काठमाडौं– भूँइमा झण्डै दर्जन हाराहारीमा महिला रूपका मानव आकृति, त्यसकै छेउमा बनाइएको पिङ अनि मध्यभागमा एक तराजु। यो माहौलको अर्को छेऊमा ढाडमा मानव कंकाल बोकेको एक व्यक्ति केही समयदेखि झोक्राइरहेको छ। उसको अगाडि मैनबत्ति छ। केही क्षणमा झोक्राइरहेको व्यक्ति जाग्छ। अनि भूइँमा सुतेका महिला रूपी मानव आकृति नियाल्दै एकएक गरी त्यहाँबाट उठाउँछ। अर्को कुनामा रहेको राखिएको पानीको भाँडाबाट चम्चाको सहयोगले एकएक थोपा पानी त्यो आकृतिको शीरमा राख्दै पिङमा चढाउँछ। यस्तै दृश्य चलिरहँदा एकैछिनमा ती आकृतिलाई संकलन गरेर उसले तराजुमा राख्दछ। तराजुमा आकृतिको बोझ नपुगेपछि उसले आफ्नै लुगा र टोपी राखेर कंकाल बोकी निस्कन्छ।
हेर्दा निकै मार्मिक लाग्ने यो दृश्य नाटक ‘फादर क्यारियर’को हो। विश्व रंगमञ्च दिवसको अवसर पारेर कीर्तिपुरमा रहेको थिएटर मलमा १० मिनेटको यो नाटकमा कलाकार सबिर चुरौटेले मौन अभिनय गरिरहँदा दर्शकदिर्घा शान्त थियो। सबिर र सञ्जिता पराजुलीको अवधारणामा निर्माण भएको नाटकको निर्देशक सञ्जिता नै हुन्। ‘यो प्रयोगात्मक नाटक हो। आफ्नी छोरी बलात्कृत भएपछि एउटा बाबुमा पर्ने पीडालाई देखाउन खोजिएको छ। यो नाटक सांकेतिक रूपमा निर्मला पन्तसँग पनि सम्बन्धित छ’, निर्देशक पराजुलीले भनिन्, ‘बलात्कार र उत्पीडनमा परेका छोरी चेलीको परिवारले भोग्ने पीडालाई नाटकमा प्रस्तुत गरेका हौं। नाटकमा पानी भरिएको भाँडोलाई हाम्रो असिमित अधिकारका रूपमा चित्रण गरेका हौं। तर त्यो अधिकारलाई हामीले केही थोपामा मात्र प्रयोग गरेका छौं। छोरी बलात्कृत भएपछि वा उसको निधन भएपछि एउटा बाबुको दिमागमा पर्ने मनोवैज्ञानिक असरलाई पनि देखाएका हौं।’
निर्देशक पराजुलीले बाबुले टोपी र लुगा खोलेको तराजुमा राखेको विषयलाई बाबुले लुगामार्फत इज्जत चढाएको अथ्र्याइन्। ‘भएकी छोरी पनि बलात्कृत भएर बितेपछि उसको अवशेषको रूपमा बाबुले कंकाल बोकेका हुन्’, पराजुलीले भनिन्। नाटक मञ्चनपछि आयोजित कार्यक्रममा कवि तथा महिना दिन राजधानीमा भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५’का मेन्टर तथा कवि विप्लव प्रतिकले आयोजकको सोचाई सामान्य भएकाले आम दर्शकसँग राम्रो सन्देश पुगेको बताए।
प्राध्यापक डा. अभि सुवेदीले पछिल्लो दशकमा नाटकमा युवा उपस्थिति बलियो बनेकोमा खुशी व्यक्त गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले सरकारले तीन प्रतिष्ठानको गठन गरे पनि पछिल्लो समयमा तीनवटै प्रतिष्ठानमा नाट्य गतिविधि कम हुने गरेको स्वीकारे। ‘संगीत र नाटकको विकासका लागि गठन गरिएको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले अपेक्षा अनुसारको काम गर्न सकेको छैन। ‘उसको पनि आफ्नै बाध्यता छ’, सुवेदीले भने, ‘बरु सरकारी संस्था अन्तर्गत नै रहेको राष्ट्रिय सांस्कृतिक संस्थानले नाटकको क्षेत्रमा केही गर्दैछ। नाटक सभ्यता र जागरणको विषय हो। बन्द भएको थिएटरलाई पुनः सञ्चालन गर्ने युवा नाट्यकर्मीको प्रयासको सराहना गर्छु।’ महोत्सवका निर्देशक राजन खतिवडाले महोत्सव सामान्य विषय नभए पनि सरल किसिमले समापन गरेको बताए।
प्रकाशित: १४ चैत्र २०७५ ०४:३७ बिहीबार