१ पुस २०८१ सोमबार
image/svg+xml
कला

माफी माग्दैमा दिएको चोट निको हुँदैन!

मुक्तक

१) मुक्तक

आकाशको फलको लागि के आँखा तर्नु र?

जिन्दगीकै त भर छैन अरूको के पर्नु र?

आफूले आफैंलाई बुझ्न सकेको हुँदैन,

अरूले बुझिदेला भन्ने के आश गर्नु र?

२) मुक्तक

प्रहारको नगरी कुनै प्रतिकार खुसी राख्छु।

दुःखसँग जिन्दगीको गरी करार खुसी राख्छु।

आफ्नो एक्लो मन त खुसी बनाउन सकिंदैन,

कठै मान्छे सोच्ने गर्छ सारा संसार खुसी राख्छु।

३) मुक्तक

आकाशमा मात्र बादल लाग्नुको मजा नै अर्कै छ।

पानी परे भिज्ने चाहना जाग्नुको मजा नै अर्कै छ।

कोही सुन्दर छाताले ओत दिए त झनै मजा,

नदिए बुझ पचाएर माग्नुको मजा नै अर्कै छ।

४) मुक्तक

खुसीले तर्कायो यसरी जिन्दगानीलाई।

जसरी कर्कलोले तर्काउँछ पानीलाई।

डुब्न लागेको डुङ्गा जसरी छोड्छ मुसाले,

त्यसरी उमेरले छोडेर जान्छ जवानीलाई।

५) मुक्तक

आकारले पुजिन्छ मूर्तिसँगै घन हुँदैन।

क्षितिज भ्रम हो धर्तीसँगै गगन हुँदैन।

आजकल सम्बन्धले पनि यस्तै भ्रम छर्छ,

शरीर त सँगै देखिन्छन् तर मन हुँदैन।

६) मुक्तक

खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि।

आखिर मन हो दुख्छ जति सम्हाले पनि।

माफी माग्दैमा दिएको चोट निको हुँदैन,

जसरी प्वाल रहन्छ काँटी निकाले पनि।

७) मुक्तक

आफूभित्र एउटा सुन्दर सफा मन छ भने।

आफ्नै सुखदु:खमा रमाउने जीवन छ भने।

प्रतिकूल समयले नि दु:ख दिन सक्ने छैन,

सबै इन्द्रियहरूमाथि आफ्नो खटन छ भने।

८) मुक्तक

कति  मिलाईमिलाईकन हावाको डोरी बाट्छन्।

कुनै कन्जुसी गर्दैनन् बरु थपथाप गरी छाँट्छन्।

सेवा गर्ने हो भने कुरौटेले जस्तो गर्नुपर्छ,

विनातलब नै कसरी मच्चीमच्ची कुरा काट्छन्।

९) मुक्तक

बालुवामा पोखिंदा बिलाउँछ माया पनि।

त्यसैगरी अँध्यारोमा हराउँछ छायाँ पनि।

तर तिमी धनकै चास्नीमा डुबेका छौ भने,

भुनभुनाउने  भेटिन्छन् दायाँबायाँ पनि।

१०) मुक्तक

नजाने भएपछि उसको गाउँ पनि सोधिएन!

व्यर्थ नचाहिने सामानको भाउ पनि सोधिएन!

आफू परियो अगुल्टोले चोट खाइसकेको मान्छे,

उसले नम्बरै माग्दा आफूले नाउँ पनि सोधिएन!

प्रकाशित: १५ श्रावण २०८१ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App