८ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

रभुँवामा सीतालाई ‘वान्स मोर’

खोटाङ - न बढ्दो गर्मीको परवाह । न घरिघरि धुलो उडाउँदै आउने हावाहुरीको । खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा रभुँवामा मंगलबार गायिका सिता माझी गुञ्जिँदा स्थानीय माझी समुदाय पसिना काढेर नाचे । माझी जातिको राष्ट्रिय चाड ‘कोसी पूजा’ तथा नेपाल माझी उत्थान संघ जिल्ला समिति खोटाङको प्रथम जिल्ला अधिवेशनमा निम्त्याइएकी गायिका सिताले दुधकोसी किनारमा रहेको माझीगाउँका माझी समुदायलाई छमछमी नचाएकी हुन् ।

सांगीतिक कार्यक्रममा रम्ने अवसर नपाएका माझी समुदायका युवायुवती गाउँमै धुलो उड्ने गरी नाचे । माझी जातिको भेषभुषामा सजिएका माझी युवायुवतीबाट गायिकाले ‘वान्स मोर’ पाइन् ।

‘खोटाङ जिल्ला दिक्तेलबजार’ बोलको गीतबाट गीत गाउन सुरु गरेकी माझीले दर्शकलाई ‘बाबु–आमा, दाजुभाई, सोल्टी’ जस्ता साइनो लगाएर नाच्न आग्रह गरिन् । उनको यो आग्रहलाई स्वीकारेका स्थानीयले नाच्नकै लागि कुनै कसर बाँकी राखेनन् । उनले ‘तिम्रो माया कति छ, कति है बरै’, ‘हातैको चिनो के छ र दिनु पूर्वको सितालाई सँधै सम्झिनु’ लगायतका गीत गाइन् । सांगीतिक कार्यक्रममा रम्ने अवसर नपाएका माझी समुदायका युवायुवती गाउँमै धुलो उड्ने गरी नाचे । माझी जातिको भेषभुषामा सजिएका माझी युवायुवतीबाट गायिकाले ‘वान्स मोर’ पाइन् । स्टेजमा गीत गाउँदै आफैं पनि नाचेकी गायिका माझीलाई अतिथिले समेत नाचेर साथ दिए । 

गायिका माझीको आग्रहपछि मञ्चमा बसिरहेका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, रावाबेंसी गाउँपालिका प्रमुख लिलानाथ निरौला, कांग्रेस महासमिति सदस्य सुवासकुमार पोखरेललगायत पनि नाचे । कार्यक्रमकै लागि बोलाइएका गायक वीरबल माझीले माझी भाषाकै गीत गाएर माझी समुदायलाई नचाए ।

यसैबीच माझी समुदायले कोसी पुजा गरेका छन् । ‘सबैको फलिफाप होस्, रक्षा गरुन्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका माझी समुदायले दुधकोसीमा पुगेर कोसी पुजा गरेका हुन् । पाठी, कुखुराको भाले, परेवा, हाँस र अण्डाको बली दिएर पुजा गरिएको रभुँवाका वडा सदस्य सोमबहादुर माझीले बताए । 

रभुँवाका माझी समुदायले हरेक वर्षको फागुन तेस्रो साता कोसी पुजा गर्दैआएका छन् । पुजा सकेपछि गाउँमा भेला भएर खानपिन गर्ने प्रचलन छ । वडा सदस्य माझीका अनुसार पाँच किसिमका पशुपन्छीको बलि दिइने भएकाले पुजालाई पञ्चौली पुजा पनि भन्ने गरिन्छ ।

लामीडाँडामा ८७ घर माझी समुदाय छन् । रभुँवाको माझीगाउँमा मात्र ६२ घर माझी छन् । पुजा गर्नकै लागि गाउँ छाडेर काठमाडौंलगायतका सहरमा बसिरहेका माझी समुदायसमेत गाउँमा आएका छन् । पुजाका लागि सोलुखुम्बु र ओखलढुंगाका माझी समुदायसमेत भेला भएको संघले जनाएको छ । पुजाका दिन माछाको परिकार र जाँडलाई सगुन (प्रसाद) बाँड्ने गरिन्छ । पाहुनाकारुपमा बोलाईका अतिथिलाई सुरुमा सगुन दिएर सम्मान गर्ने माझी समुदायको प्रचलन छ । रभुँवाका माझी समुदायले दुधकोसीसँगै रावा खोलाको पनि पुजा गर्छन् । 

सदियौंदेखि हरेक वर्षको पुर्णिमाका दिन कोसी पुजा, देवी पुजा र डुंगा पुजा गर्ने प्रचलन रहिआएकोमा २०७४ सालदेखि पञ्चौली पुजा सुरु गरिएको हो । जिल्लाकै घोपाटार, जयराम, बतासेघाट, गोडुलीघाट, रसुवाघाटमा पनि माझी समुदायको बसोबास रहेको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App