२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बालबालिका नाच्दा रसाए आँखा

नृत्य प्रस्तुत गर्दै द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिका ।    तस्बिरः टंक/नागरिक

सर्लाही – चेतना सन्देश नेपालको मातहतमा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले प्रस्तुत गरेको गायन, नृत्य र नाटकले गत मंगलबार दिउँसो हरिवनको घुर्कौलीस्थित बालगृहको प्रांगण संगीतमय बन्यो। रौतहटका ७ वर्षीय जैविक राई र ३ वर्षीय सम्राट राईको अभिनयले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि एवं दर्शकका आँखा रसाए।

प्रदेश सभा एवं प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन नेकपा एमालेले रौतहटको चन्द्रपुरमा आयोजना गरेको चुनावी सभामा परिवारसहित गएका राईद्वयको अज्ञात समूहले गराएको बम विष्फोटमा परी हात र खुट्टामा चोट लागेको थियो।

सांस्कृतिक संस्थानले सोही घटनालाई जीवन्त प्रस्तुत गर्ने क्रममा जैविक र सम्राट स्वयंलाई समेत अभिनय गराएर ‘यस्तायस्तै कथाहरु’ नामक नाटक देखाउँदा दर्शक भावुक बनेका हुन्।

चन्द्रपुर–५ निवासी दुई भाइकी आमा सरिताले त्यो विस्फोटबाट गोडा नै गुमाइन्। साताअघि मात्र जैविक र सम्राटलाई नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त बालगृहमा जिम्मा लगाएका थिए। माओवादी नाटकमा द्वन्द्वकालमा अभिभावक गुमाएर होस् वा अर्की महिलासँग प्रेम बसेपछि श्रीमान्ले घरकी श्रीमतीको हत्या गर्दा टुहुरो बनेर बालगृहमा आश्रित हुन आइपुगेका घटनालाई पनि नाटकमा देखाइएको थियो।

जैविक र सम्राटजस्तै बालगृहमा आश्रित ३५ बालबालिकाले गायन, नृत्य, अभिनय र वाद्यवादन प्रस्तुत गरेका थिए। स–साना बालबालिकाले ‘हिमालमा हिउँ, तराइमा तोरीः नेपालका हामी छोराछोरी’ गीतमा नृत्य देखाउँदा कार्यक्रमस्थल अवाक् बनेको थियो। कार्यक्रममा बालबालिकाले मैथली ‘यहि ठिँया टिकुलिया’, तामाङ सेलो ‘च्याङ्गबा ओइ च्याङ्गबा’ लगायत एक दर्जन गीतमा नृत्य एवं ‘सबाट सप्तरंगी इन्द्रेणी’, ‘हाम्रो खुसीका लागि हामीले’ लगायत आधा दर्जन गीत प्रस्तुत गरेका थिए।

राष्ट्रिय नाचघरले गत साउन ५ गतेदेखि ११ दिनसम्म चलाएको कलाकार प्रशिक्षण शिविर समापनमा कलाकारले आफ्ना प्रस्तुति दिएका थिए। बालगृहमा आश्रितसहित स्थानीय १ सय ५५ बालबालिकालाई गायन, नृत्य, अभिनय र वाद्यवादनको प्रशिक्षण दिइएको राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले बताए। ‘स्थानीयस्तरमा कलाकार जन्माउने उद्देश्यले नाचघरले मुलुकभर यस्ता प्रशिक्षणहरू चलाउँदै आएको छ,’ उनले भने, ‘यहाँ पनि त्यसैको निरन्तरता स्वरुप प्रशिक्षण शिविर चलाएका हौं। सिकेका बालबालिकाले अत्यन्त राम्रो प्रस्तुति दिए।’

कार्यक्रममा प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती, प्रदेश सांसद बेची लुंगेली, प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, हरिपुर नगरपालिकाका मेयर जमरुद्धिन मन्सुरलगायतले छोटो समयमा पनि बालबालिकालाई निकै राम्रो कलाकारको रुपमा उतार्न सकेकोमा नाचघर टिमलाई धन्यवाद दिए।

चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले बालगृहकासहित स्थानीय १ सय ५५ जनालाई ४ वटा विधामा नाचघरले प्रशिक्षण दिएर कला संस्कृतिको क्षेत्रमा निकै टेवा पुर्याएकोमा धन्यवाद दिए। महाप्रबन्धक थापाका अनुसार प्रशिक्षित १ सय ५५ जनामध्ये हरेक विधामा उत्कृष्ट हुने ५–५ जनालाई थप बन्द प्रशिक्षणमा राखेर सिकाइने छ।

 

प्रकाशित: २० श्रावण २०७५ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App