७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला

मौरीले पनि छोड्छ फूल रस नपाएपछि!

मुक्तक

१) मुक्तक

जीवन जिउने कुनै सर्वमान्य सुत्र हुने भए,

असल भाव र नियतका सबै मित्र हुने भए।

कहाँ जानुपर्थ्यो र, रामराज्य खोज्नलाई,

सीता, राम जस्तै कुशल पुत्रीपुत्र हुने भए।

२) मुक्तक

आउँदैन काममा मज्जा, जस नपाएपछि,

मौरीले पनि छोड्छ, फूल रस नपाएपछि।

यथास्थितिबाट समस्याको समाधान हुन्न,

पैदलै पनि गर्नुपर्छ यात्रा, बस नपाएपछि।

३) मुक्तक

त्यत्तिकै त कोही कसैको हनुमान हुँदैन,

पूर्ण सत्य सावित त सधैं अनुमान हुँदैन।

अरूलाई इज्जत पनि दिनुपर्छ महाशय,

बिनाकारण कसैको मानसम्मान हुँदैन।

४) मुक्तक

बोलिनौ तर देखें चुपमा तिमीलाई,

जित्ला र कसले रूपमा तिमीलाई।

सदाबहार छौ तिमी समुद्र जस्तै,

भेटिन दिने कुनै उपमा तिमीलाई।

५) मुक्तक

गल्ती गरे पनि आफ्नालाई नै चाटिन्छ,

जो साथमा छैन उसकै त कुरो काटिन्छ।

हाँसोठट्टा बाटोका यात्रुसँग पनि हुन्छ,

दुखसुख मन मिल्नेसँग मात्र साटिन्छ।

प्रकाशित: ४ असार २०८१ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App