२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

गायनमा कालीप्रसाद पुत्र

काठमाडौं - विदेशमा बस्ने नेपालीहरू बिदा मनाउन नेपाल फर्किदा पारिवारिक भेटघाट र घुमघाममा व्यस्त हुन्छन्। अमेरिकाबाट नेपाल आउँदा राजधानीको बौद्धस्थित महाँकालचौरका असिम रिजालको ध्यान पनि यसैमा थियो । तर नेपाल झरे बित्तिकै उनको योजना परिवर्तन भयो । उनले घुम्ने काम थाँती राखे र छोटै समयमा पनि  स्मरणीय काम गरेर अमेरिका फर्कने योजना बनाए । यसका लागि उनले पिताको पहिचान रोजे । पिता अर्थात कालीप्रसाद रिजाल जो नारायण गोपालसँगै पछिल्लो पुस्ताका थुप्रै लोकप्रिय गायकका गीतका रचनाकार हुन्।

गीत संगीतमा चासो राख्ने असिम पेशेवार गायक होइनन् । घरायसी काममा होस् या बाहिरी घुमघाममा गीत गुनगुनाइरहने असिम यसपटक अमेरिका फर्किदा नवगायकको परिचय लिएर जाँदैछन् । उनको नाम अगाडि गायकको परिचय थपिदिने काम उनकै गीतकार पिता कालीप्रसादले गरिदिएका छन्।

गीत संगीतमा चासो राख्ने असिम पेशेवार गायक होइनन् । गीत गुनगुनाइरहने असिम यसपटक अमेरिका फर्किदा नवगायकको परिचय लिएर जाँदैछन्। उनको नाम अगाडि गायकको परिचय थपिदिने काम उनकै गीतकार पिता कालीप्रसादले गरिदिएका छन्।

दुई हप्ताको अवधिमा ‘डेब्यु’ एल्बम ‘पहिलेमा तिम्ले’को गीतको रेकर्डिङको काम सकाएका असिम सम्भवत आगामी मंगलबार या बुधबारसम्म अमेरिका उडिसक्नेछन्। उनको एल्बमका सबै गीतमा शब्द र संगीत पिता कालीप्रसादकै छ।

एल्बमका लागि बाबुछोराको ट्युनिङ मिल्ने संयोग पनि गज्जबकै छ। ‘मैले गीत गुनगुनाउन थालेदेखि नै पिताको गीत गाएर एल्बम निकाल्ने ठूलो चाहना थियो । मैले पटक–पटक पितालाई तपाईको शब्द र मेरो स्वरमा एल्बम निकाल्छु भन्थें,’शनिबार दिउँसो नागरिकसँग असिम गफिइरहँदा छेउमै रहेका पिता कालीलाई हेर्दैथिए,‘म बेला–बेला गुनगुनाइरहेको पिताले पनि सुन्नुहुन्थ्यो । म आफै व्यवसायिक गायक पनि थिइनँ । मैले गीत माग्दा पिताले कहिल्यै पनि ‘हुन्छ’ भन्नुभएन । तर यसपटक भने यो संयोग जु¥यो । घरको कुरा भएपछि माग्न पनि सजिलो हुँदोरहेछ।’

असिमले आफ्नो कुरा गरेको सुनिरहेका काली पनि केही खुले । ‘असिमले मलाई गीत मागिरहन्थ्यो । तर उसको कुरालाई मैले कहिल्यै ‘सिरियस्ली’ लिइनँ । उसँग भेट हुँदा होस् या फोनमा संवाद हुँदा पनि गीतकै कुरा गरिरहन्थ्यो । मेरो गीतमा एल्बम निकाल्ने उसको धोको रहेछ,’कालीप्रसादले भने,‘पछिल्लो पटक अमेरिका जाँदा पनि उसले गीतको कुरा गरेपछि मैले ‘हुन्छ’ भनिदिएँ । मैले त्यहीं उसलाई एउटा नयाँ गीत पनि दिएँ।’

पिताबाट स्वीकृति पाउन असिमले लामै समय पर्खिनुप-यो । पिता रिजालले ‘हुन्छ’ भनेपछि असिम हरेक दिन हरेक समय गीतमै घोत्लिन थाले । ‘गीत रेकर्डिङ गर्ने अघिल्लो दिनसम्म म उत्साहित थिएँ । पिताकै संगीत र शब्द भएकाले पनि गीत रेकर्डिङको समय मैले गौरवान्वित महसुस गरें,’२२ वर्षदेखि अमेरिकाको वासिङ्टन सियाटलमा बस्दै आएका असिमले भने,‘पिताको उपस्थितिमा गीत रेकर्ड गराउँदाको क्षण मेरा लागि अविस्मरणीय नै रह्यो।’

अमेरिकामा रहँदा साथीभाइ भेटघाट हुँदा होस् या अन्य कार्यक्रममा पनि गीत गाइरहने असिमलाई गीत रेकर्ड गराउँदा गाह«ो अनुभव भएन । ‘सानैदेखि संगीत सुन्दै गीत गुनगुनाउने बानीले गीत रेकर्ड गराउँदा नयाँ आत्मविश्वास बढ्यो,’उनले भने।

आफ्ना शब्दमा असिमले गीत गाउँछुभन्दा खासै चासो नदिएका रिजाल छोराको गायन रुचिप्रति जानकार रहेछन् ।‘मैले थाहा पाएदेखि नै असिम गीत गाइरहन्थ्यो । धरान, विराटनगर बस्दा पनि ऊ गुनगुनाइरहन्थ्यो । बाथरुम पस्दा पनि उसको मुखबाट गीतका शब्दहरू निस्किरहन्थे,’रिजालले सम्झिए,‘त्यो बेला ऊ पढिरहेको थियो । उसमा पढाइसँगै करियर बनाउने चटारो पनि थियो । त्यो बेला मैले गीत दिने चासो नै दिइनँ । पढाइ सकेपछि ऊ अमेरिका गयो । त्यहाँ जाँदा पनि मेरो शब्दमा गीत गाउने उसको इच्छा मरेको रहेनछ।’

तीन वर्ष अघि अमेरिका असिमले रिजालसँग फेरि गीतकै कुरा गरे । फोनमा पनि गीत र भेट्दा पनि गीतकै कुरा गर्न थालेपछि रिजाललाई छोराको इच्छा पूरा गरिदिने बाध्यता परेछ । ‘एल्बममा मायाप्रेम, राष्ट्रियतालगायत सबै फ्लेबरका गीत छन् । दर्शकले हालसम्म नसुनेका गीत अर्थात बाहिर नआएका गीतका शब्द नयाँ गीतमा राखेको छु,’कालीले भने,‘म लिरिकल शब्द प्रयोग गरेर गीत लेख्दछु । आफै गीत लेख्छु अनि त्यसमा आफै गुनगुनाउँदै लय भर्छु । यो मेरो बानीलाई असिमले सानैदेखि देखिरहेकाले पनि उसमा गायन रुचि बढेको हो।’

एक सातादेखि १० दिनभित्रमा असिमको एल्बम तयार हुँदैछ । एल्बममा ‘पहिलेमा तिम्ले’, ‘पहिले त रिस’, ‘छाती भित्र मुटु’, ‘सुन्दर, शान्त नेपाल’ र ‘कहिँ आफ्नै भुमरीमा’ बोलका गीत छन् । गीत ‘कहिँ आफ्नै भूमरीमा’बाहेक सबै चार गीत नयाँ हुन् । अम्बर गुरुङको स्वर र संगीतमा रहेको यो गीत फिल्म ‘जीवनरेखा’मा समावेश छ।

असिम ‘कहिँ आफ्नै भूमरीमा’को ठूलो प्रशंसक हुन् । हरेकपटक यही गीत गाइरहने उनले अम्बरलाई सम्झिएरै एल्बममा राखेका छन् । ‘जीवनमा अन्तिम क्षणमा पनि उहाँलाई भेट्ने मेरो इच्छा थियो । तर त्यो पूरा हुन सकेन । त्यसकारण पनि उहाँलाई श्रद्धाञ्जली र सम्झना स्वरुप यो गीत एल्बममा राखेको हुँ,’असिमले प्रष्ट्याए,‘मैले धेरैपटक यो गीत गुनगुनाएको पिताले सुन्नु भएको छ । त्यसकारण पनि हामीले गीतलाई एल्बममा समेटेका हौं।’

परिवारमा असिम दुई दाजुपछिका कान्छा छोरा हुन् । कालीप्रसाद छोराको एल्बम अम्बरसँगै आफ्ना लागि पनि समर्पित भएको दाबी गर्छन् । ‘एल्बम अम्बर गुरुङसँगै मेरा लागि पनि छोराको समर्पण हो,’कालीप्रसादले भने,‘मेरै गीत गाउँछु भनेर यति लामो समय पर्खिनु आफैंमा उदाहरणीय काम हो।’

असिमका लागि यो एल्बम अन्तिम भने होइन् । उनले फेरि फेरि पनि गायनलाई निरन्तरता दिने सोचेका छन् ।  ‘वर्षैपिच्छे एल्बम निकाल्न त सक्दिनँ । तर समय मिलेसम्म निरन्तरता चाहिँ दिनेछु,’कुराको बिट मार्दै असिमले भने,‘पिताको गीत संगीतप्रतिको लगावले गर्दा पनि गायन मोहलाई छोड्दिन।’

एल्बमका गीत एरेञ्जर तथा संगीतकार किरण कँडेलको एरेञ्जमा उनकै स्टुडियो प्रज्ञा रेकर्डिङमा गीत रेकर्ड गरिएको छ । एल्बमलाई म्युजिक नेपालले श्रोता तथा दर्शकमाझ ल्याउँदैछ।

प्रकाशित: १० भाद्र २०७५ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App