नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका-११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा गल्याङ- ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो कार्यक्रम भएकाे छ।
ज्ञवाली निवासमा अनौपचारिक रूपमा कृतिकाे लोकार्पण र अक्षयकोष घोषणा भएकाे हाे। कार्यक्रममा स्वर्गीय ज्ञवालीकाे संस्मरण र नियात्राहरू ती दिनहरू लोकार्पण भएकाे छ।
समारोहमा उपस्थित सम्पूर्ण परिवारजन, आफन्त, इष्टमित्र एवं साहित्यकारले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका थिए। उक्त कृति कवि मिलन समीरले सम्पादन गरेका हुन्।
समारोहमा स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उनको परिवारजनको तर्फबाट हरेक वर्ष नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद ज्ञवाली स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रिय स्तरका साहित्यकारमध्ये एकजनालाई नगद राशि २५ हजार ५ सय २५ रूपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्ने गरी नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष- २०८१ को घोषणा गरिएको थियो।
साथै उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उनको स्मृति दिवसको अवसरमा प्रदान गरिने भएको छ।
समारोहमा कवि चण्डिकाप्रसाद भट्टराईले नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वबारे प्रकाश पारेका थिए।
कवि मिलन समीरले सञ्चालन गरेकाे कार्यक्रममा सागर काफ्लेले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा अनन्त अर्याल, चण्डिकाप्रसाद भट्टराई, तोरणराज बस्याल, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डेय क्षितिज, प्रेमबन्धु सुवेदी, ढालबहादुर केसी, मदनकुमार पौडेल, लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी, लीलाराम ज्ञवाली लगायतले आफ्नाे रचना प्रस्तुत गरेका थिए।
प्रकाशित: २३ मंसिर २०८१ १२:४९ आइतबार