१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

दुराडाँडा: हली-ब्राह्मण मुकाम

इतिहास

आजको समय यान्त्रिक युग हो। आजको संसारमा कुनै मानवले काम गर्नुपर्दैन। केवल मानवले सञ्चालन गर्नु मात्र पर्छ, सबै कुरा तयार हुन्छन्।

आजभन्दा सत्तरी असी वर्षअघिको कुरा हो। त्यो बेला मानिसलाई धेरै कठिनाइ थिए। यो हाम्रै देशको कुरा हो। त्यतिबेला एकछाक नुन हालेको तिहुन खानलाई पाँच सात दिनको खाजा खर्च डोकोमा हालेर नाम्लाले बोकेर भोटबाट ल्याउनुपथ्र्यो। त्यो नुन बोकेर ल्याउँदा थाप्लोमा एकइन्च जति खाल्टो परेको हुन्थ्यो।

माथि गाउँ गाउँमा खित्रीमित्री मरमसला, बिस्कुट, चकलेट, कपडाहरू राखेका पसल हुन्थे। तिनका लागि पनि मानिसले चारपाँच दिनको बाटो भरियामार्फत सामान बोकाएर ल्याउनुपथ्र्यो।

त्यतिबेला नेपालमा राणाहरूको शासन थियो। बोल्न केही पाइन्नथ्यो। कसैले चुक्ली लगाइदियो भने जीवन खतरामा पर्थ्याे। यस्तो अवस्थामा पनि लमजुङ दुराडाँडाका ब्राह्मणले हलो जोत्ने योजना ल्याए अनि योजनालाई कार्यान्वयन गरेरै छाडे। केही उखान छन्– ‘मान्छेमा ‘पाइन’ हुनुपर्छ बुझ्यौ’, ‘यस्तो लोतिखरेले के काम गरेर खाला’, ‘फलाना ठाउँको पानी खाएको मान्छे हौं हामी बुझ्यौ’ आदि।

वास्तवमा मलाई लाग्छ, त्यहाँको पानीले पनि धेरै काम गर्दो रहेछ। जस्तो बीज रोप्यो, त्यस्तै विरुवा उम्रिन्छ र त्यसले त्यसैको फल दिन्छ। खेती असल हुन त्यहाँको माटो पनि असल हुनुपर्छ। माटो राम्रो भएन भने खेती नै हुँदैन। मान्छेको असल बुद्धि विचार हुन असल खाना खानुपर्छ भन्ने छ।

त्यस्तै लमजुङको पानी असल नै मान्नुपर्छ। त्यहाँ जन्मिएका मानिस चाहे जहाँसुकै जाऊन्, तिनले त्यहाँ केही न केही दसी छोडेकै हुन्छन्। त्यहाँ पहिला बाईसे चौबीसे पालामा घले राजाहरूले शासन गर्थे। त्यस्ता बेलामा पनि लमजुङका जनता उठेर राजा फेर्ने काम गरे।

त्यतिबेला राजा फेर्ने काम सानोतिनो हिम्मत, साहस, वीरता नभईकन सक्ने कुरै थिएन। तिनले त्यतिबेला कास्कीका राजाका छोरा यशोबह्म शाहलाई ल्याएर स्थापना गरे। त्यतिबेलादेखि लमजुङले केही न केही साहसिला वीरताका कार्यहरू गर्दै आएको पाउँछौं। कति भिक्टोरिया क्रस ल्याउन समेत सफल हुनुहुन्छ। भक्ति थापा त्यहीं जन्मिनुभयो। उहाँको वीरताको कुरा हाम्रो इतिहासमा अहिले पनि अङ्कित छ।

राष्ट्रकवि माधव घिमिरेको उच्च मूल्याङ्कन नगरी रहन सक्दैनौं। अरू पनि हुनुहुन्छ जस्तै कमलनाथ अधिकारी, जसले यो समाजलाई कमल गीता नेपालीमा उल्था गरेर छोडेर जानुभयो। लमजुङ चिसंकुवाका श्रीप्रसाद घिमिरे त्यतिबेलाका अग्रणी व्यक्तित्व मानिनुहुन्छ।

सांस्कृतिक क्षेत्रमा देउबहादुर दुरा जहाँ कि उहाँले त्यति बेला करापुटारमा सात दिन सात रातसम्म ठाडो भाकाको गीत गाउनुहुन्थ्यो भनिन्छ। अहिलेसम्म पनि ‘कहाँ गयो देउबहादुर दुरा शून्य भयो करापुटार बजार’ भन्ने गरिन्छ।

वास्तवमा त्यतिबेलै कुसुमाकर घिमिरे, खजेदुरा, यशोब्रह्म शाहले जागरुक गराएको लमजुङ जति पनि आज यो देशमा गोरेटो पैदा भयो, आज तमाम नेपाल अधिराज्यका मानवहरू हिँडिरहनुभएको छ। त्यो सबै लमजुङको देन भएको सबैले स्विकार्नैपर्छ। आज देशमा जति पनि नीति निर्माण भएका छन्, कार्य विभाजन भएका छन्, सबै त्यो बेलाको लमजुङ राज्यको द्योतक रहेछ।

सबैले मान्नै पर्छ, जब जरो खोतल्छ अनि मात्रै थाहा हुन्छ। चाहे हाम्रा ध्वजापताकाका कुरा हुन्, चाहे विधानसम्मत नीति निर्माणका कुरो हुन्, चाहे धर्म संस्कृतिका कुरा हुन्, चाहे राष्ट्र संरक्षणका कुरा हुन् वा धार्मिक सहिष्णुताका कुरा हुन् अथवा समावेशिताका कुरा हुन्, धन्य धन्य लमजुङे तिमीहरूले त्यो बाटो पहिल्याएर नै गोरेटो निर्माण गरेका रहेछौ। तिमीहरूलाई हाम्रो सलाम छ। त्यहींबाट लमजुङेले धेरै नयाँ नयाँ कार्य गर्दै आइरहेका छन्।

त्यसमध्ये एउटा हलाकर्षणको कुरा गरौं। त्यत्रो राणाशासनको जगजगी भइरहेको बेलामा पनि लमजुङबासीले हलो जोतेर देखाइदिए। त्यतिबेला हलो जोत्नु भनेको कम साहसिलो कुरा थिएन। यो त ठुलो क्रान्तिकारी काम थियो, त्यतिबेला त्यो राणाशासनको समयमा हलो जोत्नु कम क्रान्तिकारी कदम थियो र? त्यतिबेला साना साना चुक्लीले पनि मानिसको ज्यानकै खतरा हुन्थ्यो। यस्तो समयमा पनि ब्राह्मणले हलो जोत्नु कम वीरतापूर्ण काम थिएन।

‘ब्राह्मणले हलो जोत्न हुन्छ जोतौं’ भन्ने सम्पूर्ण योजना तोयनाथ अधिकारीको थियो। मुख्य योजनाकार तोयनाथ अधिकारी भएको सबै रीतिस्थितिले देखाउँछ तर उहाँले मात्र भनेर त भएन, सबै समाजले नदिएसम्म एउटाले मात्र भनेर योजना पूर्ण हुने थिएन। त्यसमा बुढापाका, युवक सबैको साथसहयोग नभईकन गर्न सक्ने कुरै भएन।

सबै समाजसँग सल्लाह गरेर मात्रै हलो जोत्ने कार्य सम्पन्न भयो। हरिभक्त पौडेल कसिनुभयो। लप्टन शेषकान्त अधिकारी अगाडि बढ्नुभयो। त्यति बेलाको जल्दाबल्दा युवक श्रीकान्त अधिकारी लाग्नुभयो अनि मात्र सफल भयो।

त्यतिबेला तोयनाथ अधिकारीले ‘बाहुनले हलो जोत्न हुन्छ, जोतौं’ भन्नुभयो। उहाँ त पण्डित मान्छे, पण्डितले हुन्छ भनेपछि कसले विरोध गर्ला र? सबैले समर्थन गर्छन् होला भनेर सम्झिनुभएको थियो। एकातिर पानी आयो, जलमस्थल भयो, हली नभएर खेत रोप्न नपाइने। बल्ल बल्ल हली पायो, पानी सुकिसकेको हुन्छ।

अर्कातर्फ बिहान एकैछिन सागमुला छर्नुपर्ने बेला भयो, भनेको बेलामा हली छैन। यस्ता समस्या फुक्ने हुँदा सबले समर्थन गर्छन् भन्ने पनि थियो र अर्को कुरा यो कार्य ऐतिहासिक हुन्छ र जसले गर्दा उब्जनी पनि बढ्छ, साथै यो कुरा सफल भयो भने दुराडाँडेले यसो गरे भन्ने इतिहास रहने हुनाले केही न केही गरेर छोड्नुपर्छ भन्ने दुराडाँडे योजना पनि पूरा हुने भयो।

त्यसैगरी समाजमा समानताको बीज पनि रोपिने भयो। काम नभएकालाई कामको अवसर पनि हुने भयो। राणाशासन विरुद्धको काम पनि भयो। यसले धेरै कार्यहरूको उद्देश्य पूरा गर्ने छ भनेर योजना ल्याइयो। तर त्यसको विरोध गर्नेहरू पनि त्यत्तिकै भए, समर्थन गर्नेहरू पनि भए।

अन्ततोगत्वा समर्थन गर्नेभन्दा विरोध गर्नेहरू नै धेरै भए। कति विरोधका कविता गीत बनाइए, अहिलेसम्म ब्राह्मणले नगरेको कुरा गर्नुपर्ने यिनीहरूलाई समाज भँडुवा, समाज बिगारे, हाम्रो धर्म–संस्कृति नास गरे भनेर ‘हे! हे!’ गर्दै जोत्नेहरू समाजमा पतन भएको महसुस गराए।

आजसम्म पनि हाम्रो समाजको प्रवृत्ति हेर्दा यस्तो छ कि भित्र भित्र त्यसको फाइदा पनि लिइराखेको छ र त्यसको विरोध पनि गरिराखेको हुन्छ। सोझासादालाई उक्साएर भित्र भित्र आफ्नो मतलब साध्य गरिराखेको हुन्छ। यसले समाजलाई दूरगामी असर के पार्छ त्यो हेरिँदैन। आफ्नो फाइदा कताबाट कसरी हुन्छ, हाम्रो मानवीय प्रवृत्ति अहिलेसम्म पनि त्यस्तै छ।

त्यतिबेला हेर्नोस् त, त्यत्रो समाजको अबगाल खाएर पण्डित तोयनाथ अधिकारी, शेषकान्त, हरिभक्त पौडेल आदिले जोतेका थिए र पछि तनहुँ, कास्की, धादिङ आदिले पनि जोतेर बल पुग्यो। नत्र तिनीहरूको ज्यानै पनि जान सक्थ्यो।

आखिरीमा आज सबै समाजले त्यसको फाइदा लिइराखेको छ तर त्यतिबेला समाजमा तिनलाई बसिटिकिसक्नु भएन। समाजबाट कति बहिष्कृत भए। यस्ता कुरा हाम्रो समाजका बुद्धिजीवी तथा पत्रपत्रिकाहरूले महसुस गर्नुपर्ने कुरा हो।    

प्रकाशित: १ भाद्र २०८१ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App