९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार

नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियो। 

नेपालभाषासाहित्यका अध्येता प्रा. प्रेमशान्ति तुलाधरले ‘नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए। उनले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी चेतना भएकी एक क्रान्तिकारी र जुझारु लेखिका भएको बताएका थिए।

नेपाली र नेपालभाषाकी साहित्य सर्जक,साङ्गठनिक, साहित्यिक अभियन्ता र सबै मातृभाषाका लागि प्रेरणाको स्रोत भएको उनले बताएका थिए।

प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले मोतीलक्ष्मी उपासिकाले नेपालभाषा र साहित्यमा पुर्‍याएको योगदानबाट कोही पनि विमुख रहनु हुँदैन। उनीबारे गहिरो खोजअनुसन्धान हुनुपर्नेमा जाेड दिंदै एउटा भाषा हरायो भने राष्ट्रको ठूलो अङ्ग हराउँछ भन्ने चेतना स्वयं राज्यको हुनुपर्ने धारणा राखेका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी ‘हंसा’ ले मोतीलक्ष्मी उपासिकाले साहित्यिक क्षेत्रमा पुर्या एको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस कार्यक्रमले महत्त्वपूर्ण देन रहने कुरा स्वागत मनतव्यमा बताएका थिए।

प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाकाे अनुसार कार्यक्रमका सभाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ ले साहित्यमा विशिष्ट योगदान गरेकी मोतीलक्ष्मी उपासिका नेपालभाषा (साहित्य मात्र नभई सिङ्गो नेपाली साहित्यकी प्रेरणादायी एक क्रान्तिकारी नारी हस्ताक्षर रहेको दाबी गरेका थिए।

एक सर्जक, सङ्गठक र अभियन्ता रहेकी उपासिकाको व्यक्तित्वलाई उजागर गर्न अझै बाँकी रहेको उनले बताएका थिए।

उक्त कार्यपत्र प्रस्तुत गर्दै प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषाका विशिष्ट प्रतिभा चितधर ‘हृदय’ जस्ता साहित्यिक महारथीहरूको प्रशिक्षण र प्रेरणा पाएर कलम चलाएकी मोतीलक्ष्मी उपासिकाले राणाकालीन कालरात्रीमा पनि देशकाल परिस्थितिसँग जुधेर नेपालभाषाको संरक्षण र संवर्द्वनका निमित्त गाडि बढेको चर्चा गरेका थिए।

साथै जेलमा परेकाआफ्नो दाजु चित्तधरलाई अनेक जुक्तिले जेलभित्र आवश्यक सामाग्री जुटाई साहित्य सिर्जनामा अभिप्रेरित गर्ने र जेलकृत रचनालाई गुप्त रूपमा ल्याएर सुरक्षित राख्ने मोतीलक्ष्मी त्याग र बलिदानकी प्रतिमूर्ति भएको बताएका थिए।

नेपालभाषाका क्षेत्रमा पहिलो आधुनिक कथाकार तथा नेपाली भाषाको प्रथम महिला कथाकारका रूपमा परिचित रहेको उल्लेख गर्दै मोतीलक्ष्मीलाई नीति, उपदेशमूलक, दार्शनिक तथा स्वच्छन्दतावादी दृष्टिकोण व्यक्त गर्ने नेपालभाषाको आधुनिक गद्य साहित्यका लागि विशुद्ध सेतुको रूपमा कार्यपत्र प्रस्तोता तुलाधरले चित्रण गरेका थिए।

महिलाहरूको सहभागितासहित ’नेपालभाषा मिसा खलस्’ जस्ता संस्था खोलेर मोतीलक्ष्मी नेपालभाषाको श्रीवृद्धिका साथै मातृभाषाको उन्नायनमा प्रेरक व्यक्तित्व बनेको बारे उल्लेख गरेका थिए।

उक्त कार्यपत्रमाथि प्राज्ञद्वय चेतनाथ धमला र सूर्यप्रसाद यादव, सहभागीका तर्फबाट तिलकप्रकाश कायस्थ, शाक्य सुरेन र हरिशरण राज उपाध्याय शर्माले आआफ्नो जिज्ञासासहित टिप्पणी राखेका थिए।

कार्यक्रममा ‘मोतीलक्ष्मी उपासिका’ शीर्षकको आफ्नो कविता लोककवि राजभाइ जकमीले वाचन गरेका थिए। समाजसेवी तथा साहित्यकार कृष्णलाल प्रधान र नेवा देय् गुठीका अध्यक्ष पवित्रा बज्राचार्यले उनको योगदानबारे आआफ्नो धारणा राखेका थिए।

पूर्णिमा शाक्यले सञ्चालन गरेकाे उक्त कार्यक्रममा नेपालभाषा मिसा खलस्का अध्यक्ष धर्मशोभा तुलाधरले धन्यवादज्ञापन तथा संस्थाका सहसचिव पद्मलक्ष्मी ताम्राकारले आयोजकका तर्फबाट खादा लगाएर स्वागत गरेका थिए।

प्रकाशित: ६ श्रावण २०८१ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App