१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

टोकियो पुग्यो नेपथ्य

काठमाडौं– तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग विदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए। त्यतिबेला नेपालमा महाभूकम्प गएको थियो। पूर्वनिर्धारित कार्यक्रम भएकाले गर्नैपर्ने अवस्था आइपरेपछि ब्याण्डले भूकम्प पीडितलाई नै समर्पित गर्दै त्यो कन्सर्ट सम्पन्न गरेको थियो। उक्त कन्सर्टबाट उठेको रकमबाट नेपथ्यले त्यतिबेलै भूकम्प राहतको लागि सहयोग गरेको थियो।

‘यसपटक मनोरञ्जन होइन, समवेदना बाँड्न आयौं,’ नेपथ्यका सर्वाधिक रुचाइएका गीतहरु नै नगाइएको त्यस कन्सर्टको समाप्तीमा अमृतले भनेका थिए, ‘तपाइहरुलाई छमछमी नचाउन फेरि भब्य तयारीको साथ छिट्टै जापान आउने छौं।’ त्यो वाचा अब पुरा हुनेभएको छ। जापानकै महत्वपूर्ण कन्सर्ट आयोजनास्थलमा यसपाली नेपथ्य प्रस्तुत हुन गइरहेको छ।

यही जुलाइ ७ शनिबारका दिन राजधानी टोकियोस्थित ‘टोकियो डोम सिटी हल’मा नेपथ्यका सर्वकालिक हिट गीतहरु गुञ्जिने भएका छन्। ‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको त्यस हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ जडित छ जसबाट निस्केका आवाजलाई अझ विशेष बनाउन ‘साउण्ड एब्जर्बिङ अकोस्टिक वाल’ लगाइएको छ।

गायक अमृत गुरुङका अनुसार यो कन्सर्टलाई ‘गोरेटो प्रोडक्शन’ले आयोजना गरेको हो।

‘अघिल्लोपटक जापान आउँदा कुनै पनि रोमान्टिक गीत प्रस्तुत नगरेको नेपथ्यलाई फेरि सुन्नको निम्ति टोकियोका दर्शकहरु इच्छुक छन्,’ आयोजक कृष्ण थापा भन्छन्, ‘दर्शक रुचीलाई ध्यानमै राखेर भब्य प्रस्तुतीको निम्ति सम्पूर्ण बन्दोबस्त मिलाएका छौं ।’

जापानको यो पछिल्लो भ्रमणमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। भ्रमणदलमा मुख्य गायक अमृत लगायत १० सदस्य सांगीतिक, प्राविधिक र व्यवस्थापन टोली साथै रहनेछ।

प्रकाशित: १७ असार २०७५ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App