आमा जसमाया राई र आपा हस्तबहादुर राइको सन्तानका रूपमा उदयपुर बलम्ता (लिम्चुङबुङ–४) मा जन्मिएकी शान्ता राई कलेजकी मेरी मिल्ने साथी। कलेज पढ्दातिर नै उनी गीत लेख्ने, गुनगुुनाउने, कविता कोर्ने तर डायरीमा नै थन्काएर राख्ने गर्थिन्। ग्रामीण विकास विषयमा एमएसम्मको शिक्षा हासिल गरेकी शान्ता आफ्नो घरपरिवार सम्हाल्दै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थारुम टु रिडको शिक्षा क्षेत्रमा काम गरिरहँदा अन्यन्त व्यस्त भइन् र उनका साहित्यिक सिर्जनाहरू फेरि पनि डायरीमा नै सीमित रहे।
हाल आएर उनलाई क्यान्सर जस्तो प्राणघातक रोगले समात्यो र उनले त्यस रोगसँग लड्न ठूलो साहस गरिन्। जितिन्। तत्काललाई जागिरे जीवनबाट आराम लिएपछि बल्ल शान्ताको सिर्जनाले पुस्तकका रूपमा आकार पायो। परिणामस्वरूप भर्खरै बजारमा शान्ताकृत कविता कृति‘आवरभित्र म’सार्वजनिक भएको छ। यसरी पहिलो कृति जन्माएकोमा कृतिकार शान्तालाई एक भूगोल बधाई।
‘आवरणभित्र म’ जब मेरो हात प¥यो तब पल्टाएर हेर्नु अगडि सोचेँ-शान्ता एउटी बेहिसाब, बिन्दास मान्छे हुन्, उनले बिन्दासी पाराले आफ्ना भावहरू पोखेर कविता कोरिन् होला! तर जब कृतिभित्र पसेर अक्षरहरू छाम्न थालें तब पत्तो लाग्यो, शान्ता अब अल्लारे बिन्दास लेखक होइन रहिछन्। उनका कवितामा कतै जीवनप्रति निराश त कतै आशा पोखिएको छ। भोगाइहरूले खारिंदाखारिंदा माझिएकी शान्ता आफ्ना भोगाइका बेला यसरी भावव्यक्त गर्छिन्-
अपवाद!
म केही मेटाउन सक्दिन,
जस्तोसुकै इरेजरले पनि,
मेट्न खोज्दा मेटिंदै नमेटिने,
जिन्दगीका भोगाइइहरू,
जुन अन्तर्मनमा लेखिएका छन्,
बेस्सरी मुटुमा गढिएका छन्।
नेपाली समाजमा पछिल्लो समय डरलाग्दो तवरले घटिरहेको घटना हो बलात्कार। बलत्कारीलाई पुजिने अनि बलात्कृतचाहिं समाजमा दण्डित हुनुपर्ने। यो विकृत चलन कवि शान्तालाई पटक्कै मन पर्दैन। यो समाजमा आफ्नै ठानिएका र मानिएकाहरूबाट हाम्रा छोरीचेलीहरू बलात्कृत भइरहेको घटनालाई लिङ्गहरूबाट बलात्कृत हुँदाको विभत्स घटनाको विरुद्धमा शान्ताको कलमले यसरी आक्रोश ओकल्छ-
म केवल प्रतिनिधि पात्र हुँ।
आफ्नो लाग्ने, ठानिनेद्वारा नै
टुक्राटुक्रा बनाइएर
विभत्स मेरो हत्या गराइने
उही ख्याती श्रेष्ठ हुँ म
सुरक्षा संगठनभित्र
मेरै सहकर्मीद्वारा बलात्कृत हुने
उही सुन्तली धामी हुँ म
राक्षस पतिद्वारा नै हत्या गराइने
उही गीता कोइराला हुँ म।
‘आवरणभित्र म’भित्र रहेका कतिपय कवितामा गन्धे राजनीति, गुण्डा नेता, उस्तै कार्यकर्ताका दादागिरीका कारण समाज बर्बादीतिर जाँदै गरेको विषय पनि छन्। दुनियाँ अत्यन्तै स्वार्थी छ। बलेको आगो सबैले ताप्छन् तर निभेको आगोको कसैले वास्ता गर्दैनन् भन्दै कवि लेख्छिन्-आज म,
रित्तिएको भकारी भएको छु
खडेरीले चर्चरी फुटेको धर्ती जस्तो छु
मुहान सुकेको खोलाजस्तै भएको छु।
आजकाल
मलाई देख्ने तिम्रो नजर बदलिएको छ
हेर्ने तिम्रो आँखा तिल्मिलाएका छन्।
मान्छेले प्रेम चाहन्छ। प्रेमिल वातावरण चाहन्छ। सकारात्मक सोच भनेको सकारात्मक भाव हो। शान्ता आफैंमा सकारात्मक सोंच भएको मान्छे। उनी अँध्यारोमा पनि उज्यालोको अपेक्षा गर्दछिन्। उनलाई उज्यालोको मर्म थाहा छ र उनी भन्छिन्-
अँध्यारोमा पनि
जूनकिरी चम्कियोस् भन्छु
धमिलो आकाशमा पनि
तारा देखियोस् भन्छु
औंसीमा पनि जून छाओस् भन्छु
कन्दारामा पनि किरण पुगोस् भन्छु,
उज्यालो नबुझ्नेलाई
पूर्णिमा र औँसी नचिन्नेलाई
मेरा अनेकन आशाहरूमा
उज्यालो दियोको महिमा के थाहा?
शान्ता राईको कवि हृदयले प्रेमलाई पनिकतै बन्धन महसुस गर्दछ। प्रेमले पत्तै नपाई मान्छेको मन बाँधिदिन्छ र आफ्नै बसमा राखि राख्न चाहन्छ। प्रेम साँच्चै अन्धो हुन्छ आँखा देख्दैन, कानो हुन्छ कान सुन्दैन। प्रेमले मान्छेलाई पागल बनाउँछ। उनी भन्छिन्-
प्रेममा म आफैं
नचाहेर पनि
सीमसार बन्छु, दलदलमा भासिन्छु
चाहेर पनि, स्वतन्त्रहुन सक्दिन
त्यो प्रेम कस्तो प्रेम
प्रस्तुत कृतिभित्रको ‘पिंजडाको जिन्दगी’शीर्षक कविताले, सिङ्गो महिला जगतलाई प्रतिनिधित्व गरेको छ। थाहा पाएर होस् या नपाएर होस् अझै कतिपय महिलाको आफ्नो जिन्दगी छैन। पितृसत्तात्मक पिंजडाभित्र थुनिएको छ, कोचिएको छ। यस काविताको सानो अंशमा यस्तो भनिएको छ-
कसलाई के थाहा
जिन्दगीजन्जिरमा कुँजिएको
धर्ती रआकाश सारा नै
पिंजडा रहेछ मेरो
उड्न खोज्दा अरू चरीझैं
पखेटा काटिनुपर्ने कस्तो भाग्य परेछ
सुनेर घेकेर अरूकै बोल्नुपर्ने रहेछ
मुख भएर पनि बोल्न नमिल्ने
खुट्टा भएर पनि हिँड्न नमिल्ने
गाँस टिप्नलाई,
एक छाक पेट भर्नलाई
गोपी र कृष्ण गाउनुपर्ने, आफैँलाई जलाई । (पृ.२७–२८)
उ भन्छ
गाएको गीतमा छम्–छम् नाच्नु रे
कुनै महलमा
नर्तकीलाई मालिले नचाएझैं
वरिपरि नाच्दै घुम्नु रे
टिलपिलाएको
त्यो मान्छेको आँखा हेर्न सकिन्न
ती आँखाहरू झम्टिने दाउमा रहेजस्तै लाग्ने
उसले आफूलाई देवत्वकरण गरे पनि
लाग्छ देवताभागेछ उ भित्रबाट (पृ.३९–४०)
कतै अस्तित्वको खोजी गरिएको, कतै प्रेममा समर्पित भाव समर्पण गरिएको, कतै आमाको महिमा गाइएको प्रसङ्गहरू पनि कवितामा विषय बनेर आएका छन्। कुनै कवितामा आदिवासी पहिचानको खोजी गरिएको छ। विदेशमा पसीना बगाउने कतिपय श्रीमान्का श्रीमतीहरूले परपुरुषसँग लागेर घरव्यवहार बिगारेकोप्रति लेखकीय आक्रोश दह्रो छ। गाउँले पर्यावरणको मायाको प्रसङ्ग छ।
शान्ता राईभित्र रहेको कवि हृदयले यो शहरलाई कंक्रिटको जङ्गल देख्छ। प्रदुषित शहरमा कवि मन फिटिक्कै अडिँदैन। कविलाई आफ्नै गाउँले गोरेटो बाटो माटो सबै अग्र्यानिक लाग्छ। शहरप्रति आक्रोश पोख्दै कवि लेख्छिन्-
कस्तो?
कंक्रिटको बगर हो तिम्रो शहर
म गाउँले हुँ,
मलाई बगर लाग्ने
तिम्रो शहरमा तिमीलाई नै भेट्ने
अचम्मको मेरो रहर।
यसरी हेर्दा शान्ता राईकृत कविता सङ्ग्रह‘आवरणभित्र म’भित्रभएका कविताहरूमा आफ्नै भोगाई छ, गाउँको अग्र्यानिक खुराक छ, शहरको कंक्रिटजमेको साह्रो मन छ। कतै आशा, कतै निराशा पोखिएका कतिपय कवितामा विकृति र विसङ्गतिहरूलाई समेत विषय बनाएकी छन्।
समाजमा घट्ने घट्नाका विकृत रूपको खण्डन, राम्रा पक्षको सम्मान, प्रेममा समर्पित भाव साथै विभत्स पक्षमा आक्रोस ओकलिएका शान्ताका कवितामा देशप्रेम छ। प्रकृति प्रेम छ । मानवहृदय छताछुल्ल छ। संवेदनाका शब्दगुच्छाहरू सजिएका छन्। नेताहरूलाई खबरदारी छ। भ्रस्टचारीलाई तिरस्कार भाव व्यक्त छ।
समग्रमा भन्दा हाम्रै समाज बोलेकी छन् कविले यहाँ हाम्रै पेरिफेरिका विषय उठान् गरेकी छन्। सरल अनि सरस भाषाशैलीमा लेखिएका यी कृतिहरू साहित्यानुरागी जो कसैले पनि पढेर मीठो रस्वादन गर्न सक्दछ। नेपाली साहित्य जगतमा यति सुन्दर कृति थपिएकोमा कृतिकारलाई हार्दिक बधाई एवं कृतिले सबै पाठकीय मन मुटु छुन सकोस् हृदयतः शुभकामनाका शब्दगुच्छा समर्पण गर्दछु।
प्रकाशित: ३१ श्रावण २०८१ ०९:४५ बिहीबार