१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

त्यागीको ‘स्फुरणका भावकणहरू’ नियाल्दा

पुस्तक

विकल त्यागी वर्तमान समयका उदीयमान स्रष्टा हुन्। उनी कवि, गीतकार हुँदै हाल ‘स्फुरणका भावकणहरू’ बाट गजलकारका रूपमा नेपाली साहित्यमा देखापेरका छन्।

कविता, गीत, गजल हुँदै त्यागी कथा पनि लेखिरहेका छन्। कथा र कविताको वनबाट सुटुक्क निस्किएर उनी हाल गजलको भावमा रमाउँदै ‘स्फुरणका भावकणहरू’ गजलसङ्ग्रह प्रकाशित गरेका छन्।

यसअघि उनका ‘साँघुरो सर्को’ (कवितासङ्ग्रह-२०७८), ‘आमआलाप’ (गीतसङ्ग्रह-२०७९) पुस्तकाकार कृति नेपाली साहित्यमा आइसकेका छन्। यस सङ्ग्रहमा मुरद्दफ एवं गैरमुरद्दफ गरी चौरानब्बे गजल प्रकाशित छन्।

गजल मूलतः टेक्निकल विधा भएकाले संरचनात्मक ज्ञनाविना विशुद्ध गजल लेख्न कठिन हुन्छ। एक जमान जुन बेला गजलको कथ्य नै प्रणय र श्रृङ्गारिक भावबाट गजलको सिर्जना हुन्थ्यो। तर आज गजलको आयातन व्यापक र विस्तृत रूपमा अभिव्यक्त भइरहेको छ। प्रणय र श्रृङ्गार हुँदै सामाजिक विसङ्गति, राजनैतिक विद्रुपता, रोमाञ्चकता, गरिवीको पीडा आदि विषयवस्तुहरू आजका गजलका कथ्य बनेका छन्।

हो त्यागीका यी गजलहरूमा दृष्टिपात गर्दा समकालीन जीवनमा देखिएका विकृति, विसङ्गति, मायाप्रेम लगायत मानवीय भवनाका स्मरण हुन् भन्ने लाग्दछ। कुनै जमानामा स्त्री वा प्रेमिकासँगको कुराकानीका रूपमा परिभाषित गरिएको गजल आजको युगमा सौन्दर्य, प्रेमवासना, मानवीय पीडा, सामाजिक बिक्रिति विसङ्गति, राजनैतिक विसङ्गति, राष्ट्र प्रेम, माटोको माया जस्ता विषयहरू आइरहेका छन्।

मानवीय जीवनका विषयवस्तुलाई समेट्दा आफू जन्मेको भूमि वा जन्मस्थान हरेक मानिसका लागि स्मरण र सम्झनायोग्य जिन्दगीभर रहिरहन्छ। बच्चादेखि युवा वय अवस्थामा आफूले अनुभूत गरेका जीवनका तरङ्गहरू मनमा सधैं आइरहन्छन्। अझ आफू जन्मेर हिंडेको माटो र बाटो हरक्षणको सम्झना आइरहन्छ।

गजलकार त्यागीले आफू जन्मेको स्थान दुबेकाेलडाँडा वरिपरिको प्राकृतिक सुन्दरता र त्यहाँका मानिसका जीवनयात्रा गजलका शेरहरूमा सूक्ष्म रुपले अभिव्यक्त गरेका छन्।

यी गजलमा माया, प्रेम, सम्बन्ध र सामाजिक भातृत्वका विषय आएका धेरै नै छन्। उनका गजलमा खोला, नाला, मेलापर्व लगायत सामाजिक जीवनमा घटेका यावत घटनाहरू शेरमार्फत प्रस्फुटित भएका छन्।

त्यति मात्र नभएर वर्तमान समयमा रहेको सामाजिक, राजनैतिक विसङ्गति, अभाव, गरिबीका चित्रहरूसमेत शेरमार्फत उनिएका छन्। हो वर्तमान समयमा जति पाप कुकर्म गर्छ उत्ति नै फलिफाप भएको महसुस मान्छे गरिरहेको हुन्छ।

अझ भन्ने हो भने हरेक क्षेत्रमा छलछाम, तिकडम, खुरापत गर्न मानिस पछि पर्दैन। जसले खुरापात,पापकर्म गर्छ उसलाई फलिफाप हुने र जसले धर्म, पुण्य र राम्रो काम गर्छ उसलाई अभिशाप हुने समय हो भन्दै गजलकार त्यागी शेरमार्फत यसरी व्यक्त गर्दछन्।

जसले पाप गर्छ त्यसैको फलिफाप हुने समय हो यो

जसले पुण्य गर्छ त्यसैलाई अभिशाप हुने समय हो यो

श्रमिकको पसिना बालुवामा पानी हालेजस्तै छ र त श्रमको मूल्य कहाँ पाइन्छ? गजलमा वीरताका गाथा प्रशस्तै भए पनि भ्रष्टाचारको दलदलमा फसेको राज्यप्रणालीका बारेमा गजलसङ्ग्रहभित्रका शेरले उछितो काडेको भेटिन्छ। आफ्ना छोराछोरी ठुला भएपछि घरव्यवहार समाल्दै आफूलाई सहयोग र भर हुने भए पनि श्रङ्गारिकताका कारणले डराउनुपर्ने अवस्था सिर्जना हुने कुरा गजलकार यसरी व्यक्त गर्दछन्।

छोरी तिमी ठुली हुँदै आयौ केही भर लाग्छ

तर आँखाभरि गाजल घस्छ्यौ केही डर लाग्छ

उनी ग्रामीण सामाजिक जीवनका आयामहरूलाई प्रेमिल रूपमा अभिव्यक्त गर्दै आफ्नो मौलिकता समेत गजलमा स्फुरण गरेका छन्।

त्यति मात्र नभएर त्यागीका गजलमा मायाप्रेमको समिश्रण, राष्ट्रियता र स्वाभिमानको आत्माबोध, विकृति विसङ्गतिको पर्दाफास गरी मानवीय चेतनाहरू शेरमार्फत पोखिएका छन्। जिउमा राष्ट्रिय पोशाक भिरेर बाहिरबाहिर राष्ट्रियताको कुरा गर्ने तर भित्रभित्र पराईसँग साँठगाँठ गर्ने देशका राजनीतिज्ञका भनाइ र गडराइमा रहेको फरकपनलाई शेरमार्फत यसरी व्यक्त गरेको देखिन्छ।

जिउभरि राष्ट्रिय पोशाक भिर्नु भिरेका

तर भित्रभित्रै देशलाई पिर्नु पिरेका

यी र यस्तै शेरमार्फत समाजमा रहेका विसङ्गतिपूर्ण घटनाहरूलाई ‘स्फुरणका भावकणहरू’मार्फत गजलकार विकल त्यागीले आफ्नो भावना र समाजको तस्वीर प्रस्फुटित गरेका छन्। केही शेरमा जबरजस्त काफिया प्रयोगले भावमा असर परेको हो कि जस्तो लागे पनि समग्र गजलहरू सुन्दर र पठनयोग्य छन्।

यसैगरी गजल लेखनमा निरन्तरता दिनसके त्यागीको गजलप्रतिको त्याग नेपाली साहित्यमा रहिरहने छ।

प्रकाशित: ४ श्रावण २०८१ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App