४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

शान्तदासलाई जगदम्बा श्री र निलमलाई मदन पुरस्कार

काठमाडौं –  शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बा श्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ। बिहीबार रातो बंगलास्कुलमा भएको कार्यक्रममा २ लाख पुरस्कार राशिको सो पुरस्कार प्रदान गरिएकोे हो।

मानन्धरलाई बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा पाँच दशकदेखि समर्पित भएको भन्दै जगदम्बा श्री प्रदान गरिएको हो। यसैगरी कार्कीलाई ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मानन्धरले गोपाल प्रसाद रिमालको प्रेरणाले आफू  बालसाहित्यमा लागेको बताए।

‘२०१५ तिर अंग्रेजीमा भाषामा ससाना निबन्ध लेखेर गोपाल प्रसाद रिमाल कहाँ भूमिका लेखाउन गएको थिएँ । उहाँले निबन्ध पढेर अंग्रेजीमा हैन नेपालीमा लेख्नू भनेपछि मैले नेपालीमा लेख्न थालेको हुँ,’ मानन्धरले भने, ‘ पछि स्कुलमा पढाउने क्रममा चित्रको माध्यमबाट बालबालिकालाई बुझाउन सजिलो हुन्छ भन्ने थाहा पाएपछि उनीहरूलाई सिकाउने क्रममा उनीहरूको दुनियाँमा पुगें । नयाँ नयाँ ज्ञान बाँड्ने लोभ गर्दागर्दै यहाँसम्म आइपुगेछु।’

२०७४ को मदन पुरस्कारका लागि छनोटमा परेका आठवटा पुस्तकमध्ये कार्कीको ‘योगमाया’ लाई मदन पुरस्कार गुठीले उत्कृष्ट मानेको थियो। गुठीले प्राप्त २ सय ५३ पुस्तकबाट २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको थियो।

गुठीले छानेकोो उत्कृष्ट ८ मा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ थिए।

पुरस्कार ग्रहणपछि मन्तव्य राख्दै कार्कीले ‘योगमाया’लाई पुरस्कारको लागि योग्य देखेकोमा गुठी र निर्णायकलाई धन्यवाद दिएकी थिइन्।

‘मैले आजसम्म महसुस गरेका सुखद संयोग भित्र पर्छ यो समारोह । जनताको इतिहास उत्खनन् गर्ने दायित्व सम्झेर लेखिएको कृतिले यो कदरको सम्मान पाउँदा जिम्मेवारी बोध गरेको छु,’ कार्कीले भनिन् ,‘ तर योगमायालाई नारी मुक्ति आन्दोलनसँग मात्र हेर्नुहुन्न भन्ने मेरो आग्रह छ । उनको बलिदान समग्र समाज सुधारका निमित्त थियो।’

योगमायाले धर्मराज्य स्थापनाको माग गर्दै ६७ अनुयायीका साथ जल समाधि लिएकी थिइन् । कार्कीको कृति ‘योगमाया’  यिनैको आख्यानीकृत स्वरुप हो।

पुरस्कार वितरण समारोह जीवन आलेको बाँसुरीवादसँग सुरु भएको थियो । त्यसपछि मानन्धर र कार्कीलाई पालैपालो गुठीका अध्यक्ष कुन्द दिक्षितले सम्मान हस्तान्तरण गरेका थिए। गुठीले २०२९ सालदेखि विविध विषयका विज्ञलाई विद्वद् प्रवचनका लागि आमन्त्रित गर्दै आएको छ। बिहीबारको समारोहमा पनि बनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठले वातावरण र वन जंगलको विनाशको अवस्थालाई लिएर प्रवचन दिएका थिए । हिमाली क्षेत्र, लेकाली क्षेत्र, पहाड पर्वत र तराई मधेशमा विभाजन गरी दिएकोे प्रवचनमा उनले बन विनाशको भयावह अवस्थाको प्रस्तुत गरेका थिए।

‘आजभन्दा २ सय २५ वर्ष पहिले  सोमेश्वरदेखि कोशीसम्मको क्षेत्रबाट २ सयदेखि ३ सय हात्ती जंगलबाट कब्जा गरेर भारतमा बिक्रि गरेर लैजाने चलन थियो। दुई नं प्रदेशमा पर्ने यो क्षेत्र अहिले सबैभन्दा कम वन भएको क्षेत्र पर्छ,’ श्रैष्ठले भने, ‘बारा पर्सामा रहेको वन पनि अन्तर्राष्ट्रिय विमानस्थलका लागि मासिने चर्चा छ । २४ लाख काटेर ६ करोड रुख रोप्ने कुरा छ । तर अहिले मासिन जंगल बन्न सय वर्ष लाग्छ । समयान्धी सोच वातावरणका लागि उपयुक्त हुँदैन।’

कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षित र सदस्य सचिव दीपक अर्यालले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २६ आश्विन २०७५ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App