३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘खुवालुङ’ को लोकार्पण तथा 'पानीपतिया' को विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले किरात राई जातिमा बोलिने भाषाहरूको पत्रिका ‘खुवालुङ’ को लोकार्पण गरेका थिए। उक्त पत्रिका प्रज्ञाप्रतिष्ठान साहित्य (मातृभाषा) विभागले प्रकाशित गरेको हो।

बेलायतलाई कार्य क्षेत्र बनाउँदै आएका साहित्यकार काङमाङ नरेश राईकाे निबन्धात्मक कृति ‘पानीपतिया’ बारे समालोचक डा. तारालाल श्रेष्ठले ‘पानीपतियाः गोर्खा भर्तीको सांस्कृतिक असर’ कार्यपत्र प्रस्तुत गरेका थिए।

कुलपति राईले काङमाङ नरेश राईकाे ‘पानिपतिया’ ले ‘ग‍ोर्खा सैनिक’ ले भोग्नुपरेको सामाजिक र सांस्कृतिक विभेदलाई मसिनोसँग केलाएका छन्। युगअनुसार उत्पादन हुने संस्कृतिले समाजलाई कस्तो असर पार्छ। त्यसबारे गम्भीर हुनुपर्ने बताउँदै राई भाषाहरूको साझा पत्रिका ‘खुवालुङ’ प्रकाशन प्राज्ञिक र सांस्कृतिक रूपमा उपलब्धि भएको बताएका थिए।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालमा बोलिने सबै भाषाको संरक्षण गर्ने दायित्व प्रज्ञाप्रतिष्ठानको भएकाले राई भाषाहरूको साझा पत्रिकाको रूपमा ‘खुवालुङ’ प्रकाशित गरिएको हो। प्रतिष्ठानले सबै भाषा र साहित्यको खोजअनुसन्धान गर्द‌ै जाने बताएका थिए।

उनले काङमाङ नरेश राईकाे ‘ पानीपतिया’ ले गोर्खा सैनिकले झेल्नुपरेको असमान सांस्कृतिक पीडालाई व्यक्त गरिएको बारे बहस हुनु सान्दर्भिक रहेको बताएका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले ‘खुवालुङ’ राई जातिहरूको साझा पत्रिका हो। यसले राईहरूको संस्कृति र साहित्य लगायतका विषयलाई उजागर गर्दै जाने बताएका थिए। मुकारुङले काङमाङ नरेश राईकाे ‘पानीपतिया’ ले गोर्खा सैनिक भर्तीमा गएकाहरूले भोग्नुपरेका कतिपय विभेदको चित्रण गरेको बताएका थिए।

कार्यक्रमका सभाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले साहित्यकार काङमाङ नरेश राईको ‘पानीपतिया’ ले गोर्खा भर्तीमा गएका नेपालीहरूले भोग्नुपरेको सांस्कृतिक विभेद र असमानता के कस्तो छ भन्नेबारे चित्रण गरेकाे बताइन्। ‘पानीपतिया’ ले सिङ्गो नेपाली समाजमा पारेको असरबारे थप अध्ययनको आवश्यकता रहेको पनि उनले बताइन्।

प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाका अनुसार उक्त कार्यपत्र प्रस्तुत गर्दै डा. तारालाल श्रेष्ठले गोर्खा भर्तीको तस्बिर, गोर्खा भर्तीको सांस्कृतिक असर, सार्वजनिक वृत्तमा गोर्खा समुदाय र सहअस्तित्वको सत्वबारे चर्चा गरेका थिए।

नारायणी देवकोटा र गुरुङ सुशान्तले कार्यपत्रमाथि टिप्पणी गरेका थिए। सहभागीका तर्फबाट सन्जोग लाफा मगरले ‘पानीपतिया’ बारे जिज्ञासा राखेका थिए।

‘पानीपतिया’ का सर्जक राईले प्रश्नैप्रश्नहरूबिच उभिएर आफूले खोजमूलक कृति प्रकाशन गरेको बताउँदै गोर्खा भर्तीमा गएकाहरूले सामाजिक र सांस्कृतिक रूपमा धेरै अन्याय भोग्न विवश हुँदै आएको इतिहास छ। यस विषयमा इतिहासकार र प्राध्यापक डाक्टरहरूले कलम चलाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको उद्घोषण योगविद् तथा प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य डा. टिपी धमलाले गरेका थिए।

प्रकाशित: २० श्रावण २०८१ ०८:३६ आइतबार

#Launch of 'Khuwalung' #Discussion on 'Panipitiya' #Social and cultural differences