४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

आवाजविहीनहरूकाे आवाज ‘सुमन सुधा’

पुस्तक

चितवनमा रहेर साहित्य सिर्जनामा तल्लीन एक अथक स्रष्टा हुन् सुमन कडरिया। गजल, कविता, मुक्तक, कोपिला जस्ता विविध विधामा आफ्नो उपस्थिति जनाइरहने कडरियाले  ‘सुमन सुधा’ नाममा आफ्ना सुन्दर गजलहरू सङगृहीत गरेका छन्। सुमनको ‘सुमन सुधा’भित्र पसेर रमाउँदै निस्कँदै गर्दा मभित्रको पाठकले गरेका अनुभूतिहरूलाई यो लेखमार्फत प्रस्तुत गरेको छु। यो न समालोचना हो न त समीक्षा। एउटा पाठकको ब्रम्हले सुमन सुधाभित्र जे भेट्टायो त्यही कुरा प्रतिबिम्बन गरेको मात्र हो।

सुख शान्ति मिडिया प्रालिले प्रकाशन गरेको गजलसङ्ग्रह ‘सुमन सुधा’मा गजलहरूका लागि एक सय एक पेज छुट्याइएका छन् र एक सय एक पेजमा उनका एक सय एक उम्दा गजलरूपी सुमनहरू छन्।

चितवनमै रहेर साहित्य साधना गर्ने विद्याकी देवीका अनन्य भक्त धनराज गिरीको भूमिका रहेको उनको कृतिको सम्पादन स्रष्टा वासु सापकोटाले गरेका छन्। गजलकारहरू दीर्घराज प्रेयसी, पुष्प अधिकारी अञ्जली, अम्बिका कार्कीका शुभकामनाहरू, लेखकको लेखकीय र दामोदर ढकाल दीपकको प्रकाशकीय छिचोलेपछि सङ्ग्रहभित्रको पहिलो सुमन फेला पर्छ।

सुधा हो साधना मेरो उज्जयालो काफिया पाएँ

यही हो चाहना साथी यता गाएँ उता गाएँ। (गजल) 

उनको पहिलो गजलको पहिलो सेरले नै पाठकको मनलाई मजाले आकर्षित गर्दछ। फूलबारीमा फूलेका रङ्गीन र विविध जातिका फूल जस्तै, नेपालको विविधता जस्तै र विचारहरूको विविधता जस्तै विषय, कला, प्रस्तुति र सन्दर्भहरुमा विविधतायुक्त गजलहरू कलात्मक ढङ्गमा सजाएका छन् सुमनले। उनको सङ्ग्रहका गजलमा शालीन शृङ्गार छ, असन्तोष छ, आशा छ, सपना छ, वियोग छ, विरक्ति छ र छ विष्फोटक विद्रोह। कतै उनी सफल प्रेमीको रूपमा प्रस्तुत छन्, त कतै विछोडले आक्रान्त घायल प्रेमी। कतै उनी जिन्दगीदेखि विरक्तिएको पथिक जस्ता लाग्छन्, त कतै एक सशक्त विद्रोही।

गाउँघर उनकै अरे शहर उनकै अरे

हुइकिने चिल्ला सबै मोटर उनकै अरे (गजल ४८)

पेसाले सुमन कडरिया शिक्षक हुन्। एक सफल र सम्मानित शिक्षक। सङ्ग्रहभित्र कतैकतै उनी शिक्षककै रूपमा नानीबाबुहरुलाई अर्ती उपदेश दिंदै गरेका भेटिन्छन्।

पढने बेला यही हो, मन लगाई पढनुपर्छ

संघर्षले उन्नतिको शिखरमा चढनुपर्छ। (गजल ७५)

कतै कडरिया वर्तमानका तीतामिठा अनुभूतिहरू ओकल्छन् त कतै भविष्यका सपनाहरू बुनेर आफू रोमाञ्चित बन्छन् र पाठकलाई पनि सँगै डोहोर् याउँछन्। कतै उनी विगतका स्मरण सुन्दर ढङ्गले सजाउँछन्।

उनीसँग खर्चिएका रातहरू मीठा थिए

सुमन सुधा मिसिएका वातहरू मीठा थिए।

अहिले नेपाली गजलकारहरू माझ बहर र गैरबहर, छन्द र स्वतन्त्र आदि जस्ता विवाद छताछुल्ल छन्। एकथरी लेखकले अर्को थरीका गजललाई गजल होइन भन्ने, निषेध गर्ने, गजल बिगारेको भनेर आरोपित गर्ने जस्ता कार्यहरू गरिरहेका  छन्।

कसैकसैले त झन गैरबहरका गजललाई गजल नभनेर चारू,राग, विराग जस्ता छुट्टै संज्ञाहरू पनि दिइरहेका छन्। तर सुमन कडरिया सबैसँग मित्रवत हुन चाहन्छन्। हातमा हात जोडेर समय र परिवर्तनहरूलाई आत्मसात गर्नुपर्ने सन्देश प्रवाह गर्छन्।  निषेधलाई निषेध गर्छन्। अनि  बहर र गैरबहर दुवै खाले गजलहरूलाई एउटै सङ्ग्रहभित्र सङ्ग्रहित गर्छन्। यस मानेमा पनि उनको सङ्ग्रह पृथक् र समावेशी बनेको छ।

एउटा लेखक समाजमा जन्मन्छ र हुर्कन्छ। समाजमा रहेका विविध कुरालाई उसले सामान्य आँखालेभन्दा अलिक फरक तरीकाले देख्छ र तिनै कुराहरूलाई कलात्मक रूपले लेख्छ।

सुमनले आफ्नो गजलसङ्ग्रहमा आफू बाँचेको समाज र समयलाई लेखेका छन्। कतै आफ्नै निजी अनुभूति त कतै समाजका विविध पात्रका अनुभूति आफ्नो कलमको सहायताले बोल्न लगाएका छन्। आवाजविहीनहरूका आवाज बनेका छन्। कृतिभित्र सङ्गृहीत उनका गजलहरूको भाषाशैली सरल,सहज र बाेधगम्य छ। शब्दहरूको छनोट र संयोजन कलात्मक छ। पढन सुरु गरेपछि पाठकलाई तानिरहने सामर्थ्य राख्दछ।

कहिले वैशाख कहिले असारले सताइरहन्छ

छेउछाउका बस्तीलाई किनारले सताइरहन्छ।

कहिले भत्काइदिन्छ कहिले बनाउँछ पनि

सुकुम्बासी बस्तीलाई सरकारले सताइरहन्छ। (गजल ४) 

माथिका सेरहरूमा गजलकार गरिब सुकुम्बासी वस्तीका पीडा र सरकारको अकर्मण्यतालाई कलात्मक रूपले व्यङ्गबाण प्रहार गर्छन्।

भनिन्छ, हरेक पाठकको आफ्नो पुस्तक हुन्छ र प्रत्येक पुस्तकको आफ्नो पाठक। पुस्तक कहिल्यै पनि बुढो र पुरानो हुँदैन। सुमन कडरियाको यो सङ्ग्रहका गजलहरू पढ्दै जाँदा प्रत्येक पाठकले कहीं न कहीं आफूलाई भेट्टाउँछ, आफ्नो समाज र परिवेशलाई भेट्टाउँछ।

पुस्तकाकार रूपमा यो सुमन कडरियाको पहिलो एकल सङ्ग्रह हो। समीक्षक तथा समालोचकका आँखाले भेट्टाउने त्रुटिहरू पाठकको आँखाले फेला पार्न गाह्रो पर्छ यो सङ्ग्रहमा। गजल नम्बर १०० र १०१ मा अरू गजलमा झैं नम्बर दिइएको छैन। सायद यो प्रेसमा भएको प्राविधिक कमजोरी हो। पहिलो सङ्ग्रह भएकाले सामान्य भाषिक र प्राविधिक त्रुटिका निमित्त सुमन कडरिया क्षम्य रहन्छन्। आगामी यात्रालाई निरन्तरता दिनु र अर्को पुस्तक योभन्दा अझ बढी सशक्त बनाउनु कडरिया स्वयंका लागि चुनौती हो। यो चुनौतीको भारी बोक्न उनी तयार हुनुपर्छ।

सारमा नेपाली गजल संसारले एउटा दर्बिलो सर्जक र एउटा सफल कृति पाएको छ। गजलका पाठकहरूले एउटा सङ्ग्रहणीय र पठनीय कृति पाएका छन्। मैले यो कृतिको अध्ययन गर्दा सुन्दर केशराशि मात्र देखेको छु, त्यसलाई पल्टाएर जुम्रा, चम्कना, लिखा र चाया खोजी गरेको छैन्। सुन्दर फूलहरू देखेको छु, त्यसका पत्तामा भएका छिद्र र दागहरू खोजी गरेको छैन्। उनको गजलीय बगैंचाभित्र पसेदेखि ननिस्कुन्जेलसम्म म भित्रको पाठक रमाएको छ। आनन्दित र हर्षित भएको छ। रविन्द्र पौडेलको लेआउट र तिलक भट्टराईको सुन्दर आवरण चित्रले सजिएको यो कृति पढ्दा कुनै पनि पाठकले आफ्नो समय र यसका लागि खर्चेको २०५ रूपैयाँ खेर गएको महसुस गर्ने छैन।

एउटा पठनीय कृतिका लागि गजलकार सुमन कडरियालाई हार्दिक बधाई एवं  शुभकामना।  

प्रकाशित: १० भाद्र २०८१ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App