबाट घेरिएको छ भन्ने किताबले जनाउँछ। के आजको सत्ता राजनीति पनि त्यसरी नै चलेको छ त ?
- काठमाडौं उपत्यका जित्न पृथ्वीनारायण शाहले बन्दुकको उपयोग गरेका थिए। बेलायतले नेपालका शासकलाई चाहिने बन्दुकसँग युवाशक्ति विनिमय गरे। समयमै निदान नगरिएको रोग अहिले हामीले भोग्दै छौं। हतियार पृथ्वीनारायण शाहको शक्तिको स्रोत थियो। त्यही हतियारले अहिले हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठाइरहेछ।
- नेपालको सार्वभौमिकता किस्तीमा राखिएर पाएको होइन भन्ने पुष्टि तर्कसंगत ढंगले गरिएको छ।
- पुस्तक पढ्दा समय खेर नगएको अनुभुति हुन्छ। पुस्तकले केही शोधमूलक प्रश्न जन्माएको छ।
-लेखकको दाबी छ हामीले हाम्रो सार्वभौमिकता जोगाएका हौं। तर हामी गोर्खा भर्तीलाई निरन्तरता दिइरहेका छौं ? के हाम्रो सार्वभौमिकता क्षयीकरण भईरहेको छ? नेपाली नेता र शासकले इतिहासबाट सिकेका वा नक्कल गरेका हुन् ?
-हाम्रो राजनीति अहिले पनि हिंसामुक्त छैन?
२ गौरव केसी
-सुजितजीको मूल अध्ययन इतिहास होइन। उहाँ मूलत समाजशास्त्रको विद्यार्थी हो। इतिहासमा विद्यार्थी नभइरहेको बेलामा उहाँको काम उल्लेखनीय छ।
-इतिहासका अन्य पुस्तकमा नगरिएको काम गरिएको छ। पुस्तक संक्षिप्त, सरल र सबैले बुझ्ने भाषामा लेखिएको छ।
-नेपाली इतिहासलाई छोटो समयमा बुझ्न चाहने जोकोहीका लागि यो पुस्तकले ह्यान्डबुकको रूपमा काम गर्छ।
-सुजितजीको अध्ययन विस्तृत छ। उहाँले नेपाली इतिहासबारे विदेशी र नेपालीले लेखेको महत्वपूर्ण ग्रन्थ पढ्नुभएको छ। त्यस्तै धार्मिक ग्रन्थको पनि उहाँले उल्लेखनीय उद्धरण गर्नुभएको छ।
-नेपाली शासकले विभिन्न कालमा देखाएको रणनीति र कूटनीतिको समग्र चर्चा गरिएको छ।
-किताबको अध्ययनसँगै केही प्रश्न उठ्छन्ः के नेपालको इतिहास छ ? हाम्रो इतिहासलाई कसरी बुझिरहेका छौ? इतिहासप्रति हाम्रो लोकप्रिय धारणा के हो को हुन् इतिहासकार ? इतिहास लेखन प्रक्रिया कस्तो छ ? कतै हामी एक ढर्र्राको इतिहास पढेर बेवकुफ त बनिरहेका छैनौं ? यी प्रश्न गरिरहँदा हामीले हाम्रै मूल्यांकन गर्नुपर्छ।
- वर्तमान जति कन्तबिजोक भए पनि इतिहास जीवन्त हुँदो रहेछ। वर्तमान बिर्सिए पनि इतिहास नबिर्सिइँदो रहेछ। कुनै न कुनै हिसाबले हामीले इतिहास सम्झिने रहेछौं। यो पुस्तक पनि त्यसैको अभिव्यक्ति हो।
-हामीले राष्ट्र निर्माण र राष्ट्यिताको स्वरुपमा इतिहास सम्झिन्छौं। वर्तमान इतिहास राजनीतिक, सामाजिक, सांस्कृतिक विभिन्न स्वरुपमा व्यक्त हुँदोरहेछ।
- हाम्रो इतिहासमा पृथ्वीनारायण शाह र जंगबहादुरसँग जोडिन्छ। नेपाली इतिहास लेखनमा ह्यामिल्टन, कर्क प्याट्रिक सँगै जोडिन्छ। तर उनीहरूलाई नेपालीले नै सघाएका थिए। त्यसपछि इतिहास लेखन काठमाडौंका बाहुन र नेवार समुदायमा सीमित भयो।
-सन् १९५० पछि नेपालमा इतिहास लेखन बढ्छ। संशोधन मण्डल त्यसको उदाहरण हो। त्यसपछि जनजाति समुदाय पनि संलग्न हुन थाले।
-पूर्ववर्ती इतिहासकारको पदचिह्न पछ्याउँदै लेखिएको एकरेखीय लेखन हो सुजितजीको किताब। यसो नभएको भए कसो हुन्थ्यो भन्ने प्रश्न राख्दै उहाँले विमर्श गर्नुभएको छ।
-यो पुस्तक आफैँमा भर्चुअल हिस्ट्री पनि हो। यस्तो नभएको भए कस्तो हुन्थ्यो होला भनेर इतिहासको विवेचना गरिएको छ पुस्तकमा।
-यो पुस्तक राजनीतिक इतिहासको अंश पनि हो।
-इतिहासकार र बुद्धिजीवीहरूले पृथ्वीनारायणको अभियानलाई कुनै एउटा मात्र कोणबाट हेर्न गरेको पाइन्छ। कसैले उनको जयगान गरेर त कसैले दुत्कारेर। यी दुवै पक्षकाले एक प्रकारको प्रतिस्पर्धी कथन वा अवधारणा प्रस्तुत गरेका छैनन्। यी दुवै तप्काले फरक फरक कोणबाट इतिहास प्रस्तुत गर्न सकेका छैनन्। त्यसैले वर्तमान पुस्ता यही कथनको वरिपरि बाँधिएका छन्। उनीहरूले वैकल्पिक इतिहास पनि दिन सकेका छैनन्।
-सुजितजीले यो पुस्तकमा शुरुमाा मध्यमवर्गीय धार लिनुभएको छ। तर अन्ततः पृथ्वीनारायण शाहलाई नेपाल निर्माणको अभियन्ताकै रुपमा स्थापित गरेका छन्। यसो गर्दागर्दै उहाँले पृथ्वीनारायणको आलोचकको खण्डन गर्नुभएको छ।
- पृथ्वीनारायण शाहको मूल ध्येय राजनीतिक शक्ति विस्तारको रुपमा प्रस्तुत गरिएको छ।
-पृथ्वीनारायणलाई समावेशी राजाको रुपमा चित्रण गरिएको छ विभिन्न तर्क र तथ्यका साथ। यी तर्क आफैँमा नयाँ होइनन्। रिचर्ड बर्घट र स्टिलरको किताबमा यस्तो पाइन्छ।
-नेपाली इतिहासलाई द्वन्द्वको रुपमा मात्र नभई सामञ्जस्यताको रुपमा पनि हेरौं भन्ने लेखकको आग्रह छ।
- ०७२ पछि नेपाल नयाँ राज्य निर्माणको युगमा प्रवेश गरेको उहाँको धारणा छ।
-संविधानमा लेखिएको धर्मनिरपेक्षताबारे पुनः विचार गर्नुपर्ने उहाँको आग्रह छ। अब कुनै पनि क्रान्ति आउनुहुन्न। क्रान्तिले देशलाई कमजोर बनाउँछ भन्ने लेखकको तर्क छ।
किताबमा सुधार गर्नुपर्ने पक्ष
इतिहासको युग विभाजन। उहाँको किताब आधुनिक नेपाल निर्माणको कथा हो। आधुनिकता के हो भन्ने स्थापित गर्नुपथ्र्यो।
अन्य इतिहासकारले पृथ्वीनारायण र जंगबहादुरलाई जसरी निर्माण गरे सुजितजीले त्यसैलाई पछ्याउनुभएको छ।
पञ्चायतको इतिहास व्याख्या गर्नुभएको छैन। कतै कतै एकपक्षीय भएको अनुभव हुन्छ।
३ सुधीर शर्मा
-इतिहासको प्रसंग भए पनि लेखकले वर्तमानकै प्रश्नलाई उठाइरहनुभएको छ। २५० पेजको किताबमा त्यति नै वर्षको इतिहासको समीक्षा गर्न खोज्नुभएको छ।
-यसमा इतिहास लेखनमा जस्तो क्रमबद्ध राखिएको छैन। विषय अनुसार आवश्यक प्रसंग ल्याउनुभएको छ।
- एकदमै पपुलर हिस्ट्री नभए पनि यो सरल इतिहास लेखन भने अवश्य हो। इतिहासलाई लोकप्रिय ढंगले प्रस्तुत गरिएको छ।
- विष्टको न्यारेटिभको खण्डन नै किताबको मूल ध्येय हो। पृथ्वीनारायण शाह किताबको रोल मोडल बनेका छन्। उनी निसन्देह त्यहीँ महान् नै छन्। तर एकपक्षीय व्याख्या बढी भयो कि ?
-पृथ्वीनारायण शाहको भिन्नै अध्ययनको आवश्यकता छ। के पृथ्वीनारायण शाहको काठमाडौं आक्रमणमा लुटपाट नै भएको थिएन ?
-हिंसाको जगमा नेपाल राज्य निर्माण भएको हो भन्नेमा लेखक विश्वास गर्नुहुन्छ। तर अतिरिक्त हिंसाको पाटोलाई बेवास्ता गरिएको छ।
-राज्य र धर्मबीचको सम्बन्धबारे राम्रोसँग व्याख्या गरिएको छ। नेपाली राज्यको हिन्दूकरण कसरी भयो भन्ने राम्रोसँग व्याख्या गरिएको छ।
- धार्मिक सहअस्तित्व नेपालमा कसरी छ भन्ने पनि व्याख्या गरिएको छ। इतिहासदेखि वर्तमानसम्मको व्याख्या छ। तर पञ्चायतकालीन समयको कम व्याख्या छ। पीडाको इतिहास लुकाइएको हो कि ?
-बहुजातियताबारे र जातीय विद्रोहबारे व्याख्या गरिएको थियो।
-नेपाल राज्य बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुभाषिक थियो तर समयक्रममा त्यो बहुपन मेटियो, ०७२ को संविधानले पुनः नेपाललाई बहुभाषिक, बहुजातीय र बहुधार्मिक बनाउने प्रयत्न थालेको छ भन्ने लेखकको मत छ।
-बेलायतले नेपाललाई उपनिवेश बनाउन चाहेको हो तर नसकेको हो भन्ने लेखेकको बलियो तर्क छ। यसमा थप छलफल हुन सक्छ। उहाँले नेपाल कसरी टिक्यो भन्ने लेखेकको निम्न मत छन्ः भूअवस्थिति, सक्षम नेतृत्व, जातीय अन्तरघुलन।
-नेपाल स्वतन्त्र रहिरहनुमा सेना र किसानको पनि भूमिका थियो भन्ने उल्लेख गर्नुभएको छ तर व्याख्या गर्नुभएको छैन। मानवशास्त्री डोरबहादुर विष्टमाथि पहिलोपटक प्रश्न उठाइएको छ।
- तीन वटा किताब नेपाली प्रसंगमा महत्वपूर्ण छन्। लियो ओ रोजको स्ट्रटाजी फरक सर्भाइभल, महेशचन्द्र रेग्मीका आधा दर्जन पुस्तक र विष्टको फ्याटालिज्म एन्ड डिभलेपमेन्ट। यसमध्येको एउटा पुस्तकको विवेचना उल्लेखनीय छ।
-नेपाली इतिहास लेखनमा शुरुमा नेपाली शासकको विरोध गरियो। दोस्रोमा महिमागान गरियो। समकालीन डिस्कोर्सको एउटा पाटोलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ।
-इतिहासलाई यसरी श्यामश्वेत ढंगले नै हेर्न थाल्यौं भने गडबडी हुन्छ कि? इतिहासका धेरै घटना ग्रे जोनमा पनि हुन्छ। पृथ्वीनारायणको एउटा पक्षको म प्रशंसक हुन सक्छु तर अर्को पक्षको आलोचना गर्छु। त्यसैले ग्रे जोनबाट हेर्न जरुरी छ।
-नेपाली इतिहास, समाज र संस्कृतिबारे लेखिएका महत्वपूर्ण सबै दस्तावेज छिचोलेर सरल ढंगमा लेखिएको छ। यही नै यो पुस्तकको महत्व हो। वैकल्पिक इतिहास आउनेगरी नयाँ लेखनमा आउनुपर्छ भन्ने मेरो आग्रह छ।
४ सुजित मैनाली
- प्रकाशकले अग्रसरता नलिएको भए यो पुस्तक लेखिदैनथ्यो।
- किताब मेरो एकल प्रयत्नको परिणाम होइन। धेरै जनाको श्रम, समय पोखिएको छ। सबैलाई धन्यवाद।
प्रकाशित: १४ वैशाख २०७६ १३:१५ शनिबार