९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मेचीआसपासको ग्रामीण अभिनय

पुस्तक

साहित्य स्वैरकल्पना मात्र होइन र यसको सामाजिक दायित्व पनि हुन्छ भन्ने उदाहरण हो-नरहरि शर्माकृत ‘मेचीपारि र वरिपरि’।

केही महिना पहिले ‘८० वर्षे लेखकको तन्नेरी संस्मरण’बारे चर्चा गर्ने अवसर प्राप्त भएको थियो। सन्दर्भ थियो ८० वर्षीय चन्द्रमणि गुरागाईंको पहिलो कृति– ‘भीरगाउँदेखि भीमचौरीसम्म’को। यो सन्दर्भ हो, नेपालको सूर्योदयको भूमि इलामको ग्रामीण भेगमा बसेर तीन दशकभन्दा बढी शिक्षादानमा सेवा गरेका ८४ वर्षीय नरहरि शर्माको पहिलो कृति ‘मेचीपारि र वरिपरी’ को। शर्मा अनेक अलिखित कृतिका कृतिकार हुन्। यस सम्बन्धमा अलिकपछि सन्दर्भ जोडौंला।

लेखकको मत छ- ‘कीर्ति राख्ने छटपटी र कीर्तिको भोक कहिल्यै भएन। सानैदेखि धेरै कुरा पढे पनि, आफूमा लेखकहरूप्रति आदर भाव भए पनि मैले लेखनलाई साधनाको प्राथमिक क्षेत्र कहिल्यै बनाइनँ।’

आफूलाई भाग्यमानी ठान्ने यस कृतिका लेखकको स्पष्टीकरण छ-‘पछुतो र गुनासोबिना प्रारब्धलाई स्विकार्न पाइन्छ भने भाग्य त्यही हो। आफ्नो साहित्यिक वृत्त फराकिलो बनाउन नसकेको वा नपाएकोमा मलाई कहिल्यै कुनै गुनासो छैन।’

माथि अधुरो छोडिएको प्रसंगलाई यहाँ जोडेर हेरौं-हाम्रा बा पढ्न आएको बेला काठमाडौंमै बस्नुभएको भए कस्तो हुन्थ्यो होला?’ यसै कृतिका लेखक शर्माका जेठा छोरा केदार शर्माको यस प्रश्नमा डाक्टर दुर्गाप्रसाद पौडेलको जवाफ छ-‘केदार, तिम्रा बाजस्ता मान्छे त्यो गाउँमा गएर नबस्नुभएका भए हामी कसरी यतिका हुन्थ्यौं?’

माथि जोड्नका लागि छोडिएको सन्दर्भ पनि यही हो र त्यहाँ उल्लेख गरिएको ‘शर्माका अलिखित अनेक कृति’ पनि ‘डाक्टर दुर्गाप्रसाद पौडेल’हरू नै हुन्। लेखक शर्मा काठमाडौंमा बसेका भए इलामको नाम्सालिङ, बौद्धधाम आसपासका धेरै प्रतिभाहरूले फुल्ने फल्ने अवसर सहज हुने थिएन। लेखकले उल्लेख गरेको ‘प्रारब्ध’कै विधान हुनुपर्छ यो।

केदार परिचित पत्रकार/लेखक हुन्। बाको साहित्य सिर्जनामा पत्रकारिताको आफ्नो आलोकाँचो उफरपाफरले पनि तगारोको भूमिका खेलेकोमा केदारले पछुतो परेको स्पष्टीकरण दिएका छन्।

कृतिमा लेखकका माइलो छोरा भरत अधिकारी, कान्छो छोरा जगत अधिकारीका साथै यस भूगोल र नाटकको भूमिका/अभिनयमा जोडिएका व्यक्ति र पात्रहरू डाक्टर देवी छेत्री दुलाल, तारानाथ शर्मा अधिकारी, खगप्रसाद नेपाल, कोमल निरौला, प्रेम नेपालका नाटकसँग जोडिएका सन्दर्भ र लेखकसँगको सम्बन्धलगायतका विषयहरूमा लेखिएको संस्मरणात्मक अनुभूतिहरू पनि पठनीय छन्।

लेखिएको ५३ वर्षपछि लेखककै जीवनकालमा विरलै मात्र प्रकाशित हुने कृतिमा गणना हुनसक्छ यो कृति। तर कतै कसैसँग कुनै बहानामा यसको गणना वा तुलना गरेर यसको उचाइ बढाउन बल गर्न पर्दैन। यो समकालीन नेपाली ग्रामीण जीवनको दुःखद चित्र हो। कम्तीमा एक शताब्दी पुरानो यो चित्र आज पनि यथावत छ।

हामीले पढ्ने गरेका धेरैजसो साहित्यिक कृतिहरूमा प्रेरणाका स्रोत अभिभावक (बुबाआमा)हरू हुने गरेको पाइन्छ। तर यो कृति भने आफ्ना सन्तानहरूको प्रेरणा र भूमिका नहुँदा लेखकको साहित्य सिर्जनाले फल्ने फुल्ने अवसरबाट वञ्चित हुनुपरेको तितो यथार्थ हो। स्वलेखन होस् वा गणेश राखेर नै सही, अभिभावकको जीवनका उकालीओरालीको अभिलेखीकरणका लागि प्रयास गर्न सके त्यसले तत्कालीन समय, समाज–संस्कृतिको आँखीझ्यालको काम गर्नेछ।

२०२७ सालमा लेखिएको यो नाटक २०४५ को भारतको नाकाबन्दीको समयमा प्रदर्शन गर्न काठमाडौं प्रज्ञा प्रतिष्ठानमा लगिएको थियो तर यो त्यति बेला राजधानीको डबलीमा चढेन।

लेखकले २०४५–५० को आसपासमा मेचीपारि नेपालीले दुःख पाएजस्तै ‘मेचीवारि’ भुटानी शरणार्थीको अवस्थालाई नाटकका रूपमा लेखेका थिए। इलाम क्यम्पसमा प्रदर्शन गरिएको यो नाटक पनि अहिले लेखकसँग छैन।

यस शताब्दीका नेपाली साहित्यका चर्चित र प्रतिनिधि कृतिहरू मुनामदन, बसाइँ, मुगलान, तल्लो बाटो आदि हिँडेको र भोगेको कथा ५३ वर्षपहिले लेखिएको ‘मेचीपारि’ले फरक स्वाद र शैलीमा लघु नाटकका रूपमा प्रकट गरेको छ।

यो एकांकी पढ्दा गायक धर्मराज थापाको पुरानो गीत ‘नेपालीले माया मार्‍यो बरीलै...’ पनि सम्झना हुन्छ। एउटै समय हुनुपर्छ यी दुवै सिर्जना समय। थापाको गीतले जुन सन्देश दिन खोजेको छ, शर्माको मेचीपारिमा त्यही कथाको जीवन्त प्रस्तुति छ।

शर्माको प्रस्तुत कृतिबारे सामाजिक सञ्जाल (फेसबुक)मा रमेश खनालले सेयर गरेको यो टिप्पणीले पनि सहयोग गर्छ,‘नरहरि शर्माद्वारा लिखित छ दृश्य भएको एकांकी नाटकमा नेपालको पहाडी क्षेत्रमा दुःख पाएर जीवनयापनका लागि मजदुरी गर्न सीमापारिको घुमपहाड र जलपाइगुडी पुगेका गरीब श्रमिकहरूको पीडा प्रस्तुत गरिएको छ। स्थानीय स्तरमा लोकप्रिय यो नाटक नामसालिङ हाइस्कुल, इलाम सदरमुकाम र पशुपतिनगरस्थित बौद्धधाम हाइस्कुलको सहयोगार्थ प्रदर्शन भएको थियो। त्यो समयमा नाटक खेल्ने महिला कलाकार नपाइने भएकाले नाटकमा हर्के, कान्छो र मानेजस्ता पुरुष मात्र सिर्जना गरिएको रहेछ। गायक कोमल निरौलाले नाटकका बीचबीचमा गाएका तीनवटा गीत धेरै वर्षसम्म दर्शकहरूका मुखमा झुन्डिएका थिए। नाटकको अभिनय कतिसम्म प्रभावकारी थियो भने गिट्टी कुट्ने श्रमिकलाई सताउने ठेकेदारको भूमिका खेल्ने हरिप्रसाद खतिवडासँग दर्शकहरू आक्रोशित भई उनलाई कुट्न बाटो ढुकेर बस्ने गरेका थिए।’

नाटकमा रहेका यी गीतको सन्देश पनि सशक्त र मार्मिक छ:

सुनको फूल टिपेर लिने हिम्मत तिम्रो छ

को भनिदिने मुग्लानभन्दा नेपाल राम्रो छ।

०००

नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

काँडाको माझ पहाडी फूल छैन र कहाँ हाँसेको

सुनको सपना आँसुमा किन पो बाँधिल्यायौ नि

घरको माया बिर्सेर किन पो यहाँ आयौ नि?

अन्त्यमा लेखकका छोरा जगतले उल्लेख गरेको यो कामना हामी पनि गरौं, ‘हामी चाहन्छौं, मेचीपारि असान्दर्भिक होस्, पुरानो होस्, यो नाटक मानिसहरूले बिर्सियून्, बाले यो लेखेबापत सम्मानहरू थाप्न कहीं जानु नपरोस्, अदक्ष नेपालीले काम खोज्दै हेपिँदै बाहिर जानु नपरोस्, दक्ष नेपालीलाई बाहिरका कामले ससम्मान खोजोस्।’

प्रकाशित: १ असार २०८१ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App