९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

लामो आयुका चार प्रकार

यस्ताे पनि!

सन् १९६५ ताका बेलायतमा बालबालिकाको मृत्युदर निकै धेरै थियो। पहिलो वर्षमा नै बालबालिकाको निधन हुने कुरा निकै आम थियो। अहिले बेलायतमा ८७ वर्ष औसत मृत्यु आयु हुने गरेको छ।

लन्डन बिजनेस स्कुलका प्राध्यापक एन्ड्रयु स्कटको पुस्तक ‘द लन्जिभिटी इम्पेरेटिभ’मा एन्ड्रयु स्कटले एउटा अध्ययन पेस गरेका छन्। जापानमा जन्मिएकी कुनै बालिका ६० वर्षको उमेरमा पुग्ने सम्भावना ९६ प्रतिशत छ। जापानी महिलाको औसत आयु भने ८८ वर्ष छ।

संसारभरि नै औसत आयु र नेपालको पनि लगभग उस्तै छ। महिलाको औसत उमेर ७६ वर्ष छ। पुरुषहरूको भने ७१ वर्ष छ। संसारभरि नै बालबालिकाको औसत मृत्युदर घटेको छ। अमेरिकामा धनी एक प्रतिशतको आयु र गरिब एक प्रतिशतको आयुमा पुरुषहरूको १५ वर्ष र महिलाहरूको १० वर्ष रहेको छ। अमेरिकीहरूको औसत आयु ७६ वर्ष छ, जसमध्ये पुरुषहरूको ७३.५ र महिलाहरूको ७९.३ औसत आयु छ।

चीनमा महिलाहरूको औसत आयु ८२ वर्ष छ भने पुरुषहरूको ७६ रहेको छ। त्यस्तै सन् १८४१ मा बेलायतमा ३५ प्रतिशत बालबालिका २० वर्षको उमेर पुग्न पाउँदैनथे। अहिले ०.७ प्रतिशतमा झरेको छ।

सफा पानी, खाना, खोप तथा एन्टिबायोटिकले यस्तो गरायो। तर अहिले नयाँ समस्या देखिएको छ, वृद्धवृद्धाहरूको समस्या। सन् १९९० मा संसारभर सय वर्ष उमेर पुगेका मानिसहरूको संख्या ९५ हजार थियो। अहिले पाँच लाखभन्दा बढी पुगेको छ र यो बढ्दो क्रममा छ।

उसो भए अब वृद्धावस्था नियमितता हुन्छ भने भोलिका दिनमा कस्ता कस्ता वृद्धावस्था होलान्? एन्ड्रयु स्कटले त्यसका चार अवस्था देखेका छन्। ती चारमध्ये एउटा जोनाथन स्विफ्टको स्ट्रलब्रग्स प्रजाति। यी कहिल्यै वृद्ध हुँदैनन् तर ८० वर्षको उमेरपछि कानुनतः अनिवार्य रूपमा मृत्यु रोज्नुपर्छ।

दोस्रो, अस्कर वाइल्डले कल्पेको डोरियन ग्रे। यी हेर्दा जवान देखिन्छन् र जवान जीवन बाँच्छन् तर अचानक वृद्ध भएर मर्छन्। तेस्रो चाहिँ, पिटर प्यानजस्तो सधैँको युवा हुन्छन्। चौथो प्रकारका मान्छे चाहिँ मार्भल कमिक्सले कल्पिएको वल्भोरिनजस्तो, जो सधैँ आफूलाई नयाँ नयाँ अवस्थामा परिणत गरिरहन्छन्।

अहिले वैज्ञानिकहरू भोलिका दिनको मानिस कस्तो बनाउने भन्ने खोजीमा लागिरहेका छन्। एउटा कुरा त पक्का छ, मान्छेको आयु दिनदिनै बढिरहेको छ। मान्छेको इच्छा पनि बढी बाँचौँ भन्ने नै हुन्छ तर त्यसका धेरै किसिमका बाधा व्यवधान हुन्छन्। ती व्यवधानका समाधान भने सुदूरसम्म पनि देखिएका छैनन्। यसतर्फ लेखक स्कटले निकै रोचक कोण पस्किएका छन्।

प्रकाशित: १ जेष्ठ २०८१ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App