७ माघ २०८१ सोमबार
image/svg+xml
कला

अल्सर र पल्सर

लघुकथा

मैजिदास थारु एकसरो धोतीमा थुरथुर काँपिरहेको छ। पेटमा अल्सर छ उसलाई। थारु गाउँको सबभन्दा बूढो मानिस हो ऊ। जाडोमा ओढ्ने लुगा पनि गतिलो छैन। एउटा पुरानो कम्बल छ। पुसको ठण्डी रातमा तात्तै नतात्ने। जाडोले निदाउनै सक्तैन।

ग्वालीको छेउमा परालको घुर तापेर उङेर बस्छ। उसको छोरो भने एकाबिहानै एक सय चालीस सिसीको पल्सर हुँइक्याएर चिया पशल पुग्छ।

उसको आङमा सबभन्दा न्यानो ज्याकेट छ। बूढो बाउलाई धम्कीधमास दिएरै दस धुर घडेरी बेच्यो। सो पैशाले पल्सर किन्यो। कुनै कमाइधमाइ छैन। दिसा लाग्यो भने पल्सर स्टार्ट गरेर चुरिया जंगल पुग्छ उदर खाली गर्न।

खालखालका शौखहरू छन् उसका। तिनै शोख पूर्तिका लागि उसले पल्सर किनेको छ। बाउले केही अर्तीउपदेश गर्‍यो भने हान्ने  राँगोजस्तो आँखा फुकालेर हेर्छ।

एकदिन बिहानै मैजीदासको घरमा हल्लीखल्ली चल्यो। बूढो ग्वालीमै जाडो र अल्सरको पीडाले राति नै सुँइकिएछ। पल्सर लिएर हिजै हुइँकिएको छोरो राति पनि घर फर्किएन। कहाँ गयो, कस्कोमा बस्यो? खोजीनीति पनि भएन।

अचानक पुलिस चौकीबाट घरमा फोन आयो, “केटो त पल्सर एक्सिडेन्टमा मरिसकेको छ, लाश हेर्न आउनू।”

बुधना थारु प्वाक्क बोलीहाल्यो, “ बाउ अल्सरले गयो, छोरो पल्सरले गयो। लिखन्त नै यस्तो रहेछ।”

प्रकाशित: ४ माघ २०८१ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App